काठमाडौं । वर्षौंदेखि एकै प्रकारका चरित्रमा काम गर्दागर्दा अभिनेता मुकुन्द श्रेष्ठ दिक्क भइसकेका थिए । जुन चलचित्रका लागि अफर आए पनि चरित्र उस्तै हुन्थ्यो । क्यारेक्टर बुढो नै हुन्थ्यो ।
कुनै न कुनै मेकरले त भिन्न चरित्रमा अफर गर्लान् कि भन्ने आशा गर्दा गर्दै ०७१ साल लाग्यो । तर, नयाँ चरित्रको अनुभव उनले गर्न पाएनन् ।
विसं. २०४० देखि थालेको अभिनयको यात्रामा एकै खालको चरित्रमा काम गर्दागर्दै ‘कोहिनुर’सम्म आइपुगे । त्यसपछि मुकुन्दले लामो ब्रेक लिए । एक दशक उनले कुनै चलचित्रमा काम गरेनन् । एकातिर एकै खालका चरित्रले दिएको दिक्दारी अर्कातिर पारिवारिक कारण, मुकुन्द १० वर्ष सिनेमाबाट पर रहे ।
“यो बीचमा मैले चलचित्र खेलिनँ र हेरिनँ पनि,” मुकुन्द बाह्रखरीसँग भन्छन्, “बुवा र आमा बित्नुभयो । जेठो छोरा भएकाले घरको व्यवहार मिलाउनुपर्यो, त्यही भएर पनि यो १० वर्ष चलचित्रबाट टाढा रहेँ ।”
नेपाली रजतपटमा पहिलो चलचित्रदेखि नै बुढो मान्छेको क्यारेक्टरबाट अभिनय सुरु गरेका उनले त्यसयता हरेक चलचित्रमा त्यस्तै चरित्रमा काम गरे ।
“बुढो भएर सिनेमामा इन्ट्री भएँ । योङ उमेरमा पनि बुढोकै क्यारेक्टर गरेँ,” मुकुन्द भन्छन्, “कुनै एउटा चलचित्रमा कुनै क्यारेक्टर हिट भयो भने अर्को मेकरले पनि त्यस्तै क्यारेक्टर चाहियो भन्थे । यसले गर्दा मैले जवानीमा पनि बुढो क्यारेक्टरको रोल गरेँ ।”
दश वर्षपछि नेपाली चलचित्रमा फर्किंदा धेरै फरक पाएको उनी सुनाउँछन् । नयाँ पुस्तामा 'मलाई यो चाहियो र यही नै चाहियो' भन्ने निर्देशक आफूले देखेको मुकुन्द बताउँछ ।
“सुरुसुरुमा जे गरे पनि चल्छ भन्ने थियो । अहिले होइन, मलाई यस्तै चाहियो, यो नै गर्नुपर्छ भन्ने निर्देशक र प्रोडक्सन टिम आएको पाएँ,” चलचित्र ‘लाज शरणम्’मार्फत दश वर्षपछि नेपाली रजतपटमा फर्किएका उनी भन्छन्, “नयाँ पुस्तामा हुटहुटी देखेर मलाई आनन्द लागेको छ । हाम्रो समयमा निर्देशकमा आफ्नो चलचित्रबारे त्यति धेरै कंक्रिट कन्सेप्ट नै हुँदैन थियो ।”
अब फेरि चलचित्रमा केही गति बढाउने उनको भनाइ छ । “चार/पाँचवटा चलचित्रबाट काम गर्नुपर्यो भन्ने कुरा आइरहेको छ,” उनी अगाडि थप्छन्, “एउटा चलचित्रमा भने काम नगरी नहुने भयो, गर्दै छु ।”