काठमाडौं । पठन संस्कृति घट्दै जाँदा त्यसको प्रत्यक्ष असर पुस्तक बिक्रीमा परेको छ । केही वर्षयता नेपालमा पठन संस्कृति ओरालो लागेको छ ।
पुस्तक प्रकाशकहरूका अनुसार, अहिले नेपाली पुस्तकको बिक्री निकै न्यून छ । सेलिब्रिटी लेखकहरूका पुस्तकको बिक्री पनि अनपेक्षितरूपमा घटेको प्रकाशकहरू बताउँछन् ।
८० प्रतिशतसम्म पुस्तक बिक्री घटेको पुस्तक प्रकाशन गृहका सञ्चालक भुपेन्द्र खड्का बताउँछन् । यसका पछाडि विभिन्न कारण रहेको उनको भनाइ छ ।
पठन संस्कृति नबढ्नु, भएका पढ्ने व्यक्ति पनि विदेश पलायन हुनु पुस्तक कम बिक्री हुनुको मुख्य कारण रहेको उनी सुनाउँछन् । पठन संस्कृति घट्नुको कारण बालबालिकामा पाठ्य सामग्रीबाहेकका पुस्तक पढ्नुपर्छ भन्ने संस्कार नहुनु मुख्य कारण भएको उनको तर्क छ ।
साक्षरता र चेतनास्तर कम हुनु बच्चालाई विद्यालयको पाठ्यपुस्तकभन्दा बाहिरको पुस्तक पढ्नुपर्छ भन्ने स्कुलिङ नहुनु प्रमुख कारण भएको उनको तर्क छ । किताब पढ्नुपर्छ भन्ने अवधारणा नै पूर्वीय समाज त्यसमा पनि नेपालमा निकै कम रहेको उनी सुनाउँछन् ।
“विद्यालयमा शिक्षक/शिक्षिकाले विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरको किताब पढ्न प्रेरित गर्दैनन् । घरमा बुवाआमाले नै कम पढ्ने भएपछि छोराछोरीलाई पढ्नैपर्छ भनेर भन्ने कमै छ । फाट्टफुट्ट पढ्नु बेग्लै कुरा हो,” भुपेन्द्र भन्छन् । बिदाको दिन सपिङ गर्न छोराछोरीलाई पुस्तक पसल लैजाने चलन नेपालमा निकै कम रहेको उनको भनाइ छ ।
“विद्यालय र घर जुन जरा हो, त्यहीँ पढ्ने बानी छैन भने कसरी पठन संस्कृति विकास हुन्छ र पुस्तक बिक्री बढ्छ ?,” उनको प्रश्न छ ।
सार्वजनिक पुस्तकालय नेपालमा निकै कम रहेको तर समाजमा बौद्धिक वर्ग जो पढ्छ, उसलाई भेटेर बहस गर्ने संस्कार नरहेको भुपेन्द्रको भनाइ छ । विचारको मन्थन गर्ने थलो नभएपछि त्यसको असर अध्ययनमा सिधै पर्ने तथ्यलाई नजरअन्दाज गर्न नसकिने उनको ठहर छ ।
विद्यालयमा सामाजिक शिक्षा र नेपालीबाहेक नेपालीमा पढाइ नहुनुले पनि आख्यान पढ्नेको संख्या कम भएको भुपेन्द्रको तर्क छ । नेपाली भाषामा कमजोर हुँदा पनि यसको असर परिरहेको उनी बताउँछन् ।
“अहिले पनि अंग्रेजी भाषामा प्रकाशित विश्वविख्यात लेखकका पुस्तक नेपालमा धेरै बिक्री हुन्छन् । दुई–चारजना लेखकका बाहेक नेपाली लेखकका नेपाली भाषाका पुस्तक अहिले रोजाइमा पर्न छाडिसकेका छन्,” उनी अगाडि थप्छन् ।
विदेशी लेखकका किताब नेपालमा बर्सेनि कम्तीमा पाँच हजार कपीभन्दा धेरै बिक्री हुने गरेको भुपेन्द्र सुनाउँछन् । ‘भेजिटेरियन’ले नोबेल पुरस्कार पाएपछि दुईपटक नेपाल आएको र आएको दुई/तीन दिनमा स्टकआउट भएको उनले जानकारी दिए ।
शाहरुक खानको बायोग्राफी तीनपटक नेपाल आउँदा पनि केही दिनमै स्टकआउट भएको भुपेन्द्र बताउँछन् । “अरू विदेशी राइटरका अंग्रेजी भाषाका किताब पनि त्यसरी नै बिक्री भइरहेका छन् । बोर्डिङ स्कुल पढ्ने विद्यार्थीले अहिले अंग्रजी भाषाका किताब पढिरहेका छन्,” भुपेन्द्र भन्छन् ।
