काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’बीच सहमति भएको छ । दुई पक्षबीच भएको छलफलमा चलचित्र ‘एक्टर : टेक वान’लाई सिनेमा हलमा निर्वाध प्रदर्शन गर्न सहयोग गर्ने सहमति भएको हो ।
काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा ‘एक्टर’का निर्माताले फिर्ता लिने भएका छन् । शुक्रबार अदालत खुल्नबित्तिकै मुद्दा फिर्ता लिने सहमति भएको छ । अब कहिलेबाट चलचित्र रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको ‘एक्टरः टेक वान’का क्रिएटिभ निर्देशक मोती कार्कीले बाह्रखरीलाई जानकारी दिए ।
‘एक्टर’का निर्माता प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै अदालत पुगेपछि माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो ।
‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय छ । प्रिमियरमा सिनेमा हेर्नेहरूले चलचित्रको तारिफ गरिरहेका छन् ।
‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । ‘एक्टर’ माघ ४ गते नै रिलिज भइसकेको छ ।