site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरभाडा खर्च अर्ब नाघेपछि कूटनीतिक कर्मचारीलाई कस्दै सरकार, प्रमुख सडकका घर भाडामा लिन नपाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीको घरभाडा खर्चमा लगाम लगाएको छ । घर भाडावापत कूटनीतिक कर्मचारीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी खर्चन थालेपछि सरकारले कडाई गरेको हो । 

सरकारले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ ल्याउँदै कूटनीतिक कर्मचारीमाथि कडाई गरेको हो । उक्त मापदण्ड मन्त्रपरिषद्को यही माघ २१ गते बसेको बैठकले पारित गरेको हो ।

“विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको निवासका लागि घरभाडामा लिनु पर्दा वा घरभाडा नवीकरण गर्नु पर्दा व्यापारिक क्षेत्र र सहरको प्रमुख मार्गमा नलिने व्यवस्था गर्नुपर्नेछ,” मापदण्डमा स्पष्ट लेखिएको छ ।

कूटनीतिक कर्मचारीले सम्बन्धित देशको राजधानीका प्रमुख सडक र व्यापारिक क्षेत्रमा रहेका महंगा घर भाडामा लिई खर्च बढाएपछि अबदेखि त्यस्ता स्थानका घर भाडामा लिन नपाउने व्यवस्था गरिएको हो ।

मन्त्रिपरिषद्ले पारित गरेको मापदण्डमा कूटनीतिक कर्मचारीले घरभाडा शीर्षकमा जति रकम पाइरहेका छन् त्यसलाई पनि घटाउने उल्लेख छ । सरकारले कूटनीतिक कर्मचारीको खर्च कटौती गर्ने गरी मापदण्ड ल्याएको छ ।

“विदेशस्थित नियोगमा कार्यरत नियोग प्रमुख वा अन्य कर्मचारीको आवासका लागि घरभाडाका सम्बन्धमा थप अध्ययन गरी खर्च न्यूनीकरण गर्नेगरी मापदण्ड निर्धारण गर्नुपर्नेछ,” मापदण्डमा भनिएको छ ।

हाल विदेशमा ३० दूतावास, ३ स्थानीय नियोग र ७ महावाणिज्य दूतावास गरी कुल ४० नियोग छन् । ती नियोग प्रमुख र कार्यरत कूटनीतिक कर्मचारीका घरभाडा सरकारले व्यहोर्ने गर्छ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीका घरभाडा लागि एक अर्ब एक करोड ६ लाख रुपैयाँ छुट्टयाएको छ ।

सरकारले हरेक वर्ष जति घरभाडाका लागि रकम छु्ट्टयाएको हुन्छ त्योभन्दा बढी रकम भाडामा खर्च हुँदै आएको छ । यसैकारण परराष्ट्र मन्त्रालयअन्तर्गतका ती नियोगहरूमा परराष्ट्रलाई छुट्याइएको बजेटको ठूलो हिस्सा जाने गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि परराष्ट्रलाई ६ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल बजेटमा नियोग, नियोग प्रमुख र कूटनीतिक कर्मचारीको घरभाडाको हिस्सा १४.९२ प्रतिशत रहेको छ ।

सरकारले यसै वर्ष युनाईटेड अरब इमिरेट्सको दुबई, अमेरिकाको टेक्सास र न्यूयोर्कमा महावाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको छ । पोर्चुगलमा पनि यसै वर्षबाट नेपाली दूतावास सञ्चालनमा आउने छ । 

नयाँ दूतावास र महावाणिज्य दूतावास सञ्चालनमा आएपछि कूटनीतिक कर्मचारीको घरभाडा खर्च अझ बढ्ने देखिन्छ । त्यतिमात्र होइन, परराष्ट्र मन्त्रालयले विदेशस्थित नियोगमा पनि दरबन्दी बढाएको छ, जसका कारण पनि घरभाडा खर्च झनै बढ्नेछ ।

घरभाडमा ठूलो रकम राज्यकोषबाट जाने भएपछि मन्त्रिपरिषद्ले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ ल्याउँदै अनियन्त्रित बन्दै गएको घरभाडा खर्च कस्न खोजेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ का लागि ४० वटा नियोग तथा त्यहाँ कार्यरत कर्मचारीको घर भाडाका लागि सरकारले ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

सरकारले हरेक वर्ष नियोगहरूलाई आवश्यक जग्गा र भवन निर्माण गर्न बजेट विनियोजन गर्छ । तर नियोगहरूले जग्गा र भवन निर्माणमा ध्यान दिएको देखिँदैन । कुनै कुनै वर्ष मात्र एक–दुई नियोगले जग्गा खरिद र भवन निर्माण गरेका छन् ।

विदेशस्थित नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीले पछिल्लो १२ वर्षमा घर भाडाका लागि ९ अर्ब ५ करोड ६९ लाख ३१ हजार रुपैयाँ खर्च गरेका छन् ।

आर्थिक वर्ष २०६९/७० मा ३२ वटा नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीको घर भाडा खर्च ४५ करोड १३ लाख ८७ हजार रुपैयाँ थियो । यसको १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०८१/८२ मा उक्त खर्च १ खर्ब १ करोड ६ लाख रुपैयाँ हुने देखिएको छ । 

नियोग र कर्मचारीका घर भाडामा आर्थिक वर्ष २०६९/७०  मा ४५ करोड १३ लाख ८७ हजार रुपैयाँ, २०७०/७१ मा ५५ करोड ६५ लाख ४४ हजार रुपैयाँ, २०७१/७२ मा ५६ करोड ७४ लाख रुपैयाँ, २०७२/७३ मा ६५ करोड रुपैयाँ र २०७३/७४ मा ६८ करोड ५६ लाख रुपैयाँ खर्च भएको थियो ।

यस्तै, २०७४/७५ मा ७४ करोड ७७ लाख रुपैयाँ, २०७५/७६ मा ८४ करोड ३४ लाख रुपैयाँ, २०७६/७७ मा ८१ करोड १० लाख रुपैयाँ, २०७७/७८ मा ९० करोड ६० लाख रुपैयाँ, २०७८/७९ मा ९० करोड ६३ लाख रुपैयाँ र २०७९/८० मा ९४ करोड १ लाख रुपैयाँ घरभाडामा खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यो खर्च ९७ करोड रुपैयाँ पुगेको थियो ।

नियोगहरूका लागि आवश्यक जग्गा, घर खरिद तथा निर्माण गर्दै जाने सरकारको नीति छ । 

मन्त्रिपरिषद्को २०५१ जेठ २३ को बैठकले विदेशस्थित नियोगका घरभाडा तथा नियोगहरूमा काम गर्ने कर्मचारीहरूको आवासका लागि ओहदा र ठाउँ सुहाउँदो साधारणरुपमा सुसज्जित निवास निम्ति घरभाडा सुविधा दिने व्यवस्था गरेको थियो । त्यही निर्णयका आधारमा सरकारले उनीहरूलाई घर भाडा खर्च उपलब्ध गराउँदै आएको छ । 

कर्मचारीलाई घर भाडा उपलब्ध गराउने परराष्ट्रको स्पष्ट मापदण्ड छैन । स्पष्ट मापदण्ड नहुँदा देश अनुसार फरक–फरक घरभाडा कर्मचारीले बुझ्ने गरेका छन् । 

सार्वजनिक लेखा समितिले २०६९ वैशाख ५ गते परराष्ट्र मन्त्रालय र नियोगका नाममा घर भाडासम्बन्धी स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको थियो । उक्त निर्देशन कार्यान्वयन नभएपछि पुनः २०७७ मंसिर १४ गते तत्काल स्पष्ट मापदण्ड बनाई लागू गर्न निर्देशन दिएको थियो । 

लेखा समितिले पछिल्लो पटक दिएको निर्देशनको पनि कार्यान्वयन भएको छैन । महालेखापरीक्षकको कार्यालयले पनि पटक–पटक यी निर्देशन पालना गर्न परराष्ट्रलाई भनेको छ, तर परराष्ट्रले टेरेको छैन ।  सरकारले फेरि नयाँ मापदण्ड ल्याएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro