site stats
बाह्रखरी :: Baahrakhari
देश
मुस्ताङमा पर्यटकलाई सूचना दिने सशस्त्रका सिपाही सुनील श्रीष पुरस्कृत

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले माथिल्लो मुस्ताङको नेचुङ बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सिपाही सुनील श्रीषलाई पुरस्कृत गरेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सुनीललाई नगदसहित रेकर्डमा जनाइने गरी पुरस्कृत गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘‘सिपाही सुनीलले सीमा स्तम्भको महत्त्व, उच्च हिमाली भूभागमा यात्रा गर्दा आइपर्ने चुनौतीबारे उत्कृष्ट ढंगबाट जानकारी गराएको पाइएपछि चिफसाबकै आदेशमा पुरस्कार दिइएको हो,’’ डीएसपी थापाले भने ।

Argakhachi Cement Island Ad

जेठ १५ मा अपर मुस्ताङको कोराला नाका घुम्न जाने आन्तरिक पर्यटकलाई सुनीलले हात जोड्दै गरेको जानकारीमूलक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सामाजिक सञ्जालमा सुनीलको प्रशंसा भइरहेको छ ।

के छ भिडियोमा ?
गाडीमा सवार यात्रु रोकिएपछि उनी हात जोड्दै भन्छन्, ‘‘तपाईंहरूलाई अप्पर मुस्ताङमा स्वागत छ । तपाईंहरू अहिले मुस्ताङको नेथुम भन्ने ठाउँमा हुनुहुन्छ । यो ३९ सय ५० मिटरको हाइटमा छ । तपाईंहरूलाई केही गाह्रोसाह्रो टाउको दुख्ने त भएको छैन ?’’

गाडीमा बसेका पर्यटकहरूले जवाफ दिन्छन्, ‘‘छैन छैन ।’’

सुनील फेरि भन्छन्, ‘‘यहाँबाट जाँदा अझ गाह्रो हुन सक्छ । यहाँबाट अझ १४ किलोमिटर टाढा छ । त्यहाँ ४६ सय मिटरको हाइट छ । यहाँ पुग्दा नै गाह्रो भएको छ भने यतै बस्नु, माथि झन् गाह्रो हुन्छ । कोरला नाका नेपाल र चीनको सीमा हो ।’’

उनी थप्छन्, ‘‘त्यहाँ हाम्रो २४ नम्बर पिल्लर छ । त्यो दशगजा क्षेत्र हो । त्यो भनेको दुवै देशको जमिन जोडिएको ठाउँ हो । त्यो पिलरमा पुगेपछि पिलरमाथि कुनै पनि कुरा नराखिदिनुहोला । पिलरमा अडेस लागेर पनि नबस्नु होला । त्यो अनुमति छैन । पिलरभन्दा केही पर काँडेतार छ । त्यहाँ नजानुहोला । तपाईंहरू चाइना जान पाउनुहुन्छ । तर, फर्किंदाखेरि चकलेट, रक्सीहरू पनि अलिअलि ल्याउन पाउँछ । तर, बिक्री गर्ने उद्देश्यले नल्याइदिनुहोला । आफ्नो प्रयोजनका लागि मात्रै ल्याउनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।’’

तीन वर्षअघि सशस्त्र प्रहरी बलमा प्रवेश गरेका सुनील चैतदेखि भने कोरोला नाकाको नेचुङ बीओपीमा कार्यरत छन् । चीन र नेपालको सीमा जोडिएको उत्तरी नाका कोराला जाने आन्तरिक पर्यटलाई सशस्त्र प्रहरी बलको नचुङ बीओपीमा खटिएका टोलीले भूगोलबारे जानकारी दिँदै आएको छ ।

पछिल्लो समय कोराना नाका घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपालबाहेक विदेशी नागरिकलाई भने नेचुङ बीओपीभन्दा माथि प्रवेश गर्न अनुमति छैन ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले कोरला नाका घुम्न जाने आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलको टोलीले चेक प्वाइन्टमा स्वागत गर्ने र नाकाबारे जानकारी दिँदै आएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्