
पिट्सबर्ग (पेन्सिलभानिया) । नेपथ्यको कन्सर्टमा दुई चीज छुट्दैनन्– एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा । पिट्सबर्गको ‘रक्सिन थिएटर’ मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो । त्यो थियो– पहेँलो र गेरु रङमाथि सेतो ड्रागन अंकित भुटानको राष्ट्रिय झन्डा ।
पुनर्वास गराइएका भुटानीको उल्लेख्य संख्या हलमा देखेपछि गायक अमृत गुरुङले मञ्चबाटै आह्वान गरे, "विगतलाई बिर्सनु हुँदैन तर माफ गरेर अघि बढ्ने हौसलाचाहिँ राख्नै पर्छ । हामी संसारभरि फैलिएका नेपालीलाई आपसमा जोड्ने यही भाषाले हो । यो सद्भाव सदैव कायम रहोस् । कसैले कसैमा द्वेष नराखी अगाडि बढ्नुस् है ।"
प्रत्युत्तरमा दर्शकले केही बेरसम्मै ताली बजाए ।
चार्टियर्स एभेन्युमा छरिएका दर्शकका निम्ति निर्धारित समय अनुसारै बेलुकी ८ बजे हलका ढोकाहरू खोलिएका थिए भने त्यसको ठीक एक घण्टामा मञ्चमा अमृत र उनको टिम उपस्थित भएको थियो । ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट कन्सर्ट सुरु भएको थियो । त्यसलाई ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले निरन्तरता दियो ।
मञ्च र दर्शकदीर्घा दुवैतर्फको उत्साह र उत्तेजनाले सुरुवातदेखि नै आपसमा एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो ।
शनिबारको कन्सर्टको आयोजक टोलीकी एक सदस्य पनि भुटानी शरणार्थी परिवारकै विद्या पुलामी थिइन् । राष्ट्रिय पहिचान भुटानी भए पनि आफूहरू नेपाली नै रहेको उनी बताइरहेकी थिइन् ।
कार्यक्रमभरि पटक–पटक नेपाली पहिचानका पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे । पैदलै गाउँबस्ती पुग्दा गीत संकलन गरेको र कतिपय गीत उतैको रमाइलोमा तयार पार्ने गरेको पनि उनले सुनाए । पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरहरूले पनि उनको भनाइलाई सघाइरहेको देखिन्थ्यो ।
अमेरिकी सहर पिट्सबर्गमा पहिलो कन्सर्ट भए पनि कतिपय दर्शकका लागि यो पहिलो नेपथ्य अनुभव थिएन । उदाहरण हुन् बेलडाँगी शिविरमा जन्मेका राजेन् सापकोटा । राजेन् गत वर्ष छेवैको पेन्सिलभानियाली सहर ह्यारिसबर्गमा आयोजित नेपथ्य कन्सर्ट हेर्न पुगेका थिए । त्यसभन्दा पहिले त झन् परको कोलम्बस सहर अनि अझ सन् २०१६ मा एटलान्टा सहरमा आयोजित नेपथ्य कन्सर्ट हेर्न पनि उनी पुगेका थिए ।
"म नेपथ्यलाई छातीमै लिएर हिँडेको छु भन्दा पनि फरक पर्दैन," उनले उत्साहका साथ थपे, "आफू नेपालमा हुर्कँदै गर्दा मन परेका यसका गीतहरू र यो ब्यान्डप्रति मेरो मनमा अटाएको प्रेमलाई शब्दहरूले व्याख्या गर्न गाह्रो हुन्छ ।"
राजेन्द्रका अनुसार उनी १३ वर्षको उमेर छँदा सन् २०११ मा अमेरिका आएका हुन् ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गमा सकिएसँगै ब्यान्ड अब फेरि उत्तरतर्फ उक्लनेछ । अबको गन्तव्य हुनेछ सिकागो सहर । जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यो सहर कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ । त्यहाँस्थित ‘दी भिक थिएटर’ मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ ।