site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विषादीको अवशेष देखिएको तरकारी खान अयोग्य हो ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार गरेको अनुगमनमा केही तरकारीमा विषादीको अवशेष मापदण्डभन्दा अधिक देखियो ।

यस्तो अवस्थाका तरकारी तीनदिन क्वारेन्टाइनमा राख्न विभागले निर्देशन दियो । चितवनबाट आयातित ११४ केजी हरियो सिमी बुधबारदेखि तीन दिन क्वारेन्टाइनमा रहनेछ । विभागका अनुसार सो सिमीमा इन्जाइम इन्हिविशन विषादीको अवशेष (रुकावट प्रतिशत) ४२ प्रतिशतसम्म पाइएको थियो ।

आलु, प्याज, गोलभेडा, साग, गाँजर, बोडी, चम्सुर, च्याउ, ब्रोकाउली, काउली, बन्दा, खुर्सानी, सुन्तलालगायत २२ प्रकारका फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिएको थियो ।

सो क्रममा न्यूनतम एकदेखि ४२ प्रतिशतसम्म इन्जाइम इन्हीविशन देखिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । ती तरकारी काठमाडौं, भक्तपुर, लतिलपुर, काभ्रे, तनहुँ, सिन्धुली, स्याङ्जा, गोर्खा, रामेछाप, सुनसरी, कास्की, पर्वत, नुवाकोट, धादिङ, पर्सा, सर्लाही, मकवानपुर, बारालगायत २० जिल्लाबाट भित्र्याइएका हुन् ।

भारतबाट ल्याइएको एक गाडी तरकारी समेत विभागले आरबीपीआर विधिबाट परीक्षण गरेको थियो ।

कालीमाटीबाहेक अन्य नाकाबाट भित्रिएका तथा स्थानीय उत्पादन अधिकांश तरकारीमा भने कुनै निकायको अनुगमन र परीक्षण हुँदैन । यसले तरकारी प्रयोगको हकमा आमनागरिक सुरक्षित छैनन् भन्ने देखाउँछन् ।

मापदण्डभन्दा बढी प्रतिशतमा इन्जाइम इन्हिविशन देखिनु भनेको तरकारीमा विषादी धेरै प्रयोग भएको छ भन्ने हो ? बाह्रखरीको प्रश्नमा विभागका प्रवक्ता महर्जन भन्छन्– इन्जाइम इन्हिविशन प्रत्यक्ष विषादीको मात्रा नभइ परीक्षणका क्रममा देखिएको विषादी अवशेषको दर हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको अवशेष, जसलाई रुकावट प्रतिशतमा मापन गरिन्छ, ३५ प्रतिशतभन्दा कम रहेको तरकारी तथा फलफूल उपभोग योग्य हुने मापदण्ड तोकेको छ ।

त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केहीदिन राख्ने र पर्खनेगरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टाइनमा राख्ने गरेको छ । तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई बिसर्जन नै गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

प्रवक्ता महर्जनका अनुसार इन्जाइम इन्हिविशन मापदण्डभन्दा बढी देखिनु तरकारी तत्काल खान योग्य छैन भन्ने नै हो । तर केहीदिन होल्ड गरेर सो तरकारी खान मिल्छ, निश्चित समय राखेपछि विषादीको मात्रा स्वतः घटेर जान्छ ।

तरकारी किनेर तत्काल फ्रिजमा नराख्न र विषादी बढी भए पनि त्यसको असर कम गर्न एकदेखि दुईदिन फ्रिजबाहिरै राख्न विज्ञहरू सुझाव दिन्छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro