डोनापाउला (गोवा), भारत । करण रोका ५४ वर्षका भए । सन् १९८७ देखि भारतको पर्यटकी नगर गोवामा बस्छन् । किशोरावस्थामै पैसा कमाउने ध्येयसाथ गोवा पुगेका थिए । पहिलेका कामदार अब होटल मालिकमा परिणत भएका छन् । गोवामा यही हो, उनको नयाँ परिचय । कामदारबाट चाइनिज सेफका रुपमा उनले २० वर्षजति होटलमा काम गरे ।
दश वर्षयता गोवाको डोनापाउला जेटटीईमा करण रेस्टुरेन्ट एन्ड बार संचालन गरिरहेका छन् । डोना पाउला प्रेमिल जोडी घुम्न जाने सुन्दर समुन्द्री बगर हो । यही स्थानमा प्रख्यात हिन्दी सिनेमा सिङ्घम सुटिङ भएको थियो । यो ठाउँ घुम्नेका लागि झनै चल्तीमा छ ।
डोनापाउला विच गोवाको राजधानी पणजीबाट सात किलोमिटरको दूरीमा पर्छ । डोना पाउला नाम गरेकी एक सुन्दर युवती भारतका तत्कालीन राजशाहीका एक सदस्यलाई अधिक प्रेम गर्थिन ।
तर, दुर्भाग्य उनको विवाह उनीसँग भएन । यही पीडामा उनले मृत्युको बाटो रोजिन् । पछि यिनै प्रेमिकाको नाममा गोवाको यो ठाउँको नाम राखियो, ‘डोना पाउला ।’ यहाँ मन्दोभी र जुआरी नदी अरबियन समुन्द्रमा मिल्छन् ।
स्थानीयका अनुसार, डोनाले स्थानीय मानिस र जीवजन्तुलाई पनि खुबै माया गर्थिन् ।
समुन्द्रको निलो छला, लुकामारी खेल्ने बादल र हावाको सुस्केरासँगै प्रकृतिको अनुपम छटामा रमाउनेहरू तिनै डोनालाई सम्झँदै यहाँ घुम्न पुग्छन् । हरेक दिन पुग्ने पर्यटकको संख्या हज्जारौँमा हुन्छ । फाट्टफुट्ट पुग्ने नेपालीहरू त्यहाँ रमाउँछन् । करणको होटलमा पसेर नास्तापानी गर्छन् ।
“आफ्नै नाम राखेर होटल खोलेको छु । कोरोनाकाल यता भने व्यापारमा केही मन्दी छ, रैपनि असन्तुष्ट छैन,” उनले भने, “रुकुममा छँदा परिवारमा दुःख थियो । खान लाउनकै समस्या । म स्कुल पढ्दा–पढ्दै परिवारसँग सल्लाह गरेरै यता आएको हुँ ।”
उनी परिवारसँगै गोवा बस्छन् । छोरा पनि होटल व्यवसायमा छन् । श्रीमती गीता रोकाले पनि गोवाको अर्को ठाउँमा होटल चलाउँछिन् । आमाबुवा बितिसके । रुकुममा दाइ छन् । एउटा भाइ अमेरिका बस्छन् । होटलमा २० लाख लगानी गरेका उनले १२ जना नेपालीलाई रोजगारी दिएका छन् । कोही रुकुम, दाङ र कोही–कोही चितवनतिरका छन् ।
केही समयअघि नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि करणको होटल पुगे । चियानास्ता गरे । उनको परिश्रमको सम्मान गर्दै खुसी भएको सुनाए । “तीन महिनाअघि नेपाली सिनेमाका महानायक राजेश हमाल पनि आउनुभएको थियो । उहाँ भने होटल पस्नु भएन । परैबाट हेल्लो भन्दै फर्कनु भयो । मैले नमस्कार भने,” करणले बताए । घुम्न आएका देशी/विदेशी पर्यटकहरू उनका ग्राहक हुन् ।
करण नेपालतिरको हालखबर बुझिरहन्छन् । परिवारसँग टेलिफोनमा कुराकानी गर्छन् । देशको अवस्थाबारे सोध्छन् । तर, देशको विकास देखेर धेरै माया लाग्ने गरेको बताउँदै भने, “पछि नेपाल नै फर्कने सोचेको छु । उतै केही गर्ने योजना छ ।”
नेपालमा जस्तै गोवाका नेपाली भेला हुँदै दसैँ–तिहार, माघे संक्रान्ति मनाउने गरेको उनी सुनाउँछन् । गोवामा ४० हजार जति नेपाली बस्दै आएको उनको अनुमान छ । अन्य व्यवसायीलाई झैँ आफूलाई पनि गोवा सरकारले पाउने जति सुविधा दिएको र रासन कार्ड बनाई बताए ।
अन्य व्यवसायिक सुविधा पनि पाएका छन् । नियमित कर बुझाउँछन् । उनको होटलमा नेपाली सेकुवा, भारतीय परिकार र चाइनिज खाना पस्किइन्छ । भन्छन्, “यहाँ व्यवसाय गर्न समस्या छैन । तर पनि पहिला आफ्नो देश बनाउनुपर्छ भन्ने लाग्छ ।”
कैलालीको लम्कीचुहा नगरपालिका–५ का कमल पाण्डे गोवाकै एक होटलमा काम गर्छन् । ११ वर्षदेखि कार्यरत उनी अब नेपाल फर्केर कोरिया जाने तयारीमा छन् ।
उनीसँगै १० जना नेपाली त्यही होटलमा काम गर्छन् । कोही सेफ छन्, अनि कोही वेटर । कक्षा १२ उत्तीर्ण गरेर आएका पाण्डेले कोरिया जाने रकम जोहो गरिसकेको सुनाए । “यहाँ आउने धेरै नेपाली होटलमै काम गर्छन्, तर म अब घर फर्केर कोरिया जान्छु,” उनले भने, “आफ्नो देशमा बेरोजगारीका कारण यता आइयो । एक पटक नेपाल प्रहरीमा पनि जागिर खान खोजेको थिएँ तर सोर्स नपुगेर पाइएन ।” उनका बुवाआमा, तीन छोरा–छोरी र श्रीमती कैलालीमै छन् ।
कैलालीकै गणेश विक पनि होटलमा काम गर्छन् । मासिक १२ हजार भारतीय रुपैयाँ बेतन पाउने उनी ओभरटाइम पनि खटिन्छन् । खान बस्न होटलले नै व्यवस्था गरिदिएको छ । “ओभरटाइम काम पाइने हुँदा कमाएको पैसा बचाएर घर पठाउन सकिएको छ,” उनले भने ।
दाङको राप्ती नगरपालिकाका लक्ष्मण पुन साथीहरूसँगै गोवा आएका थिए । होटलमै जागिरे छन् । पाँच, छ महिनामा घर आऊजाऊ गरिरहने उनले पनि तलब बचाएर घर पठाउने गरेको सुनाए ।