site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य राखिएको ‘ऊर्जा विकास मार्गचित्र’ मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य लिइएको मार्गचित्र स्वीकृत भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडल समेत खुला भएको छ ।

Argakhachi Cement Island Ad

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्न बाटो खुला हुनेगरी विद्युत् आयोजनाका निम्ति सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिए ।

उक्त मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रारुपका जलविद्युत्हरूलाई अघि बढाउन मार्गप्रशस्त गरेको छ । मन्त्री खड्काले जुन मोडलमा जुन आयोजनामा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुनेगरी प्रक्रिया बढाउन अब बाटो खुला भएको बताए ।

सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६.५ अर्ब अमेरिकी डलर (६२ खर्ब ३१ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । लामो समयको छलफल र बहसपछि मन्त्रिपरिषद्‌बाट मार्गचित्र स्वीकृत कार्यविधि पास भएसँगै रोकिएर बसेका आयोजना धमाधम अगाडि बढाउन बाटो खुलेको छ ।

मार्गचित्रमा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सबस्टेसनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरण समेत समेटिएको छ । आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता समेत भएको र सोबाहेक बंगलादेशलगायत अन्य छिमेकी देशमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ ।

सन् २०३५ सम्ममा मुलुकको कुल जडित विद्युत् क्षमता नै २८ हजार ५००  मेगावाट पु¥याउने लक्ष्य राखिएकोमा हालसम्म करिब तीन हजार ४०० हाराहारीमा मात्र विद्युत् उत्पादन भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्