काठमाडौं । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्पान्योलसँगको हारका बाबजुद आफ्नो टिम अझै पनि ला लिगा उपाधिको दाबेदार रहेको बताएका छन् ।
रियालले शनिबार राति भएको खेलमा स्पान्योलसँग १–० को अप्रत्यासित हार बेहोरेको थियो । स्पान्योलकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन कार्लोस रोमेरोले गोल गरेका थिए ।
हारका बाबजुद रियाल ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । तर, शनिबार नै भएको अर्को खेलमा मायोर्कालाई हराउँदै एट्लेटिको मड्रिडले रियालसँगको अंक दुरी एक अंकमा घटाएको छ ।
लिग उपाधिमा एट्लेटिको मड्रिडबाट कडा टक्कर पाइरहे पनि एन्सेलोट्टीले भने आफ्नो टिम उपाधिको ‘ड्राइभिङ सिट’मा रहेको बताएका हुन् ।
“हामीसँग खेलमा धेरै मौका थिए, त्यसमा गोल हुनुपर्थ्यो । तर, हारका बाबजुद लिगमा अझै पनि हामी प्रतिस्पर्धात्मक छौँ । अब हामी आगामी खेलमा केन्द्रित छौँ । हामीले अझ राम्रो गर्न सक्थ्यौँ,” एन्सेलोट्टीले भने ।
ला लिगाको जारी सिजन रियालको यो तेस्रो हार हो ।