
काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर मंगलबार (आज)देखि सुरु भएको छ । सूर्य नेपाल गल्फ टूर–२०२४–२५ को पाँचौँ इभेन्टका रूपमा प्रतियोगिता आजदेखि काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा सुरु भएको हो ।
७२ होलमा प्रतिस्पर्धा हुने प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ३० व्यावसायिक गल्फर र १० एमेच्योर खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
कुल आठ लाख ८२ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आयोजकका अनुसार प्रतियोगिता शीर्ष २१ सम्मका खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा व्यावसायिक गल्फर भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, दीनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, एमेच्योरतर्फ सद्भाव आचार्य र राहुल विश्वकर्माको चुनौती रहने छ ।