
काठमाडौं । राष्ट्रिय योजना आयोगले समपूरक अनुदान र विशेष अनुदानअन्तर्गत प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहमा नेपाल सरकारबाट उपलब्ध हुने समपूरक अनुदान तथा विशेष अनुदानअन्तर्गतका आयोजना तथा कार्यक्रमहरूका लागि प्रस्ताव आह्वान गरिएको हो ।
कार्यक्रमहरूका लागि प्रस्तावसहित विवरण तयार गरी आगामी फागुन १५ गतेभित्र राष्ट्रिय योजना आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत राष्ट्रिय योजना आयोगमा पठाउन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरिएको छ ।
प्रस्ताव पेस गर्दा प्रदेश वा स्थानीय तहले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र हाल सञ्चालनमा रहेका आयोजना वा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोग/प्रदेश योजना आयोगको आयोजना वा कार्यक्रमको प्राथमिकीकरणसहितको सिफारिसमा प्रदेश सरकार (मन्त्रिपरिषद्) निर्णयसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रमाणीकरणसमेत संलग्न गरेर पेस गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले आयोजना वा कार्यक्रमको प्राथमिकीकरणको निर्णयसहित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट समपूरक अनुदानका लागि अनुसूची–१ र अनुसूची–२ तथा विशेष अनुदानका लागि अनुसूची–२, अनुसूची–३ र अनुसूची–४ बमोजिमको ढाँचामा आवश्यक विवरण तथा सर्त पूरा भएको बेहोराको प्रमाणीकरणसमेत सलंग्न गरी पेस गर्नुपर्नेछ ।
समपूरक र विशेष अनुदान माग र प्रस्ताव पेस गर्ने सम्बन्धमा कार्यविधि तथा आवश्यक सूचना तथा विवरण आयोगको वेबसाइटबार लिन पनि आग्रह गरिएको छ ।