![थाइल्यान्डविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित](https://12khari.top/uploads/posts/Netherlands-1738835932.jpg)
काठमाडौं । त्रिकोणात्मक महिला ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सले थाइल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ । जितसँगै नेदरल्यान्ड्सले शृंखलाको उपाधि जित्ने सम्भावना कायम राखेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले प्रस्तुत गरेको ११० रनको लक्ष्य नेदरल्यान्ड्सले ओभरको अन्तिम बलमा नौ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर फेबे मोल्केनबोरले सर्वाधिक ३२ रन बनाइन् । यस्तै, रोबिन रियाकले २० र स्टेर कालिसले १४ रन थपिन् ।
अन्तिम ओभरमा आठ रन आवश्यक हुँदा एसाबेल भान डेर वोनिङ र सिल्भर सेइगर्सले अविजित क्रमशः पाँच र सात रन बनाइन् ।
थाइल्यान्डकी थिपात्चा पुथावोङले चार विकेट लिए पनि टिमको हार टार्न सकिनन् । ओनिचा काम्चोम्पुले तीन र फनिता मायाले दुई विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रनको योगफल खडा गरेको थियो ।
थाइल्यान्डकी नाथाकान चन्थामले ३६ रन बनाइन् । चनिन्दा सुथिरुआङले ३२, कप्तान नारुइमोल चाइवाइले १५ र सुवानान खिएओटोले १० रन थपिन् ।
नेदरल्यान्ड्सकी एरिस ज्विलिङले तीन विकेट लिइन् । हिथर सेइगर्सले दुई विकेट हात पारिन् ।
प्रतियोगितामा अन्तिम खेल खेलेको नेदरल्यान्ड्सको यो चौथो जित हो । ६ खेलबाट आठ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ ।
पाँच खेलबाट आठ अंक जोडेको थाइल्यान्ड भने तालिकाको शीर्ष स्थानमा कायमै छ । प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो । यो नतिजासँगै अब अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध फराकिलो जित निकाले शृंखलाको उपाधि नेदरल्यान्ड्सले जित्ने समीकरण बनेको छ ।