सामाजिक सञ्जालले पुस्तक पढ्ने समय लिइरहेको यथार्थलाई पनि नजरअन्दाज गर्न नसकिनेमा उनको जोड । २० सेकेन्डको टिकटक पनि पूरै हेर्न धैर्य नभएको अवस्थामा तीन/चार सय पेजको पुस्तक पढ्ने धैर्यता निकै कममा मात्रै रहेको भुपेन्द्र बताउँछन् ।
एसएलसी र प्लस टू सकेर विदेश जाने हुटहुटी धेरै विद्यार्थीमा हुने गरेको अवस्थामा उनीहरूको रोजाइमा नेपाली पुस्तक नपर्ने गरेको उनी सुनाउँछन् । “सामाजिक सञ्जाल, विदेश मोह, घुमफिर, नेपाली भाषामा कम पकडलगायत विभिन्न कारणले हाम्रो रिडरसिप बढ्नुको सट्टा घटेको,” उनी भन्छन् ।
आयातित पुस्तकमा कर लगाउनु, कोभिड–१९ पछि भिडियो सामग्रीतर्फ नागरिक सिफ्ट हुनु, आर्थिक मन्दीलगायतले रिडरसिप घटेको आफूले अनुभव गरेको उनको भनाइ छ ।
भुपेन्द्र भन्छन्, “नाना, छाना र मानापछि मात्र पुस्तक पढ्ने हो । त्यसैले आर्थिक मन्दीले पनि ठूलो असर परेको छ,” उनी अगाडि थप्छन्, “पहिला छोरोछोरी पढाउनुपर्यो । त्यसमा पनि सरकारले पुस्तकलाई मनोरञ्जनको तहमा लगेर राखेको छ । शिक्षा र स्वास्थयजस्तै अनिवार्य हुनुपर्नेमा साहित्यलाई मनोरञ्जनको तहमा लगेर राख्नु गलत हो ।”
पुस्तकको मूल्य गलत भयो भन्नेमा भुपेन्द्र सहमत छैनन् । संसारभर हरेर तीन/तीन महिनामा कच्चा पदार्थको मूल्य बढ्ने गरेको उनी स्मरण गर्छन् । काम गर्ने कर्मचारीको तलब, अन्य सामग्रीको मूल्य बढ्दा पुस्तकको मूल्य बढ्ने कुरालाई भुल्न नहुनेमा उनको जोड छ ।
“मल्टिनेसनल कम्पनी जो हरेक वर्ष मिलियन/मिलियन प्रति किताब छाप्छन्, ती अंग्रेजी भाषाका किताबभन्दा दुई/तीन हजार कपी छापिने हाम्रा नेपाली पुस्तक धेरै सस्ता छन्,” उनी अगाडि थप्छन्, “मूल्य उत्पादन हेरेर राखिन्छ । साहित्यिक पुस्तकको मूल्य साहित्यकारको छवि, उसले त्यो पुस्तकमा गरेको मिहिनेत, पृष्ठ संख्या, सम्पादन, कागजको क्वालिटी, कभरले निर्धारण गर्छ ।”
यी र यस्ता विविध कारणले पुस्तकको बिक्री घटेको उनको भनाइ छ । पहिला ८० प्रतिशत बिक्री हुने पुस्तक अहिले १० प्रतिशतमा झरेको उनको भनाइ छ ।
“पहिला १० हजार कपी बिक्री हुन्थ्यो भने अहिले एक/दुई हजार कपीमात्र बिक्री हुन्छ,” उनी भन्छन्, “पर्सनल प्रमोसन, टिकटकलगायत सामाजिक सञ्जालमा किताबको प्रोमोसन गर्नुपर्ने अवस्था आएको छ । यति हुँदा पनि बिक्री छैन ।”
पुस्तक बिक्री हुन कुनै ठूलो पुरस्कार नै पाउनुपर्ने उनको अनुभव छ । समीक्षालाई पाठकले पत्याउन छोडेको उनको भनाइ छ । समीक्षाका नाममा एउटाको पुस्तक आउँदा अर्कोले प्रशंसा गरेर समीक्षा लेखिने गरेको र त्यस्ता समीक्षालाई पाठकले विश्वास गर्न छाडेको उनी बताउँछन् । समीक्षाका नाममा पर्म लगाउने गलत संस्कार बसेको उनको भनाइ छ । समीक्षाका नाममा सदीक्षा लेखिने गरेको उनको टिप्पणी छ ।
फाइन प्रिन्टका प्रकाशक नीरज भारी पुस्तक बिक्री इतिहासकै कमजोर अवस्थामा रहेको र थप कमजोर हुने देखिरहेको बताउँछन् । युवा पुस्ता देशमा बसेर केही हुँदैन भन्ने मानसिकतामा पुग्दा पठन संस्कृति घट्दै गएको उनको ठम्याइ छ ।
नेपाली पत्रपत्रिका र पुस्तकको बिक्रीका हिसाबले सबैभन्दा उर्वर समय २०६२/६३ पछि रहेको नीरज स्मरण गर्छन् । राजतन्त्र फालेर लोकतन्त्र ल्याउँदा युवा पुस्तामा देशमा नै अब केही हुन्छ भन्ने विश्वास बढ्दा पठन संस्कृति पनि बढेको उनको अनुभव छ ।
“हामी २०५०/५२ तिर पब्लिसरका रूपमा आएका थियौँ भने सायद हामीले पनि प्रकाशन गृह बन्द गरिसकेका हुन्थ्यौँ होला । किन भने द्वन्द्वकालमा पनि पुस्तक किनेर पढ्ने अवस्था थिएन,” नीरज भन्छन्, “तर, लोकतान्त्रिक गणतन्त्र बहाल भएपछि देश विकास हुन्छ । आर्थिक विकास हुन्छ भन्ने आशा युवामा हुँदा रिडरसिप नेपालको इतिहासमै सबैभन्दा बढी थियो ।”
तर, युवा पुस्ताको आशा र भरोसालाई जीवित राखेर देशलाई प्रगतिको बाटोमा अगाडि बढाउन नेताहरूले नसक्दा विदेश पलायन हुनेक्रम बढेको उनी बताउँछन् । युवा पुस्ता विदेशमा जाने दर बढेसँगै नेपालमा पुस्तक बिक्री घटेको उनको अनुभव छ ।
कोभिड–१९ को लकडाउनमा प्रकाशन गृहले पुस्तक प्रकाशन गरेर पाठकसामु पुर्याउन नसक्नु अर्को कमजोरी भएको उनको समीक्षा छ ।
“हामीले नयाँ पुस्तक प्रकाशन गर्न सक्दा त्यो समय नेपाली भिडियो कन्टेनमा सिफ्ट भए,” नीरज अगाडि थप्छन्, “लकडाउन पछि हामी रिडरसिप थप कमजोर हुँदा किताब बिक्री दयनीय अवस्थामा पुग्यो ।”
अहिले बजारमा नाम चलेका लेखकका किताब पनि बढीमा दुई/तीन हजारभन्दा धेरै कपी बिक्री नहुने उनले जानकारी दिए । अहिले नेपालबाहिर रहेका नेपालीबाट राम्रो पुस्तक प्रकाशन हुँदा दुई/तीन हजार कपी माग हुनुले नेपाली पाठक विदेश पुगिसके भन्ने प्रस्ट सन्देश दिने उनको भनाइ छ ।
नयाँ लेखकको पहिलोपटक पाँच हजार प्रति किताब प्रकाशन हुँदा अहिले त्यो पुस्तकले भारतको प्रतिष्ठित साहित्यिक पुरस्कार पाउँदा पनि रिप्रिन्टमा दुई हजार कपी पनि बिक्री नभएको नीरज सुनाउँछन् ।
साहित्यकार सुविन भट्टराई पठन संस्कृति घट्नुका पछाडि थुप्रै कारण रहेका हुन सक्ने बताउँछन् । त्यसमध्ये राम्रो पुस्तक नआउनु पनि एउटा कारण भएको उनको भनाइ छ ।
“हामी लेखकले नै राम्रो किताब लेख्न सकेनौँ कि भन्ने पनि लाग्छ । हामीले लेखेका पुस्तक पनि गतिला नहुन सक्छन्,” सुविन भन्छन्, “पाठकलाई लोभ्याउने पुस्तक हामीले नै लेख्न नसकेको पनि हुन सक्छ ।”
नेपाली साहित्यमा विविधता हुन नसक्नु पनि अर्को कारण रहेको उनको निष्कर्ष छ । विदेशी साहित्यमा जस्तो खोज्यो त्यस्तै पुस्तक पाइने तर नेपालीमा त्यो सुविधा नरहेको उनको भनाइ छ ।
“हुन त हाम्रो साहित्यको इतिहास र अंग्रेजी साहित्यको इतिहास तुलना गर्नै मिल्दैन । उनीहरू हामीभन्दा धेरै अगाडि छन्,” उनी भन्छन्, “त्यसैले अंग्रेजी विषयमा जस्तो खोज्यो त्यस्तै पुस्तक भेटिन्छ । तर, हाम्रोमा त्यस्तो छैन ।”
अंग्रेजी भाषामा पढ्ने रिडर बढेपछि उनीहरूले आफूले चाहेजस्तो किताब पढ्नु स्वाभाविक भएको सुविनको भनाइ छ । नेपाली लेखकले एउटै र पुरानै ढाचामा लेखिरहेकाले पनि पाठकलाई आकर्षित नगरेको हुन सक्ने उनको संकेत छ ।
राम्रा र डिमान्डेड किताबलाई अंग्रेजीमा पनि अनुवाद गरेर नेपाली भाषामा कमजोर पकड भएका र विदेशी पाठकसामु पुर्याउन सके पाठक बढ्ने उनको ठहर छ ।
साहित्य स्नातकमा पुगेपछि मात्रै पढ्ने विषय नरहेको उनको धारणा छ । “विद्यालय तहदेखि नै राम्रो साहित्य समावेश गरेर जान सके साहित्य पढ्ने बानी बस्छ । हाम्रोमा स्नातक पुगेपछि मात्रै साहित्य पढ्नुपर्छ भन्नेजस्तो सरकारको बुझाइ छ,” सुविन अगाडि थप्छन्, “अन्ततः धेरै कुरा सरकारमा पुगेर ठोक्किन्छ । राज्यले नै उपयुक्त नीति बनाएर अगाडि बढ्नुपर्छ ।”
सामाजिक सञ्जालमा पाठकले धेरै समय बिताउँदा पनि रिडरसिप घटेको उनको बुझाइ छ ।
नेपाली साहित्यिक वृत्तमा लेखक, प्रकाशक र प्रशासकबीच सौहार्दपूर्ण सम्बन्ध नरहेको र त्यसको असर पनि परेको सुविनको भनाइ छ ।
“धैरै कुराले पुस्तकको बिक्रीमा असर गर्छ । यसमध्य एउटा कारण प्रकाशक र लेखकबीच बेलाबेलामा अनेक कुरा आइरहनु पनि एक हो,” उनी भन्छन् ।
नेपालमा केही राम्रा पुस्तक पनि रहेकाले त्यसलाई अंग्रेजीलगायत भाषामा अनुवाद गरेर पब्लिसिटी गर्न सके नेपाली साहित्यले विश्व साहित्यको बजारमा आफ्नो ठाउँ बनाउन सक्ने सुविनको भनाइ छ ।
सुविनको तर्कमा रत्न पुस्तक भण्डारका सञ्चालक सुरेश श्रेष्ठ सहमत छन् । राम्रो पुस्तक नआउनु पनि किताब बिक्री घट्नुको कारण रहेको उनको तर्क छ ।
“राम्रो पुस्तक आउँदा केही संख्यामा बिक्री भइरहेका छन् । त्यसैले राम्रा पुस्तक आएनन् कि भन्ने लाग्छ,” उनी भन्छन्, “यद्यपि, बिक्रीको दर घटेको निर्वाद सत्य हो ।”
जनसंख्या बढ्दै गए पनि पाठकको संख्या घट्दै गएको उनी बताउँछन् । जनसंख्याको अनुपात बढ्दै जाँदा सोही अनुपातमा पाठक पनि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको उनी सुनाउँछन् ।
“धेरै पुस्तक प्रकाशन भइरहेका छन् । तर, ती राम्रा छैनन् । धेरै पुस्तक आउने तर पढ्दा राम्रो नहुने भएपछि नियमित पाठक पनि घट्दै जान्छन्,” सुरेश अगाडि थप्छन्, “अहिले भइरहेको यही हो । पुस्तक दिनकै सार्वजनिक हुने तर राम्रा नहुने भएपछि पाठकले पढिरहेका छैनन् ।”
पाठकको क्रयशक्तिलाई पनि विचार गर्नुपर्नेमा उनको जोड छ । महिनामा एउटाभन्दा धेरै पुस्तक एकजनाले सामान्यतः नपढ्ने सुरेश बताउँछन् ।
“विशेष अवस्थामा एकजनाले बढीमा एउटाभन्दा धेरै किताब किनेर पढ्छन् भन्ने लाग्दैन,” उनी भन्छन्, “धेरै पुस्तक प्रकाशन भएकाले पनि सबै किताब बिक्री हुन्छ भन्ने छैन ।”
पाठकको क्रयशक्ति कमजोर हुनु, रिडरसिप नबढ्नु, राम्रा पुस्तकको संख्या कम हुनु, किताब छापिने क्रम बढ्नु र सामाजिक सञ्जालको प्रयोग बढ्नु पुस्तक बिक्री घट्नुको कारण रहेको सुरेशको निष्कर्ष छ ।