काठमाडौं । चलचित्र ‘पहाड’को छायांकन सुरु भएको छ । तुलसी घिमिरेले निर्देशन गरिहेको चलचित्रको छायांकन गोरखाबाट सुरु भएको हो ।
‘दर्पणछाया–२’ पछि घिमिरेको यो पहिलो निर्देशकीय चलचित्र हो ।
पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्नेछ ।
विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहनेछ । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।
यसैबीच, सुरुमा यो चलचित्रमा वर्षा राउतले अभिनय गर्ने भनिए पनि अहिले प्रियंका कार्की जोडिएकी छन् ।
चलचित्रमा लेखन पनि तुलसी घिमिरेको छ । ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानको डीओपी, रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशकको रूपमा रहने छन् ।
रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको सिनेमा नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन् ।