site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा बाँदर र बँदेल आतंकबारे बहस

काठमाडौं । बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबारे संसद्‌मा बहस भएको छ । कृषकहरूको बाली नष्ट गरेर बसाइँ नै सार्न बाध्य बनाएका जनावरहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरे ।

‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबाट खेतीबाली नष्ट भइ किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा कांग्रेसकै सांसदहरू उदरशमशेर राणा र गौतम समर्थक थिए ।

प्रस्तावमाथिको छलफलमा सांसदहरूले बाँदर र बँदेलको आतंकले किसानहरू थातथलो छोडेर हिँडेकाले त्यसको समस्या समाधान कसरी गर्ने भन्नेमा ध्यानदिनुपर्नेमा जोड दिए ।

प्रस्ताव प्रस्तुत गर्दै बजगाईंले भने, “बाँदरले मानिसको बस्ती विस्थापित गर्‍यो, युवा पलायन भए,” उनले भने, “कसौडी, कुकर नै बोकेर बाँदरले दौडिने गरेको छ ।”

उनले धार्मिक हिसाबले पनि बाँदर मार्न भने नमिल्ने बताए । संक्रमण फैलने अवस्था भयो भने चाहीँ मार्न पनि पाउनुपर्ने भनाइ उनको छ ।

उनले वैकल्पिक उपाय अपनाउन सकिने भन्दै बाँदरको निकासी पैठारी समेत गर्न सकिने बताए । "गाउँको स्थिति दयनीय छ । आम जनताको निद हराम हुने परिस्थितीमा ध्यान दिनुपर्छ,” बजगाइले भने ।

सांसद उदय शमशेर राणाले पनि बाँदर मार्न नहुने भन्दै त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए ।  

“बाली नस्ष्ट एकातिर छ । अर्कोतिर परिवार नै विस्थापित भएको छ । दुई तीन महिना मेहनत गरेर लगाएको खेती बाँदरले दुई घण्टामा सक्ने,” उनी भन्छन् ।  

सांसद अमरेशकुमार सिंहले मधेसमा नील गाईले पनि आतंक मच्याउने गरेको बताए । उनले बँदेल बाँदर र नील गाईको आतंक उस्तै खालको भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले बाँदर र बँदेल जस्तै देश बिगार्नेहरूको पनि उपाय खोज्नुपर्‍यो भन्दै व्यङ्ग्य पनि गरे ।

“किसानको खेती बिगार्ने बाँदर र बँदेललाई होइन देश विगार्ने बाँदर र बँदेललाई केही गर्नुपर्‍यो” उनले कटाक्ष गरे ।

उनले विनाशको कारण अविवेकी मानव नै देखिएको पनि बताए । श्रेष्ठले जनावर मार्न भन्दा पनि मानवतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले लेलेको अनुसन्धान केन्द्रमा बाँदरलाई अनुसन्धानको नाममा आँखा फुटाउने, टाउकोमा सियोले घोच्ने गरेको भन्दै आपत्ति जनाए ।

रास्वपाकै सांसद गणेश पराजुलीले अनुसन्धान र निवारणको पाटोमा लगानी गर्न माग गरे । “राज्यले कृषकको समस्या समाधानका लागि वैज्ञानिक पद्धति के–के गर्न सकिन्छ भन्नेमा ध्यान दिनइनुपर्छ । कृषि हानिकारक जीवको अनुसन्धान गर्न सके कति सुधार गर्न सकिन्छ भन्नेमा किन अध्ययन हुँदैन,” उनको प्रश्न छ ।

कृषि समितिको सभापति समेत रहेकी कांग्रेस सांसद कुसुमदेवी थापाले बँदेलको विषयमा प्रतिगोटा एक हजार तिरेर पाल्न सक्ने व्यवस्था गरिएको सुनाइन् ।

उनले बाँदरको बन्धाकरण बैकल्पिक उपाय हुनसक्ने बताइन् । सांसद थापाले बाँदर बन्ध्याकरणका लागि सातै प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट छुट्याउन माग गरिन् । सांसदहरूले प्रस्तावमा बाघ, हात्ती, नील गाई लगायतका विषय पनि थपिएको भए राम्रो हुने बताए । यी जनावरले किसानहरूलाई दुःख दिइएको बताए ।

सांसदहरूले सरकारले जनतालाई सुख दिनुपर्ने माग गरेका छन् । पाकेको बाली नष्ट गर्ने जनावरहरूको बारेमा भाषण मात्र गर्ने भन्दा पनि समस्या समाधान गर्नुपर्ने पक्षमा ध्यानाकर्षण गराएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro