site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१० कित्ते सेयर–नीति पुनरवलोकन गर्ने बेला भएकै हो ?

काठमाडौं । पुँजी बजारप्रति आममानिसको आकर्षण बढाउन ल्याइएको सेयर बाँडफाँडमा १० कित्ते नीति कायमै छ । ६ वर्षअघि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पालामा लागु उक्त नीति अब भने पुनरवलोकन गर्नुपर्ने आवाज एकथरिले उठाउँदै आएका छन् । तर, बजारको विकासमा यो नीतिले ठूलो प्रभाव पार्ने हुँदा १० कित्ते नीति परिमार्जन गर्न नहुने पक्षमा अर्काेथरि छन् । 

हुन पनि १० कित्ते नीतिकै कारण गृहणीदेखि विद्यार्थीसम्ममा पुँजीबजारको चेतना फैलिएको छ । सेयर बजारबारे प्रशिक्षण दिँदै आएका सेयर लगानीकर्ता सुवासचन्द्र भट्टराई भन्छन्, सेयर बजार कमाउन र गुमाउन सक्नेहरूका लागि हो । १० कित्ते नीतिकै कारण बजारले नयाँ उचाई चुमेको हो । १० कित्ते नीतिले गर्दा धेरैले सेयर बजारबाट आम्दानी गर्न सक्षम भए ।’’

उनको भनाइमा, यो १० कित्ते नीति ठीक छ । सबैसँग आईपीओ भर्न दुई–चार हजार हुँदैन । बजारप्रति आकर्षित गर्न पनि यो नीति आवश्यक छ । १० कित्ते नीतिले बजार बढाउन सहयोग गर्छ ।” 

Dabur Nepal

उनले पैसै नभएका कारण साथीसँग मिलेर ३० कित्ताका लागि आवेदन दिएको स्मरण पनि गरे । “१० कित्ते नीति आउनुभन्दा पहिले न्यूनतम ३० कित्ताका लागि आवेदन दिनुपर्ने अवस्था थियो । मसँग पैसा एक हजारमात्र थियो । साथीसँग दुई हजार लिएर उसँगै मिलेर आईपीओ भरेको सम्झना छ, मसँग,” भट्टराईले भने ।

तर, आईपीओ बाँडफाँडमा १० कित्ता दिने नीतिलाई अब परिमार्जन गरी न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गर्नुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन् । “पुँजी बजार भनेको १० कित्ता बाँड्ने हैन । न्यूनतम ५० कित्ता बनाउनुपर्छ । आमजनतालाई बजारमा लगानीको बानी गराउन यो नीति अपनाइएको हो,” उनले बाह्रखरीसित भने, “यो नीति पुनरवलोकन गर्ने बेला भयो । ५० कित्ता भनेको हालको हिसाबमा पाँच हजार रुपैयाँ हो ।”

पाँच हजार पनि तिर्न नसक्नेका लागि म्युचुअल फण्डको बजार उपयुक्त हुने उनी बताउँछन् । “धेरै पैसा नहुने र बजारबारे धेरै थाहा नपाएकाहरूले एसआईपी र म्युचुअल फण्डमा लगानी गर्न सक्छन् । दैनिक १०० रुपैयाँ जोगाएर सामूहिक लगानी कोषमा लगानी गर्दा १०÷१५ वर्षको अवधिमा फाइदा हुन्छ,” गिरीले भने, “म्युचुअल फण्ड र एसआईपी धितोपत्र दोस्रो बजार नबुझेका र नयाँका लागि राम्रो अवसर हो ।” 

दोस्रो बजार के हुन्छ, कसैलाई थाहा हुँदैन । बजारमा आकर्षण गर्न १० कित्ते नीति ल्याइएको बोर्डका पूर्वअध्यक्ष कार्की बताउँछन् । उनको भनाइमा, यही १० कित्ते नीतिकै कारण दोस्रो बजारमा कारोबार गर्नेहरू बढ्दै गएका छन् । किनभने १० कित्ता बेच्नकै लागि भए पनि ब्रोकर आईडी तथा टीएमएस प्रयोग गर्न थालेका छन् । 

सेयर बजारमा लगानी गर्ने भनेको फाइदाका लागि हो । तर, कतिपय अवस्था यस्तो पनि आउन सक्छ, १० हजारको सेयर ९०० पनि हुन सक्छ । सेयर बेच्दा तिर्नुपर्ने ट्याक्सका कारण जम्मा ९०० रुपैयाँ मात्र फिर्ता आउँछ आउन पनि सक्छ । तर, यसमा लगानीकर्ता नै जिम्मेवार हुनुपर्छ । 

५० कित्ता भयो भने सेबोन कमिसन, ब्रोकर कमिसन, सीडीएससीको ट्रान्सफर शुल्क, पुँजीगत लाभकरलगायत कटाएर पनि फाइदा हुने चान्स धेरै हुने गिरी बताउँछन् । १० कित्ता सेयर पाएको लगानीकर्ताले यी सबै तिर्दा एक हजार रुपैयाँको सेयरको भ्यालु ९०० पनि हुन क्निे उनी बताउँछन् । 

२०७५ सालमा नेपाल धितोपत्र बोर्डले पुँजी बजारको पहुँच देशव्यापी बनाउन सेयर भर्नेलाई १० कित्ताका दरले बाँडफाँड गर्ने नीति लिएको हो । त्यो समयमा सेयरको ज्ञान नहुनेहरू धेरै भएकाले पनि यो नीति अपनाइएको पूर्वकार्यकारी निर्देशक गिरी बताउँछन् । अब भने यो नीतिलाई पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ । 

उतिबेला आईपीओ वितरण प्रणालीमा चलखेल हुने गरेकाले सबैलाई अनिवार्य १० कित्ता दिनै पर्ने नीति लागू गरिएको यो नीति लागू गर्ने बोर्डका पूर्वअध्यक्ष कार्की बताउँछन् । उनका अनुसार, पहिले ५० कित्ता होल्नेलाई ३० कित्ता र १०० कित्ताका लागि आवेदन दिनेलाई २० कित्ता पनि परेको पाइयो । सबैलाई समान नीति लागू होस् भनी यो नीति लागु गरिएको हो ।

उनले भने, “गृहणी र विद्यार्थीलाई केन्द्रित गरेर यो नीति बनाइएको हो । विद्यार्थी र गृहणीले ५० कित्ताका लागि आवेदन दिन सक्दैनन् । अझै पनि हाम्रो आर्थिक अवस्था तथा ‘फाइनान्सियल लिट्रेसी’ लगायत हेर्दा १० कित्ते नीति परिमार्जन गर्नुपर्ने बेला भएको छैन ।”

चलखेल गर्ने ठूलाबडाले यो नीतिको काम छैन भन्ने गरेको उनी बताउँछन् । यो नीति लागू गर्दा मुद्दा खेप्नु परेको पनि उनले सुनाए । हाल पनि १० कित्ताले विद्यार्थीलाई राहत दिएको उनी बताउँछन् । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ सहित अरू नियमावली संशोधनका लागि गृहकार्य भइरहेको छ । नियमावली संशोधन निम्ति अध्ययन गर्न बोर्डले चार सदस्यीय समिति गठन गरेको सहायक उप–कार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरेले बताए । 

बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा गठित समितिमा उप–कार्यकारी निर्देशक घिमिरे, उप–कार्यकारी निर्देशक अम्बिका गिरी, निर्देशक तथा सीए सुरज पराजुली र निर्देशक रेवत श्रेष्ठ छन् ।

उक्त समितिले १० कित्ते नीतिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनी छलफल गरिरहेको छ । जसमा ४०÷६० को अवधारणाका विषय पनि उठेका छन् । कुनै कम्पनीले निस्कासन गरेको कुल आईपीओको ४० प्रतिशत १० कित्ता आवेदन दिन मिल्ने र बाँकी ६० प्रतिशत ठूला लगानीकर्ताका लागि दिने कि भन्ने कुरा पनि उठेको छ । तर, टुंगो भने लागेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro