site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ट्रम्पले डामेका नेपाली बुद्धिजीवी

नेपालका केही बुद्धिजीवी तथा अभियन्ता सामाजिक सञ्जालमा सबैभन्दा बढी गह्नाएका, देशद्रोही र नेपाल बेच्ने दलालका रूपमा चित्रित हुँदैछन् । नेपालमा हिन्दु धर्मको विरोध गर्न वा नास्तिकता फैलाउन पैसा लिएको भनी नेपालका सबैभन्दा चर्चित हास्य कलाकार जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सामाजिक सञ्जालमा प्रताडित गरिँदैछ । 

त्यस्तै, विदेशीसँग पैसा लिएर पुस्तक लेखेको आरोपमा चर्चित लेखकहरू कृष्ण धारावासी, नारायण वाग्ले, अमर न्यौपाने, खगेन्द्र संग्रौला, कुन्द दीक्षित, कनक दीक्षित, युग पाठक आदि पनि सामाजिक सञ्जालका पर्दामा रोषका तारो बनेका छन् ।

सन् २०२४ को जनवरी २२ मा अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपति पद बहाली गरेलगत्तै अमेरिकी संसद्का विदेश मामिला समितिका सभापति सांसद ब्रायन मास्टले नेपालमा नास्तिकता फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको भनेर संसद्मा बोले । उनको बोली आएलगत्तै सो काम गर्न ककस्ले पैसा लिए भनेर चर्चा सुरु भयो । त्यसको सबैभन्दा पहिलो सिकार भए, मह जोडी । 

Dabur Nepal
NIC Asia

त्यस्तै, राष्ट्रपति ट्रम्पले उनको देशले नेपालमा वित्तीय संघीयताका लागि २ करोड डलर, १ करोड ९० लाख डलर  प्रकृति संरक्षणमा र १५ लाख डलर मतदाता शिक्षामा सहयोग गरेको बताएका छन् । यी काममा गरिएको खर्चलाई ट्रम्पले 'ठगी' करार गरेका छन् । सामाजिक सञ्जालमा भने धेरैले राष्ट्रपति ट्रम्पले नेपाललाई ठग राष्ट्र करार गरेको भन्ने बुझेका देखियो । 

यसैबीच, सामाजिक सञ्जालमा माथि उल्लेखित लेखकहरूले कुन कुन देशबाट पुस्तक लेख्न वा लेखन वृत्तिका लागि कति पैसा पाए भन्ने एक सूची सार्वजनिक भयो । यति हुन नपाउँदै केहीले उल्लेखित व्यक्तिहरूलाई नेपाल बेच्ने दलाललगायत अनेकौं गलत आरोप लगाउँदै सामाजिक सञ्जाल दूषित बनाएका छन् । 

यो लेखको मूल बुँदामा प्रवेश गर्नुअघि विश्व विख्यात जर्मन पास्टर तथा कवि मार्टिन नाइमोलरको कविताको सम्झना भयो । सो कवितामा उनले लेखेका छन् -

पहिले तिनीहरू कम्युनिस्टलाई लिन आए
म केही बोलिनँ 
किनभने म कम्युनिस्ट थिइनँ
अनि उनीहरू समाजवादीका लागि आए
र म केही बोलिनँ
किनभने म समाजवादी थिइनँ
त्यसपछि उनीहरू ट्रेड युनिएनिस्टका लागि आए
र म केही बोलिनँ
किनभने म ट्रेड युनिएनिस्ट थिइनँ
अनि उनीहरू ज्युजका लागि आए
र म केही बोलिनँ
किनभने म ज्यु थिइनँ
त्यसपछि उनीहरू मलाई लिन आए
त्यसबेला कोही बाँकी थिएनन्
जो मेरो पक्षमा बोलुन् ।

वास्तवमा नेपालका बुद्धिजीवीका लागि यही कविता लागु भएको छ । 

सामाजिक सञ्जालमा कसैलाई पनि समाप्त पारिँदै गर्दा वा नचाहिने व्यक्तिले जथाभावी बोल्दै गर्दा समाजका स्थापित व्यक्तिहरू यो गलत भयो भनेर बोल्न चाहेनन् । 

रवि लामिछानेले सबै पत्रकारलाई भ्रष्ट, दलाल, जड्याँहा र षड्यन्त्रकारी भनेर आरोप लगाउँदै गर्दा देशमा सत्य पत्रकारिता पनि ज्युँदै छ है भन्न कोही अघि सरेन । रवि सत्तामा थिए । त्यही डरले उनको प्रतिकार गर्न नागरिक समाज प्रभावकारी ढंगले अघि बढ्न सकेन ।

नागरिक समाजको कमजोर प्रस्तुतिले हौसिएका लामिछानेले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताका विषयमा गिरफ्तार गर्दा मह समूहले विरोध गर्‍यो । तर सामाजिक सञ्जालमा उनीहरूमाथि गरिएको आक्रमणको बाढीले आफैँले गरेको विरोध फिर्ता लिन बाध्य भए । त्यसबेला आफ्नो अडानमा टिक्न सकेको भए मह जोडीले यो देशको लोकतन्त्र सम्वर्धन र समाज परिवर्तनका लागि दिएको योगदानको आभामा अहिलेजस्तो ग्रहण लाग्ने थिएन ।

एकजना पत्रकारको घरको भर्‍याङ भत्कियो भन्ने आरोपको भरमा ‘भ्रष्ट’ सरकारी कर्मचारीहरू शिवम् सिमेन्टको मालिकलाई पक्रन अघि सर्दा यो गलत भयो कसैले भनेनन् । जिम्बु थकाली रेष्टुरेन्टमा एक बोतल पानी सय रुपैयाँमा बिक्री गरेको आरोपमा सरकारी कर्मचारीले गरेको कारबाही गलत थियो भन्नुपर्छ भन्ने पनि कसैलाई लागेन । आशिका तामाङले खुल्ला छाडिएको साँढेजस्तो पसल पसलमा त्रास फैलाउँदै मनलाग्दी भिडियो पोस्ट गर्दैगर्दा यो काम गर्ने अधिकार तिमीलाई छैन भन्न कोही अघि सर्‍यो ?

नागरिक पत्रकारितालाई अघि बढाउने श्रेय नेपालमा नारायण वाग्लेलाई जान्छ । तर, नागरिक पत्रकारितामा सम्पादन भएन, जिम्मेवारी भएन र तिनलाई कुनै प्रकारको नियमन भएन भने अहिलेजस्तो अराजकता देखिनु अवश्यंभावी थियो भन्ने हेक्का भएन । हरेक व्यक्तिको हातमा जे मनलाग्यो त्यही वक्तव्य लाखौं जनतामा संप्रेषण गर्ने अधिकारको व्यापकता बढ्दै गर्दा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता अब एउटै होइन, फरक ढंगले हेरिनुपर्छ भन्ने तथ्यमा ध्यान किन पुगेन ?

सरकारले सबैको जग्गाको स्वामित्व मालपोत कार्यालयमार्फत अर्को व्यक्तिलाई हस्तान्तरण गर्छ । त्यसैगरी सरकारलाई पास खर्च र कर तिरेर जमिन खरिद गरेका मीनबहादुर गुरुङलाई सरकारले नै ठगी र संगठित अपराधको मुद्दा लगाउँदा समाजका लब्धप्रतिष्ठित कोही पनि केही बोलेनन् । नागरिक समाजका प्रभावशाली व्यक्तिहरू नबोल्दा न्यायालयलाई समेत निर्णय लिन गाह्रो हुन्छ भन्ने कुरामा ध्यान किन पुगेन ? 

दुर्गा प्रसाईंले एक समूहका विरुद्ध विष वमन गर्दैगर्दा एक वा दुई व्यक्तिको बदमासीका लागि एउटा समुदाय विरुद्ध आक्रमण हुनसक्छ र त्यसका कारण द्विपक्षीय सम्बन्धमा खलल आउनसक्छ भन्ने विषयमा नागरिक समाज किन अघि आउन सकेन ?

यति सबै विषय उल्लेख गरिरहँदा सामाजिक सञ्जालको गलत आक्रमणमा परेका केही व्यक्तिको मात्र दोष भन्न खोजिएको होइन । आज त्यस्ता व्यक्ति सामाजिक सञ्जालको आक्रमणमा परेका छन् जसले यस देशमा लोकतन्त्रका लागि केही योगदान दिएका छन् । 

मदन कृष्ण र हरिवंश अघि बढेर २०६६ सालको सेतो टिसर्ट आन्दोलनलाई बल नदिएको भए लोकतान्त्रिक आन्दोलनले सायद माओवादी खोल ओढ्न पुग्नेथियो । त्यस्तै, २०६१–२०६२ ताका नारायण वाग्लेको सम्पादकीय लाइन अलिकति पनि ढुलमुलाएको भए सायद २०६३ वैशाख ११ आउन त्यति सहज हुने थिएन ।

खगेन्द्र संग्रौला प्रगतिशील धारको प्रतिनिधित्व गर्छन् । उनले आफ्नो राजनीतिक विचारका लागि नैतिकतामा भने कहिल्यै सम्झौता गरेका छैनन् । त्यसैले उनी पनि आक्रमणमा परेका छन् । कनक दीक्षित र कुन्द दीक्षितलाई उनीहरूको वैदेशिक सम्बन्धका कारण सधैँ आलोचना गरिए पनि २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले देशमा सम्पूर्ण अधिकार खोस्दा दीक्षित बन्धुका कारण नेपाली जनताको आवाज विश्वमा मुखरित हुनपुग्यो भन्ने कतिले सम्झेका छन् ?  

आज माथि भनिएका व्यक्तिमात्र होइन अरू धेरैमाथि आक्रमण गर्न केही समूह उद्दत छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका राजनीतिक दलले सर्वत्र दलीयकरण, भ्रष्टाचार र जथाभावी गरेका कारण यो व्यवस्थालाई फाल्ने भन्दै दुईथरी समूह भिन्नाभिन्नै नेपालको लोकतन्त्र समाप्त गर्न लागिपरेका छन् । 

हुन त अव्यवस्था, भ्रष्टाचार र घीनलाग्दो दलीयकरण समाप्त हुनुपर्छ भन्ने विषयमा यो लेखकको पनि फरक मत छैन । तथापि, लोकतन्त्र र खुलापनको विकल्प थप लोकतन्त्र र थप खुलापनमात्र हो । 
राजनीतिमा लागेको 'कालोपोके रोग' निर्मूल गर्न सम्पूर्ण बारीमा आगो लगाउन हुँदैन । त्यसैका लागि लोकतन्त्रमा आवधिक निर्वाचन राखिएको हो । त्यसबाहेक, नागरिक समाज पनि लोकतन्त्रमा देखिएको विसंगतिलाई औँल्याउन र परेको खण्डमा चिमोट्न तयार हुनुपर्छ जुन हाम्रो नागरिक समाज छैन । किनभने ऊ पनि त दलदलमा विभाजित छ । 

लोकतन्त्रविरुद्ध लागेका समूहलाई दुईटा नामले चिन्न सकिन्छ - राजावादी र बंगलादेशवादी । राजावादी सबैले चिनेको, कुहिएर मक्किएको र कहिल्यै दासताको मानसिकताबाट उन्मुक्ति पाउन नचाहने, राजाको गुलामीमा आफूलाई सुम्पिएका व्यक्तिहरू हुन् । लोकतन्त्रमा अघि बढेका राजनीतिक दल यति कमजोर हुँदा पनि राजावादीहरूप्रति जनताको चित्त फर्किएको छैन । त्यसैले यिनले नेपाललाई ट्रम्पले बदनाम गरेको मौका छोपेर लोकतन्त्रविरुद्ध आफ्नो विष पोखेका हुन् । 

अर्को समूह बंगलादेशवादीहरू हुन् । यिनलाई अहिलेको व्यवस्था मन पर्दैन, नेता मन पर्दैन र राजतन्त्र पनि खासै ठीक लाग्दैन । यिनलाई कुनै सशक्त व्यक्ति आएर जादूई चमत्कार गरेर देशलाई ठीक ठाउँमा ल्याउनसक्छ भन्ने भ्रम छ । यिनीहरूलाई अहिले जसरी पनि नाम चलेका नेपालीहरू सबै भ्रष्ट, बेइमान, देश बेचुवा हुन् भन्ने प्रमाणित गर्नु छ । त्यसैले ट्रम्पले जुराएको मौका प्रयोग गर्न यिनीहरू लागिपरेका छन् । 

यतिखेर आरोपित केही व्यक्तिका विरुद्ध धार्मिक अनास्था फैलाउने, विदेशीको पैसा खाएर जे सुकै लेख्नेजस्ता जुन आरोप लागेका छन् त्यसमा कमी आउन उल्लेखित दुवै समूहले दिँदैनन् । मौका पर्नेबित्तिकै यिनीहरू लोकतन्त्रका पक्षधर मानिने समाजका स्तम्भहरू केदारभक्त माथेमा, डा. अभि सुवेदी, डा. सन्दुक रुइत, ईश्वर खतिवडा, डा. भगवान कोइराला, डा. आनन्दमोहन भट्टराई, राजेश हमाल जस्ता स्वनाम धन्य व्यक्तिहरूविरुद्ध कुनै न कुनै बहानामा आक्रमण गर्ने फिराकमा छन् भन्ने अनुमान सहजै गर्न सकिन्छ । 

अब राष्ट्रपति ट्रम्पको आरोपका विषयमा फर्कौं । उनले 'ठगी कार्य' भनेको नेपाललाई नभएर उनकै आफ्नो विपक्षी दल अर्थात् डेमोक्र्याटिक दलको कामलाई हो । उनलाई गरिब देशमा वित्तीय संघीयतामा सहयोग गर्नु, मतदाता शिक्षा बढाउन मद्दत गर्नु, वातावरण संरक्षणमा सहयोग गर्नु आदि सबै ठगी होजस्तो लाग्छ । 

नेपालले अहिलेसम्म विदेशीसँग लिएको सहयोग सबै ठगी होइनन् । धेरै सहयोगको रकम नेपालमा भन्दा बढी विदेशी परामर्शदाता र विदेशी ठेकेदारले लग्छन् । त्यो अर्को समस्या हो । सहयोग लिनु समस्या होइन । अमेरिकी सहयोग नलिएको भए न त नेपालमा औलो निर्मूल हुन्थ्यो न रतन्धोपन । न बिफर सकिन्थ्यो न गलगाँड । 

अमेरिकी सहयोगको भिटामीन ‘ए’को क्याप्सुल खाएर आँखा तेजिलो देख्ने, अमेरिकी सहयोगको लिटो र दुध खाएर मसल बनाएर अहिले ठूलो भएको पुस्ताले अमेरिकी राष्ट्रपतिको होमा हो मिलाउन लाज मान्नुपर्ने हो । तर हामीलाई लाज के हो नै थाहा छैन । 

त्यसैले ट्रम्पले जे जे भन्छन् सबै कुरामा होमा हो मिलाएर समाजका मूर्धन्य व्यक्तिहरूको इज्जत सिध्याउन लागि परेकाहरूसँग केही भन्नुभन्दा इमानदार र लोकतान्त्रिक व्यक्तिहरू सबैलाई सामाजिक सञ्जालमा बेइज्जत हुन आफ्नो पालो पर्खनुको विकल्प छैन । किनभने सज्जन भनिएका, नागरिक समाजका सक्रिय सदस्यहरू त अरुलाई आक्रमण गर्दा म त्यो जस्तो होइन भनेर मुख फर्काएर बस्नमात्र न जान्दछन् ।

अमेरिकाले विगत् ७३ वर्षदेखि नेपालको कृषि, शिक्षा, स्वास्थ्य, वातावरण आदि क्षेत्रमा अर्बौं डलर सहयोग गरिसकेको छ । पञ्चायतकालका अर्थ सचिव र प्रजातन्त्रपछिका अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले आफ्नो पुस्तकमार्फत नै यस्तो सहयोग लिनु भनेको विदेशी सहयोगको दूव्यर्सन निम्त्याउनु हो भन्दै वैदेशिक सहयोग नलिन आह्वान गरेका थिए । तर, नेपालले वैदेशिक सहयोग लिन कहिल्यै हिचकिचाएन । 

यो लेखको उद्देश्य वैदेशिक सहायता लिनु हुन्छ वा हुँदैन भन्ने छलफलमा अल्झिनु होइन । तर, कुनै पनि विवादास्पद विषय आउँदा किन नेपालीहरू सामाजिक सञ्जालमा यति धेरै आक्रामक हुन्छन् र देशको बृहत् हितका लागि हामी कसरी एकजुट हुनसक्छौँ भनेर थोरै विचार प्रस्तुत गर्नुमात्र हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro