site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा ऐन संशोधन : अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनले अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरेको हो ।

ऐन संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

संशोधित ऐनको व्यवस्थाअनुसार, यसअघि बिमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

Argakhachi Cement Island Ad

ऐन संशोधनको प्रस्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रिफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले बिमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनुपर्छ,’ भनेर व्याख्या गरिएको छ ।

यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम विन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संशोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

नियमावली संशोधन भएपछि कार्यरत स्थानबाट बिमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार, संशोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ ।

ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्म कार्यकारी निर्देशकको रूपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ ।

यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रूपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्