काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका २८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा २५ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा एकजना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा दुईजना गरी २८ प्रहरी अधिकृत पदोन्नति भएका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको वृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।