site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल, जन्मदर्ताको छाप नक्कली !

काठमाडौं । पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ । दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो ।

पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको लामो समयदेखि पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए । “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले बाह्रखरीसँग भने ।

बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो । जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो । त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो ।

“जालसाजी मुद्दामा १२० नेपालीलाई ६ महिनाभित्र पोर्चुगल छोड्न र पाँच वर्षसम्म पोर्चुगल प्रवेश गर्न नपाउने गरी कारबाही सुनाइएको छ,” बास्तोलाले बताए ।

नेपालीले पेस गरेका प्रहरी रिपोर्ट, जन्मदर्ताजस्ता कागजाज प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली पाइएको थियो ।

दूतावास नहुँदा सास्ती
पोर्चुगलमा अहिले ६० हजारभन्दा बढी नेपाली छन् । तर, त्यहाँ नेपाली दूतावास छैन । यद्यपि, सरकारले दूतावास खोल्ने निर्णय गरिसकेको छ । सरकारले हालैमात्र पोर्चुगलको नेपाली राजदूत नियुक्त गरेको छ । नयाँ राजदूत प्रकाशमणि पौडेल दूतावास स्थापना गर्न पोर्चुगल जाने तयारीमा छन् ।

हाल पोर्चुगलमा अवैतनिक वाणिज्यदूत छैनन् । फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलको समेत काम गर्दै आएको छ । 

“यहाँ दूतावास नहुँदा यहाँ रहेका नेपालीले कागजात प्रमाणीकरण गर्न दलालहरूलाई बुझाउने गरेका छन् । दलालले एउटा कागजात प्रमाणीकरण गरेको ६०० युरोसम्म लिने गरेका छन् । दलालहरूले भने त्यस्ता कागजातमा नक्कली छाप लगाएर सम्बन्धित व्यक्तिलाई दिन गरेको अहिले खुलेको छ, जसका कारण ठूलो संख्यामा नेपाली डिपोर्टमा परेका छन्,” बास्तोलाले भने ।

नेपालीले बुझाएको कागजातमा शंका लागेपछि पोर्चुगलले त्यसको जाँच गर्न भारतको नयाँ दिल्लीस्थित आफ्नो दूतावासमा पठाएको थियो । नयाँ दिल्लीस्थित दूतावासले कागजात प्रमाणीकरण गर्न लगाएको छाप नक्कली भएको सूचना पठाएपछि पोर्चुगल सरकारले नेपालीमाथि कारबाही गरेको हो । 

“नेपालीले बनाएका कागजात सक्कली हुन् । तर, त्यो प्रमाणीकरण गर्न लगाइएको छाप नक्कली भएको पाइएको हो,” बास्तोलाले भने, “यस्तो जालसाजी मुद्दामा कति नेपाली पर्ने हुन्, यकिन छैन ।” 

लाखौँ रुपैयाँ खर्चेर नेपाली पोर्चुगल जाने गरेका छन् । तर, दलालको फन्दामा पर्दा आउने दिनमा धेरै नेपाली डिपोर्ट हुने सम्भावना बढेको छ ।

“पोर्चुगल सरकारले जसलाई डिपोर्ट गरेको छ, उनीहरू उक्त निर्णयविरुद्ध अदालतमा जान पाउँछन् । तर, एउटा वकिलले एकपटक अदालतमा पेस हुँदा २५० युरो लिन्छन् । यो खर्च धान्न मुस्किल पर्छ,” बास्तोलाले भने ।

पीडित नेपालीहरूको पक्षमा गैरआवासीय नेपाली संघ, फ्रान्सस्थित नेपाली दूतावास कसैले आवाज नउठाएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro