site stats
बाह्रखरी :: Baahrakhari
खेल
उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । २४औँ आहा रारा गोल्डकपको उपाधि उज्बेकिस्ताननको टोली ब्ल्याक बुल्स एफसीले जितेको छ ।

शनिबार कास्की स्थित पोखरा रंगशालामा भएको फाइनलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१को जित निकाल्दै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो । 

Argakhachi Cement Island Ad

ब्ल्याक बुल्सको जितमा जाखोन्गिर अखमाडोभ, असिलबेक ओरिफजोनोभ र जाखोन्गिर मख्मुडोभले समान एक गोल गरे । पुलिसका शिशिर चौधरीले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

३६औँ मिनेटमा जाखोन्गिर अखमाडोभले गोल गर्दै उज्बेकिस्ताननको टोलीलाई अग्रतामा राखेका थिए । ५९औँ मिनेटमा असिलबेकले पाहुना टिमको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि नै जाखोन्गिर मख्मुडोभले ब्ल्याक बुल्सको अग्रतालाई ३–० मा पुर्याए । 

७४औँ मिनेटमा शिशिर चौधरीले हेडर गोल गर्दै पुलिसलाई ३–१ को स्थितिमा ल्याए पनि टिमको हार टार्न भने सकेनन् ‌।

जितसँगै उज्बेकिस्ताननको टोलीले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ पुरस्कार पाएको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले भने ६ लाख एक हजार रुपैयाँ पाएको छ। 

मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणमा कुल १२ टोलीको सहभागिता थियो । जसमा १० नेपाली र दुई विदेशी क्लब सहभागी थिए ।

aaha-rara-1739617118.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्