काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटेलमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा दुई स्वर्ण जितेका हुन् ।
उनले कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते । प्रतियोगितामा नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३०० खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ । भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहेका छन् ।
गत नोभेम्बरयता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि भूपेन्द्रले १५औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको दुई स्पर्धामा दुई रजत जितेका थिए । छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी दुई पदक जितेका थिए ।
त्यसअघि उनले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन् ।