site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
संसद्ले आफ्नो शक्ति कहिले देखाउने ?

राज्यका तीन अंग सरकार, संसद् र न्यायपालिका मानिन्छन् । अझ विधि र कानुन बनाउँदै सरकार र न्यायपालिकालाई स्वेच्छचारी हुनबाट रोक्ने दायित्व संविधानतः संसद्लाई प्राप्त छ । विधि र नीति निर्माण संसदको महत्वपूर्ण जिम्मेवारीको काम हो । 

सरकारको नीति, योजना, कार्यक्रम, बजेट र आय/ब्यय र खर्चको सदुपयोग र उपयोगको जाँच र निगरानी गर्ने दायित्व संसद्कै हो । अनि सरकारले गरेका कामकारबाही र नीतिमाथि संसद् र समितिहरूमा सशक्त ढंगले प्रश्न उठाउन र छलफल गर्न सके मात्रै सांसदको योग्यता, दक्षता, क्षमता, प्रभावकारिता र जवाफदेहिता अभिवृध्दि भएको मान्न सकिन्छ ।

सदस्यहरू बैठकमा उपस्थित नभएका र कोरम नपुगेको दृश्य बाक्लिँदो छ । सांसदले आफ्नो जिम्मेवारी सशक्त ढंगले पूरा नगर्ने, सरकारको इशारामा विधेयक पारित गर्ने, सत्य र तथ्यभन्दा बाहिर गएर बोल्नाले संसद्को क्षमता, दक्षता, प्रभावकारिता र जवाफदेहिता अभिवृद्धि हुन सक्दैन ।

Dabur Nepal
NIC Asia

अनि संसद्बाट पारित वा अनुमोदित सवालले निस्कर्ष नपाउँदा खल्लो महसूस गर्नुपर्ने अवस्था छ । महाकाली सन्धि पारित भएको तीस वर्ष टेक्न लाग्दैछ । सन्धिमा उल्लेखित कुनै काम भएन । सदनमा गण्डक, कोशी, टनकपुरलगायतका सन्धि सम्झौता कार्यान्वयन अवस्था र असरबारे छलफल हुनुपथ्र्यो । 

मुलुकले आर्थिक संकटको सामना गर्नुपर्ने परिस्थिति बन्दैछ । अनियमितता र भ्रष्टाचार बढेर गएको छ । देश ‘ग्रे लिस्ट’मा पर्दा पनि संसद्मा घनीभूत छलफल हुँदैन । 

अर्को त, तत्कालीन प्रधानन्यायाधीशमाथि भ्रष्टाचारका आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता हुनु र संसदीय छानबिनले दोषी करार गर्यो । तर, दुर्भाग्य, संविधानतः उक्त प्रकरण टुंगोमा पुर्याइएन । संविधान संसदलाई प्राप्त अधिकार प्रयोग नहुँदा प्रश्न उठ्नु स्वाभाविक हो ।

प्रधानमन्त्रीको चयन गर्ने र संविधानअनुकूल आचरण, ब्यवहार तथा काम नगरेमा अविश्वास प्रस्तावमार्फत पदमुक्त गर्ने अधिकार पनि संसदसँगै छ । संविधानतः अनुकूल आचरण र ब्यवहार तथा कर्तव्य पालना नगरेमा राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश तथा अन्य संवैधानिक अंगका पदाधिकारीहरूलाई पनि महाभियोग प्रस्तावमार्फत पदमुक्त गर्ने अधिकार संघीय संसदलाई नै छ । 

आफ्नो जिम्मेवारीभित्रको कामकारबाही गर्न संविधानतः संसद् स्वतन्त्र हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । यसरी संसद्सँग असीमित अधिकार हुँदा के गर्यो त ? भन्ने प्रश्न उब्जिइरहेकै छन् ।

२०८१ माघ १८ गतेबाट संघीय संसद्को हिउंदे अधिवेशन शुरु भएको छ । संसद् र संसदीय समितिमा छलफल गर्नुपर्ने र निस्कर्ष खोज्नुपर्ने अनगन्ती विषय छन् । बेराजगारी र अध्र्द बेरोजगारी पनि बढेर छ । उद्योग, व्यवसाय पनि फस्टाउने वातावरण बन्न सकेको छैन । देशमा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन । 

अमेरिकाको सिनेटका दुई जना रिपव्लिकन पार्टीका सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एउटा निकायको निर्देशकमा नियुक्तिविरुद्धमा मत दिए । उनीहरूलाई रिपब्लीकन पार्टीले कारबाहीको डण्डा चलाएनन् । अमेरिकामा सिनेटरहरूले विवेकको प्रयोग गर्न स्वतन्त्रत छन् । नेपालमा पनि सांसदहरूले विवेकको प्रयोग गर्न नसक्दा आज संसद् योग्य, दक्ष, प्रभावकारी, सक्षम र जवाफदेही बन्न नसकेको हो । 

संसद् अधिवेशन समयमै नबोलाई छ वटा अध्यादेश जारी गरियो । जुन संसद्माथि सरकारको हस्तक्षेपका रूपमा लिनुपर्ने हुन्छ । संसद् र न्यायपालिकामाथि दबाब, प्रभाव र हस्तक्षेप वा नियन्त्रण गर्नु भनेको राजा वा राणाको प्रत्यक्ष नियन्त्रण र निर्देशित शासन पद्धति पुनरावृत्त गर्नु हो । संसदीय लोकतान्त्रिक शासन व्यवस्थाको विकास र सुदृढीकरणका लागि यो शुभ संकेत पक्कै होइन ।   

श्रीलंकाका जनतले सन् २०१९ देख सन २०२२ सम्म राष्ट्रपति भई काम गरेका गोतावाय राजापाक्षेलाई सन् २०२२ को जुलाईमा भ्रष्टाचार गरेको र जनता तथा देशको दुर्दशामाथि ध्यान नदिएको भनी सडकमा विद्रोह गरी पदमुक्त गरे । 

यसरी नै बंगलादेशका विद्यार्थीहरूले सन् २०२४ को अगष्टमा १५ वर्षसम्म शासन गरेकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई कोटा पद्धति निरन्तरता दिई विभेद गरेको, प्रदर्शनकारी विद्यार्थीहरूमाथि निर्मम रूपले दमन गरेको र यातना दिएको भन्दै पद छाड्न बाध्य पारे ।

दक्षिण कोरियामा मध्यरातमा देशमा सैनिक शासन लागू भएको घोषणा गर्ने तत्कालीन राष्ट्रपति युनसुक योउलविरुद्ध १४ डिसेम्बर सन् २०२४ मा महाभियोग प्रस्ताव पारित गरी पदमुक्त गर्ने निर्णय गर्यो । आजको समयमा कुनै पनि देशको जनता र संसद्ले कुनै पनि किसिमको निरंकुशता, नियन्त्रण र अनियमितता तथा भ्रष्टाचार सह्दो रहेनछ भन्ने तथ्य यी तीन देशको राजनीतिक घटनाक्रम नेता वृत्तले बुझ्नुपर्छ । 

राज्यका तीन अंग आ–आफ्ना काम–कारबाही गर्न स्वतन्त्र र सक्षम हुनुपर्छ । कुनै अंगले पनि अर्को अंगमाथि दबाब, प्रभाव र हस्तक्षेप गर्न संविधानतः मिल्दैन । कार्यकारिणाीले संसद् र न्यायपालिकामाथि दबाब, प्रभाव र हस्तक्षेप गर्ने काम गरेमा लोकतान्त्रिक शासन व्यवस्था स्थिर, सशक्त र सुदृढ बन्न सक्तैन ।

कार्यकारिणी निरंकुश, तानाशाही तथा जनताका हक अधिकार खोस्न वा बन्देज लगाउने गरी अगाडि बढ्न सक्छ । तर न्यायपालिका र संसद् नागरिकको स्वतन्त्रता, हक अधिकार र सम्पत्तिको संरक्षण गर्ने संवैधानिक संस्था हुन भन्ने गरिन्छ ।

हाम्रो संविधानको मूल लक्ष्य पनि राज्यका तीन अंग स्वतन्त्र र सक्षम बनुन् भन्ने देखिन्छ । अभ्यासका क्रममा न्यायपालिका, संसदभन्दा धेरै हदसम्म स्वतन्त्र र सक्षम छ भन्ने देखिन्छ । तर संसद्, न्यायपालिका जति पनि स्वतन्त्र र सक्षम भएको अनुभूत गरी क्रियाशील नहुँदा प्रश्न उब्जिएको छ । 

युवा जनशक्ति रोजगारीका लागि खाडी मुलुकलगायत विश्वका अरु मुलुकमा जाने क्रम बढ्दो छ । उत्पादन र उत्पादकत्व बढेन र बढाउन सकिएको छैन । कृषि उत्पादनले उचित मूल्य पनि पाउन सकेको छैन । सहकारी, बैंक र वित्तीय संस्थामा डुबन्ते ऋण बढ्दै गएको छ ।

सार्वजनिक निकाय तथा संस्थाहरूमा वर्षेनी अनियमितता, बेरुजु, सार्वजनिक साधन–श्रोतको हिनामिना तथा दुरूपयोग र भ्रष्टाचार बढ्दै गएका र नीतिगत भ्रष्टाचार पनि बढिनै रहेका छन् । सीमित रूपमा उठ्ने राजस्व पनि ठूलै मात्रामा चुहावट भइरहेको छ । यस्ता दृश्यले हाम्रो देशको शासन व्यवस्था सुशासनतिर भन्दा कुशासनतिर लम्केको संकेत गर्छन् ।

लोकतन्त्र बहालीसँगै दलीय नेताहरू नै शासनमा सर्वेसर्वा भएका छन् । राजनीतिक अस्थिरता देखिनु भनेको राजनीतिक दलका नेताहरूको असफलता र अक्षमता हो भन्ने देखिन्छ । सफल नेताले यस्ता समस्या दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले झैँ समयमै टुंगो लगाउनुपर्ने थियो । 

हाम्रा नेताहरूको मण्डेलाको जस्तो दूरदर्शिता, आँट र क्षमता नरहेको कुरा यो समस्या लम्व्याउँदै लानुबाट पनि स्पष्ट हुन गएको छ । अर्कोतिर संसद्ले पनि यो समस्या समयमै टुंग्याउन सक्रियता देखाउनुपर्ने थियो । 

संसदको योग्यता, दक्षता, कार्यक्षमता, जवाफदेहिता र प्रभावकारिता बढ्नु भनेको राष्ट्रकै क्षमता र दक्षता अभिवृद्धि हुनु हो । दह्रो, सशक्त र क्षमतावान संसद् बन्न र बनाउन सरकार, संसदका पदाधिकारी र राजनीतिक दलहरू र संघीय संसदका सदस्यहरूको कर्तव्यको कुरा हो ।

त्यसमाथि पनि संसद्को जवाफदेहिता र प्रभावकारिता बढाउन प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको विशेष भूमिका रहन्छ । अबका दिनमा संघीय संसद्, स्वतन्त्र, दक्ष, सक्षम, जवाफदेही र प्रभावकारी बनोस् भन्ने शुभकामना छ ।

(लेखक थापा संसद् सचिवालयका पूर्व सचिव हुन्)


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro