site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालमा चारदेशीय महिला फुटबल : म्यानमार सबैभन्दा बलियो, कुन छ कमजोर ?

काठमाडौं । नेपाली महिला फुटबल टिमले यो वर्षको पहिलो फिफा विन्डोमा नै चारदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक सञ्जालमार्फत नेपालले घरेलु मैदानमा चारदेशीय प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

एन्फाका अनुसार, यो प्रतियोगितामा नेपालसँगै म्यानमार, कीर्गिस्तान र लेबनानले सहभागिता जनाउनेछन् । प्रतियोगिता फेब्रुअरी १७ देखि २६ सम्म अर्थात् फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ ।

सबैभन्दा बलियो म्यानमार, कुन टिम छ वरीयतामा कमजोर ?
चारदेशीय प्रतियोगिताका निम्ति नेपाल आउनेमध्येमा म्यानमार सबैभन्दा बलियो टिम हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा म्यानमार ५५औँ स्थानमा छ ।

नेपाली टिमले सन् २०१८ यता म्यानमारविरुद्ध चार खेल खेल्दा तीनमा हार व्यहोरेको छ । नेपाली महिला टिमले सन् २०१८ र २०१९ मा ओलिम्पक एसिया छनोटमा म्यानमारविरुद्ध प्रतिस्पर्धा गरेको थियो । २०१८ को नोभेम्बरमा भएको पहिलो चरणमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । २०१९ को अप्रिल ३ मा भएको दोस्रो चरणमा भने नेपाललाई म्यानमारले ३–१ ले हराएको थियो ।

यस्तै, नेपालले २०१९ मा भारतले आयोजना गरेको गोल्डकपमा म्यानमारविरुद्ध दुई खेल खेलेको थियो । प्रतियोगिताको पहिलो खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो । प्रतियोगिताको फाइनलमा पनि म्यानमारले नेपाललाई ३–१ ले हराउँदै उपाधि जितेको थियो ।

फिफा वरीयताको १०३औँ स्थानमा रहेको नेपाल प्रतियोगिताको दोस्रो बलियो टिम हो । नेपालले पछिल्लोपटक सन् २०१९ मा कीर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा नेपालले घरेलु टिम कीर्गिस्तानविरुद्ध ८–२ को सहज जित निकालेको थियो । त्यो खेलमा नेपालकी सावित्रा भण्डारीले ६ गोल गरेकी थिइन् । उक्त प्रतियोगिताको पनि फाइनलसम्म पुगेको नेपालले उपाधि भिड्न्तमा उज्वेकिस्तानविरुद्ध ३–२ को हार व्यहोरेको थियो ।

चारदेशीय प्रतियोगिताका निम्ति नेपाल आउन लागेकामध्ये सबैभन्दा कमजोर फिफा वरीयता भएको टिम हो, लेबनान । फिफा वरीयतामा लेबनान १३४औँ स्थानमा छ ।

नेपाली महिला टिमले लेबनानविरुद्ध पनि प्रतिस्पर्धा गरिसकेको छ । नेपालले पछिल्लोपटक साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले लेबनानविरुद्ध २–१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । उक्त प्रतियोगितामा पनि नेपाल उपविजेतामै सीमित बन्यो । प्रतियोगिताको फाइनलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro