site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा कोटिहोम विवाद, ... अनि महानगरले बोली फेर्‍यो 

पोखरा । सडक छेउ, टोलमा रहेका शताब्दी पुराना रुख चौतारा कटान गरेको विषयले यतिबेला पोखरा तातेको छ ।

मानव सेवा फाउन्डेसनले आयोजना गरेको कोटिहोम निम्ति ती पुराना र धार्मिक आस्थाका रूखहरू छिमलिएका थिए । रूखहरू जरैसहित उखेलिएका थिएनन्, तर एउटा हाँगा पनि नछाडी काटिएका पोखराका रूखका तस्बिरहरू भने सामाजिक सञ्जालमा भाइरल छन्, जसको आलोचना भइरहेको छ । 

पोखरा महानगरपालिकाको वडा नं १४, ६ र १३ मा सयौँ वर्ष पुराना वरपीपल लगायतका रुखहरू कटान भएका छन् । तर, त्यसरी काटिएका रूखहरू अहिले महानगरले जफत गरेको छ । 

Dabur Nepal

जबकि सुरुमा महानगरले नै कटानका लागि कोटिहोमको आयोजक मानव सेवा फाउन्डेसनलाई अनुमति दिएको खुलेको छ ।

सुरूमा रुख काटिएको विषयले खासै चर्चा पाएको थिएन । जब वातावरण संरक्षकहरूले कटान भएका रुखको बारेमा महानगरपालिकालाई प्रश्न गरे, त्यसपछि नै महानगर र आयोजकबीच दोषारोपणको श्रृंखला सुरु भएको हो ।

पोखरा–८, शिवालय चोकमा फाउन्डेसनको कार्यालय छ । यसका संस्थापक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटिहोमको आयोजना गरेका हुन् ।

नेपाल ट्रस्टले यही कोटिहोमको आयोजनाका लागि ट्रस्ट मातहत रहेको क्याम्पिङ चौर र बाराहीघाटको जग्गा उपलब्ध समेत गराइसकेको छ । त्यसका लागि आयोजकले भाडाबापत ११ लाख ५९ हजार रुपैयाँ समेत बुझाइसकेको छ ।

स्वयम् वडा नं ६ को अनुमति, प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र मेयर धनराज आचार्य गत पुस १६ गते आफैँले तोक लगाएर आयोजकको मागअनुसारको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

photo2-1739159194.jpg
 

मेयर आचार्यले तोक लगाएको पत्रमा आयोजकले ‘.... महायज्ञको लागि समिधा उपलब्ध गराइदिनु भई कृपा गरिदिनुहुने सम्बन्धमा ।’ उल्लेख गरेको छ ।

पत्रमा उक्त अनुष्ठानमा आवश्यक पर्ने समिधा उपलब्ध गराएर अभिभावकीय भूमिका निभाउन मेयरलाई अनुरोध गरिएको छ । मेयरले आयोजकको मागअनुसार नै तोक लगाइदिएका थिए । त्यसपछि नै आयोजक मानव सेवा फाउन्डेसनले रुखहरू छिमल्न सुरू गर्‍यो । तर, आलोचनापछि महानगरले भने आफ्नो द्वैध चरित्र देखाएको छ ।

आयोजकको मागअनुसार उक्त कोटिहोमको लागि पोखरा–६ ले वैदामस्थित क्याम्पिङ क्षेत्र र नेपाल ट्रस्ट बाराहीचोकको जग्गामा सहमति प्रदान गरेको भन्दै कार्यवाहक वडाध्यक्ष पवित्रा थापाले अनुमति दिएकी थिइन् ।

यसरी महानगर आफैँले अनुमति दिएको कोटिहोमको लागि हाल अनुमति नदिएको, थाहा नभएको जस्ता गैरजिम्मेवार जवाफ महानगरबाट नै आइरहेका छन् । जबकि यसको भित्री कारण भने प्रदेशको कानुन रहेको बुझिएको छ ।

गण्डकी प्रदेश सरकारले २०७५ माघ २७ गते वर, पिपल, समि र चौतारो संरक्षण ऐन प्रमाणीकरण गरेको थियो । 

यो कानुनअनुसार सार्वजनिक प्रयोगमा रहेको जुनसुकै स्थानको वर, पिपल, समि र चौतारो स्थानीय तहको सम्पत्ति हुने उल्लेख गरिएको छ भने यसको संरक्षणको दायित्व पनि स्थानीय तहलाई नै दिइएको छ ।

आफ्नो क्षेत्रभित्र पर्ने सबै वर, पिपल, समि र चौताराको संरक्षणको दायित्व पनि सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ । तर, यो कानुन नदेखेझैँ गरी आयोजकलाई महानगरपालिकाले अनुमति दियो । पछि प्रदेश कानुनले बाँध्ने र चौतर्फी आलोचना भएपछि महानगरले बोली फेरेको छ ।

आफैँले संरक्षण गर्नुपर्ने ठाउँमा कटानको अनुमति दिनु यो ऐनअनुसार दण्डनीय हुन्छ । ऐनको दफा ५ ले संरक्षणको दायित्व स्थानीय तहलाई दिएको छ ।  कटान नै गर्नुपर्ने अवस्थामा पनि हरेक वर्ष परिक्षण गरि काँटछाटँ वा मर्मत वा वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने दायित्व महानगरकै हुन्छ ।

यहाँसम्म कि कुनै ठूला पूर्वाधारका आयोजनाको बीचमा वर, पिपल, शमि र चौतारालाई सकेसम्म पार्नुहुँदैन र परेको खण्डमा न्यूनतम रूपमा हटाउने विकल्पमा राख्नुपर्छ ।

thutepipal-1739159194.jpg
 

विकल्प नै नभएको खण्डमा पनि स्थानीयस्तरमा गठन हुने समितिको सिफारिसमा मात्र हटाउन सकिन्छ । यो समितिमा स्थानीय तहको प्रमुखदेखि वन कार्यालय, आयोजनाका प्रमुख, सम्बन्धित वडाका प्रतिनिधि सदस्य रहन्छन् ।

यसबाहेक संरक्षणको लागि छुट्टै समिति रहने व्यवस्था ऐनमा छ । ऐनविपरीत कार्य गर्नेलाई दण्ड सजायको व्यवस्था पनि ऐनमा गरिएको छ । सुरुमा कोटिहोमका लागि सकारात्मक भएको महानगरपालिका अन्ततः आफूमाथि नै प्रदेश कानुन लाग्ने भएपछि अहिले ढाकछोपमा लागेको छ ।

कोटिहोम रोक्न लागेको भन्दै पोखराका मेयरको चौतर्फी आलोचना पनि भइरहेको छ । मेयर आचार्यले भने कुनै पनि हालतमा कोटिहोम हुन नदिने बताउँदै आएका छन । उनको यो टिप्पणीलाई लिएर विधर्मी भन्दै आलोचना समेत भइरहेको छ ।

शनिबार मात्रै पोखरा महानगरपालिकाले ‘कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन’ भन्ने विज्ञप्ति सार्वजनिक गरेको छ ।

उक्त विज्ञप्तिमा महानगरपालिकाको माघ २० गते बसेको ४२औँ बैठकबाट मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटिहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्द गर्न लेखी पठाउने निर्णय गरेको जनाइएको छ ।

नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अतिव्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत/घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय समेत गरेको छ । 

साथै, नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउन्डेसनले कोटिहोमका लागि समिदाका नाममा महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपललगायत रुखविरुवाहरू गैरकानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।

महानगरको यो निर्णय पनि प्रदेशको उक्त ऐनविपरीत छ । किनभने आफ्नो स्थानीय तहभित्र रहेको वर, पिपल, शमि, चौतारो संरक्षणको दायित्व स्पष्टत महानगरकै हुन आउँछ । महानगरपालिका आफैँले कटान गरिएका रुख आयोजकले नेपाल ट्रष्टको जग्गामा लगेर संकलन गरेको थियो । तर, आलोचना पनि महानगर आफैँले कटान गरिएका रुखहरू डोजर लगाएर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिनुअघि पोखरा महानगरपालिकाका मेयर आचार्यले पोखराको तालछेउमा कोटिहोम महायज्ञ हुन नसक्ने बताएका थिए । त्यसका लागि उनले दिएको तर्क भने हास्यास्पद छ ।

“प्रशासनले स्वीकृति दिएको छैन र यहाँ कोटिहोम हुन पनि सक्दैन । होमको धुँवाले वायु प्रदुषण हुन्छ जसले हवाई उडानलाई समेत असर गर्छ,” मेयर आचार्यले भनेका थिए ।

चौतारा काटेर थुपारिएको दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा लेकससाइडमा संकलन गरेको थियो ।

यता, आयोजक मानव सेवा फउन्डेसनले भने महानगरले नै काटेर शान्तिवन दमकलको कार्यालय भएको ठाउँको काठ दिएको थियो र त्यही काठ महानगरले जफतको नाममा ताला फुटाएर लगेको दाबी गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका संस्थापक धर्मगुरु बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले पोखरामा गर्ने भनिएको कोटिहोम यज्ञ कसैले रोक्न नसक्ने बताए । उनले त्यहाँ विवादास्पद अभिव्यक्ति पनि दिए ।

kotihome-1739158776.JPG
 

‘धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको’ अभिव्यक्ति दिँदै उनले कोटिहोम नगरी पोखराबाट नफर्किने चेतावनी दिए । कृष्णमूर्तिले १० वर्ष अघिदेखिको प्रयास अहिले आएर पूरा हुन लागेकाले महायज्ञ गरेरै छाड्ने अडान लिए । 

नेपाल भ्रमण वर्ष २०२५, नेपाली नयाँ वर्ष २०८२ तथा पोखरा महानगरपालिकाले घोषणा गर्न लागेको पोखरा भ्रमण वर्ष २०२५ को अवसरमा बाराही घाट क्षेत्रमा मानव सेवा फाउन्डेसनले कोटिहोमको आयोजना गरेको जनाएको छ ।

पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्ववर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरहरूको महत्त्वलाई विश्वभर जीवन्त प्रचारप्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने उद्देश्य समेत कोटिहोमको रहेको आयोजकले जनाएको छ । 

धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्‍याउने संकल्प अनुरूप पोखरा–१८, सिमपानीस्थित कैलाशधाम शिवमणि मन्दिर तथा पोखरा–६, बैदामस्थित मुक्तेश्वर शिव मन्दिर मुक्तिधामको सर्वाङ्गिण विकास सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावकविहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण आदि सहयोगार्थ गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को आयोजना गर्न लागिएको फाउन्डेसनको भनाइ छ ।

कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सखी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेल, भागवत भाष्कर पं श्री कमलनयन गौतम, विख्यात प्रवचनकर्ता श्री चैतन्य कृष्ण महाराजबाट कथा वाचन हुने जनाइएको छ । 

प्रसिद्ध कथावाचिका भागवत मञ्जरी राधिका दासी माता, प्रवक्ता देवी सुप्रियालगायत कथा प्रवक्ताहरुलाई निमन्त्रणा पनि गरिसकिएको छ । यस्तै नेपालबाट १०० जनाभन्दा बढी अतिथि कथा प्रवक्ताको पनि यस कोटिहोम महायज्ञमा आगमन हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro