काठमाडौं । गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार तारादेवी स्मृति फाउन्डेसनद्वारा उनको १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।
फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताए ।
उनले भने, “फाउन्डेसनमार्फत आमा (तारादेवी)को स्मृति दिवसमा गरिने कार्यक्रमले संगीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ । उहाँको सपनालाई पूरा गर्न फाउन्डेसनले निरन्तर कामहरू गरिरहेको छ ।”
उक्त अवसरमा गीतकार तथा संगीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो ।
आठ वर्षको उमेरदेखि नै गाउन थालेकी गायिका तारादेवीले स्वर दिएको ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’लगायत गीत अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् ।
तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन् ।
उनले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र संगीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको संगीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाएकी छन् ।
गायिका तारादेवीको २०६२ सालमा निधन भएको थियो । रासस