जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले उत्तरी वेस्ट बैंकमा ५० प्यालेस्टाइनी लडाकु मारिएको जनाएको छ ।
जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आईडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आईडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।
आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकुलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’का क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आईडीएफले जनाएको छ ।
अपरेसन २१ जनवरीमा सुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ ।
आईडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकुहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गरेका छन् ।
“युद्धमा हामीले गरेका निर्णयहरूले मध्यपूर्वको अनुहार बदलिसकेको छ । म डोनाल्ड ट्रम्पसँग एक धेरै महत्त्वपूर्ण बैठकको लागि वासिंग्टन जाँदै छु,’’ उनले भनेका छन्, ‘‘राष्ट्रपति ट्रम्पले आफ्नो पदभार ग्रहण गरेपछि कुनै विदेशी नेतासँग यो पहिलो भेट हुनेछ । मलाई लाग्छ कि यो इजरायल–अमेरिकी गठबन्धनका लागि ठूलो क्षण हुनेछ ।”रासस/एएनआई