काठमाडौं । चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले जितेकी छन् । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार प्रतियोगिता आयोजना गरेको हो ।
व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेन्डमा पार गर्दै प्रथम पुरस्कार हात पारेकी हुन् । म्याराथनमा सहभागी ३३ धावकलाई पछि पार्दै उनले ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त परेकी हुन् । ओखलढुंगाकी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेन्डमा पार गरी द्वितीय भइन् । उनले ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौंकी विमला तामाङले दुई घण्टा १२ मिनेट ३८ सेकेन्डमा पार गर्दै तृतीय स्थान हासिल गरी २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन् ।
म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, संगीता रानाभाट र मुना मजकोटी पाँचजनालाई जनही ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।