site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिमी कार्टरको नेपाल ‘कनेक्सन’, सातौंपल्ट आउने धोको अधुरै 

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार अमेरिकाको जर्जियास्थित प्लेन्समा उनको मृत्यु भएको हो । 

कार्टर छालाको क्यान्सरबाट पीडित थिए र उनी लामो समयदेखि उपचारत थिए । 

कार्टर अमेरिकाको ३९औं राष्ट्रपति हुन् । उनले २० जनवरी १९७७ देखि २० जनवरी १९८१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

Dabur Nepal
NIC Asia

उनी बदाम किसान हुँदै अमेरिकी राष्ट्रपतिको पदसम्म पुगेका थिए । राष्ट्रपतिको दोस्रो कार्यकालको लागि डेमोक्रेटिक पार्टीबाट चुनावी मैदानमा उत्रदा उनी रिपब्लिकन पार्टीका उमेदवार रोनाल्ड रेगनसँग नराम्रोसँग पराजित भएका थिए । 

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार उनले भियतनाम युद्धमा सामेल हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिएका थिए । उनी जलवायु परिवर्तनलाई गम्भीरताका साथ लिने पहिलो अमेरिकी नेता थिए ।

“उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । इरानमा बन्धक संकट र अफगानिस्तानमा सोभियत संघको आक्रमण रोक्न उनले संघर्ष गर्नुपरेको थियो,” कार्टरका विषयमा बीबीसीले लेखेको छ । 

कार्टरले सन् १९७९ मा चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेका थिए । यससँगै अमेरिका र चीनबीचको शत्रुतापूर्ण सम्बन्ध मित्रतामा बदलिएको थियो । 

चीनसँग मित्रताको हात बढाउँदा अमेरिकाले ताइवानसँगको सम्बन्ध तोड्नुपरेको थियो । फलस्वरुप अमेरिकाले ताइपेईमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो । ताइवानसँग सम्बन्ध तोडेर चीनसँगको मित्रतालाई अघि बढाउने जुन नीति अमेरिकाले लियो त्यो ‘एक चीन नीति’का रुपमा परिचित छ ।

चीनले अहिले यही नीति स्वीकार्ने देशहरूसँग मात्र दौत्य सम्बन्ध गास्ने गरेको छ ।

उनले विश्वभर लोकतन्त्र र मानवअधिकारका पक्षमा आवाज उठाउन कार्टर सेन्टर स्थापना गरेका थिए । सोही सेन्टर मार्फत विश्व शान्ति, जलवायु परिवर्तन र मानवअधिकारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

उनले सन् १९८२ मा स्थापना गरेको कार्टर सेन्टरले नेपालमा पनि काम गरेको थियो । सन् २००३ देखि कार्टर सेन्टरले नेपालमा काम गरेको थियो । 

कार्टर पहिलो पटक नेपाल ३८ वर्षअघि सगरमाथा क्षेत्रको पदयात्रा गर्न आएका थिए । त्यसपछि उनी सन् २००७ को जुन ११ देखि १६ सम्म नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनी नेपालको शान्ति प्रक्रियालाई सघाउने भन्दै आएका थिए । 

सन् २००७ को जुनमा नेपाल आउँदा कार्टरले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए  । 

“कार्टर सेन्टरले नेपालको ७५ मध्ये ७० जिल्लामा गरेको अवलोकन भ्रमणका क्रममा देखिएको प्रहरीको प्रभावहीनता र योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का अनुचित गतिविधिहरूप्रति मैले सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेको छु,” भ्रमणपछि अमेरिकी पूवराष्ट्रपति कार्टरले भनेका थिए, “माओवादी नेता प्रचण्डले यी रिपोर्टहरूको छानबिन गर्ने र समस्या समाधानका लागि कारबाही अघि बढाउने बाचा गरेका छन् ।” 

नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र, निर्वाचन, मानवअधिकार र आदिवासी, जनजाति तथा पिछडिएका वर्गहरुको हितका सम्बन्धमा कार्टरको चासो बढी नै रहेको थियो । उनका हरेक भ्रमणले यही पुष्टि गर्थे । 

सन् २००७ को नोभेम्बर २० देखि २४ सम्म नेपालको भ्रमण गर्दा पनि उनले यिनै मुद्दालाई केन्द्रमा राखेका थिए । संविधानसभाको निर्वाचनको मिति पटक–पटक सर्दा उनले चिन्ता व्यक्त गर्थे । 

माओवादी शान्ति प्रक्रियामा सहभागी भैसक्दा समेत अमेरिकाले उनीहरुलाई आतंककारीको सूचीबाट नहटाएकोमा कार्टरले असन्तुष्टि व्यक्त गरेका थिए । आतंकवादी सूचीबाट नहटाएकै कारण अमेरिकी राजदूतले माओवादी नेतासँग भेटवार्ता गर्न नपाएकोमा अझ बढी उनको असन्तुष्टि थियो ।

शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीले हिंसात्मक गतिविधिलाई निरन्तरता दिएकोमा उनले माओवादी नेताहरुलाई भेटेरै आपत्ति जनाएका थिए ।

कार्टरले सन् २००७ नोभेम्बर २२ का दिन नेपालको संसदलाई सम्बोधन गरेका थिए । सम्बोधनको सुरूमै कार्टरले भनेका थिए, “म र मेरी श्रीमती पहिलो पटक पर्यटकको रूपमा आएको नेपाल फर्कनु मेरो लागि ठूलो सम्मानको कुरा हो । म त्यतिबेला ६० वर्षको थिएँ र त्यो बेला पोखरा क्षेत्र घुम्न पाउनु र सगरमाथाको आधार शिविर पुग्न पाउनु निकै रोमाञ्चक थियो । ह्वाइट हाउसबाट भर्खरै निस्किएपछि शाही परिवार र राजनीतिक नेताहरू, साथै अद्भुत शेर्पा गाइडहरूलाई भेट्ने र उच्च पहाडहरूमा रहेका गुम्बाहरूमा रमाइलो भ्रमण गर्ने सुअवसर पाएको थिएँ ।” 

संसदलाई सम्बोधन गर्ने क्रममा कार्टरले नेपालको शान्ति र मेलमिलापको प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले ठूलो उत्साहका साथ हेरिरहेका बताएका थिए । तर दुईवटा निर्धारित निर्वाचन स्थगन र विस्तृत शान्ति सम्झौताका धेरै सर्तहरू कार्यान्वयन गर्न सरकार  असफल हँुँदा चिन्ता पनि व्यक्त गरिरहेको उनले जनाएका थिए ।

“यद्यपि, पहिले द्वन्द्वका दुई पक्षहरु अहिले निजी वार्ता र सार्वजनिक बहसको माध्यमबाट मतभेदहरू हटाउन निरन्तर लागिरहेकोमा म गर्व गर्छु,” कार्टरले भनेका थिए । उनको सम्बोधन नेपालको शान्ति प्रक्रियामा केन्द्रित थियो । 

कार्टरले सन् २००८ मा पनि नेपालको भ्रमण गरेका थिए । सन् २००८ को अप्रिल ६ देखि १४ सम्म उनले नेपाल भ्रमण गरेका थिए । सन् २००८ अप्रिल १० मा भएको संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न उनी नेपाल आएका थिए । 

उक्त निर्वाचनको थुप्रै मतदान केन्द्रहरुमा उनी आफैँ गई मतदाताहरूसँग कुराकानी गरेका थिए । 

निर्वाचनअघि उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँग भेटघाट गरेका थिए । 

“हाम्रो प्राथमिक चिन्ता माओवादीहरू कमजोर नहुन भन्ने थियो, ताकि उनीहरुले फेरि हतियार नउठाउन् । तर निर्वाचनको नतिजाले उनीहरुले ठुलो जित हासिल गर्ने स्पष्ट देखायो,” निर्वाचनपछि कार्टरले भनेका थिए । निर्वाचनबाट सबैभन्दा ठूलो पिडा नेकपा एमालले भोगेको बुझाई उनको थियो । 
निर्वाचनको परिणाम आउन थालेपछि कार्टरले प्रमुख दलका नेताहरू र दुई पुराना राजावादी समूहहरूसँग भेट गरेका थिए । अत्यन्त सुरक्षित मानिएका निर्वाचन क्षेत्रमा आफ्ना परिवारका सदस्य पराजित हुँदा तत्कालीन प्रधानमन्त्री कोइराला अत्तालिएको उनले पाएका थिए । 

दुवै क्षेत्रबाट निर्वाचन हारेका कारण एमालेका तत्कालीन महासचिव नेपालले पदबाट राजीनामा गरेका थिए ।  

“हामीले प्रचण्ड र बाबुराम भट्टराईलाई जितमा विनम्र बन्न, अन्य दलहरूप्रति उदार हुन र गठबन्धन सरकार गठन गर्ने आफ्नो विगतको प्रतिबद्धता कायम राख्न आग्रह गरेका छौं,” कार्टरले भनेका थिए ।

सन् २००८ मा भएको संविधानसभा निर्वाचनका बेला देशभरका थुप्रै मतदान केन्द्रको कार्टर सेन्टरले अनुगमन गरेको थियो । सबैतिरबाट रिपोर्ट आएपछि सेन्टरले पत्रकार सम्मेलन गरी निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको थियो । 

संविधानसभाको निर्वाचनपछि पनि कार्टरले नेपालको विकसित राजनीतिक घटनाक्रम, संविधान लेखन प्रक्रिया र शान्ति प्रक्रियामा निरन्तर चासो राख्दै आएका थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्दा उनी दुःखी बनेका थिए । 

संविधानसभाको निर्वाचन अन्योलमा परिहरेका बेला उनी सन् २०१३ मार्च २९ मा नेपाल आइपुगेका थिए । 

“माओवादी विद्रोह र राजतन्त्रबाट नेपाल लोकतान्त्रिक गणतन्त्रको संक्रमणकालमा प्रवेश गर्दा म चारपटक नेपाल आएको छु,” त्यतिबेला कार्टरले भनेका थिए । 

उनको भ्रमण संख्याले पनि नेपाललाई उनले कति महत्व दिएका थिए स्पष्ट देखाउँथ्यो । 

जनवरी २०११ मा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन फर्किएपछि नेपालको शान्ति प्रक्रिया पर्यवेक्षण गर्ने कार्टर सेन्टर एक मात्र अन्तर्राष्ट्रिय पर्यवेक्षक समूह नेपालमा रहेको दाबी कार्टरले गरेका थिए । 

नेपालको रितिरिवाज, संस्कृति र सार्वभौमसत्ताको सम्मान गर्दै र सजग रहँदै शान्ति, लोकतन्त्र र मानवअधिकारको सम्मान गर्ने आफ्नो प्रयास हुने उनले बताएका थिए । 

निकट भविष्यमा हुन गइरहेको संविधानसभा निर्वाचनमा दलहरूलाई प्रोत्साहन गर्न तथा शान्ति प्रक्रियाको अनुगमन गर्न काठमाडौं आएको उनले जनाएका थिए । 

काठमाडौ आएलगत्तै कार्टरले शीतलनिवास पुगी तत्कालीन राष्ट्रपति रामवरण यादवसँग भेट गरेका थिए । 

भेटमा उनले शान्ति प्रक्रिया, संविधान सभा निर्वाचनलगायतका विषयमा जिज्ञासा राखेका थिए । पाँचदिने भ्रमणका बेला उनले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, प्रमुख दलका शीर्ष नेता, नागरिक समुदायका अगुवालगायतसँग भेटवार्ता गरेका थिए ।

“हिंसामा लिप्त तथा मतदाता नामावली दर्ता प्रक्रियामा अवरोध पुर्‍याउँदै आएका पार्टीका नेतासँग पनि भेट गर्यौं,” नेपाल भ्रमण सकेर फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा कार्टरले तत्कालीन नेकपा–माओवादीका नेता मोहन वैद्यसँगको भेटबारे बताएका थिए, “हामीसँग मानवता विरोधी कुनै पनि प्रकारको हिंसा नगर्ने र मतदाता नामावली दर्ता प्रक्रियामा कुनै अवरोध नपुर्‍याउने आश्वासन दिएका छन् ।” 

वैद्यले हिंसा नगर्ने र मतदाता नामावली दर्ता प्रक्रिया नबिथोल्ने आश्वासन दिएको भोलिपल्ट ६ जना निर्वाचनसँग आवद्ध व्यक्तिलाई ६ घण्टा अपहरण गरेको खबर कार्टरले पाएका थिए । 

“अपहरण गम्भीर अपराध हो । जनताको अधिकार तथा स्वतन्त्रताको हनन् गर्नु अपराध हो । राजनीतिक स्वार्थ पूरा गर्न यदि यस्तो गरिएको हो भने यो विगत पाँच वर्षयता जनताप्रति गरिएको प्रतिवद्धता विरुद्ध हुनेछ,” अमेरिकी पूर्वराष्ट्रपति कार्टरले स्पष्ट शब्दामा त्यतिबेला भनेका थिए । 

अमेरिकी पूर्वराष्ट्रपति कार्टरले तत्कालीन नेकपा–माओवादीसँग जम्मा दुईवटा विकल्प रहेको जनाएका थिए– सरकारको निर्णयलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुने वा विथोल्न खोजे प्रहरी लगाई उनीहरुलाई निर्वाचनबाट अलग्याउने । यदि निर्वाचनमा प्रक्रियामा बाधा अड्चन पुर्‍याउने प्रयास गरे उनीहरुलाई पक्राउ गरी कारवाही गर्नुपर्ने धारणा उनको थियो । 

प्रधानन्यायाधिश खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकार पूर्णरूपमा संवैधानिक नभए पनि यो एउटा अवस्थाले सृजना गरेको बुझाइ कार्टरको थियो । 

कार्टर सेन्टरले सन् २००८ मा गरेको संविधानसभा निर्वाचनको अनुगमनप्रति विभिन्न संघसंस्था तथा दलहरूले प्रश्न उठाइरहेका बेला सेन्टरका संस्थापक कार्टरले सन् २०१३ मा आउँदा त्यसको बचाउ गरे । 

उनले भनेका थिए, “गएको संविधान सभा निर्वाचन पूर्ण थिएन । तर मेरो बुझाइमा त्यो हदैसम्म निष्पक्ष र सफल निर्वाचन हो ।” 

दोस्रो संविधानसभा निर्वाचन सन् २०१३ नोभेम्बर १३ मा गर्ने सरकारले घोषणा गरेपछि कार्टर निर्वाचनका अनुगमन गर्न नेपाल आएका थिए । उनले सन् २०१३ नोभेम्बर १४ देखि २३ सम्म नेपालको भ्रमण गरेका थिए । 

नेपाल आएलगत्तै उनले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका थिए । 

“विवादास्पद मुद्दा कायमै छन्, नयाँ संविधानसभा बनेपछि नेपालको राजनीति कसरी बढ्छ ?,” तत्कालीन राष्ट्रपति यादवसँगको भेटमा कार्टरले जिज्ञासा राखेका थिए । 

कार्टरले जिज्ञासा राखेपछि यादवले अघिल्लो संविधानसभामा सहमति भएका विषयलाई पहिला लिपिवद्ध गरी राख्ने र त्यसपछि संघीयता, शासकीयस्वरुप, निर्वाचन प्रणाली, नागरिकतालगायतका विवादास्पद मुद्दामा प्रवेस गर्ने जनाएका थिए ।

यादव र कार्टरबीच खासगरी शासकीयस्वरूपका विषयमा छलफल गरेका थिए ।

वेस्ट मिस्टर मोडल (बेलायती), राष्ट्रपतीय प्रणाली (अमेरिकी), फ्रेन्च मोडल, जमर्न मोडललगायतका शासकीयस्वरूपमा उनीहरूले छलफल गरेका थिए । 

विभिन्न प्रकारका शासकीय स्वरुपका विषयमा छलफल भए पनि कार्टरले कुनै एक मोडल अपनाउन सुझाएनन् ।

सन् २०१३ को नोभेम्बरमा आउँदा कार्टरले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनको मतगणना चलिरहेका बेला निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै तत्कालीन एकीकृत नेकपा माओवादीले मत गणनास्थलबाट आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएको थियो । 

माओवादीले संविधानसभामा नजाने निर्णसमेत गरेको थियो । माओवादीको उक्त निर्णयबाट आफु दुःखी भएको कार्टरले बताएका थिए । 

“माओवादीले मतगणना प्रक्रिया अस्वीकार्य गर्दै केन्द्रबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाएको सुन्दा मलाई एकदमै दुःख लागेको छ,” कार्टर सेन्टरले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्टरले भनेका थिए, “निर्वाचनको दिनमा नेपाली जनताले दिएको जनादेशको सम्मान उनीहरूले गर्नेछन् भन्ने विश्वास मलाई लागेको छ ।” 

निर्वाचनमा भएका गल्ती भविष्यमा सच्याउन सकिने जनाउँदै कार्टरले विगतका पाँच वर्षमा माओवादीमा आएको परिवर्तनबाट आफु प्रभावित भएको उनले जनाएका थिए । 

माओवादीले लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिने आशा त्यतिबेला उनले व्यक्त गरेका थिए । 

“हिंसात्मक विरोधबाट टाढै रही मत परिणामप्रतिको असन्तुष्टि माओवादीले शान्तिपूर्ण रुपमा व्यक्त गर्ने आशा मैले लिएको छु,” कार्टरले भनेका थिए । 

मतगणना कार्यलाई निरन्तरता दिन उनले माओवादीलाई आग्रह गरेका थिए । आरोप जे जस्ता भए पनि निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको भनाइ उनको थियो । 

सन् २०१३ नोभेम्बरमा सम्पन्न निर्वाचनलाई कार्टरले अघिल्लो संविधानसभाको निर्वाचनभन्दा राम्रो भएको जनाएका थिए । 

आक्रोश हुँदा हुँदै पनि संविधानसभाबाट संविधान जारी गर्ने कार्य पूरा गर्न जनता मतदातानमा सहभागी भएको बुझाई उनको थियो । आपसी असहमति हटाउँदै संविधान लेखन कार्य पूरा गर्न उमेदवारलाई निर्वाचनका दिन जनताले दिएको मतले नयाँ ऊर्जाको रूपमा काम गर्ने भनाई उनको थियो ।

पत्रकार सम्मेलन सकिएपछि कार्टरलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड  होटल र्‍याडिसन पुगेका थिए । 

कार्टर र दाहालबीच ‘वान अन वान’ आधा घण्टा कुराकानी भएको थियो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले शान्ति तथा लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो पार्टी बाहिर नजाने बताएका थिए । 

निर्वाचनप्रति माओवादीले असन्तुष्टि जनाइरहेका बेला कार्टर सेन्टरले पूर्ण प्रतिवेदन सार्वजनिक गर्दै दोस्रो संविधानसभा निर्वाचनको नतिजा विश्वसनीय भएको दाबी गरेको थियो । निर्वाचन सम्पन्न भएको पर्सीपल्ट प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरी कार्टर स्वदेश फर्केका थिए । कार्टरले निर्वाचन निष्पक्ष भएको भनी स्वदेश फर्केको एक महिनापछि सेन्टरले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको थियो । 

“निर्वाचन आयोगको कार्यविधिअनुसार नै निर्वाचन सम्पन्न र मतगणना भएको छ । आयोगले सार्वजनिक गरेको निर्वाचनको नतिजा विश्वसनीय छ,” प्रतिवेदनमा भनिएको थियो ।  

दोस्रो संविधानसभा निर्वाचनपछि पनि विवादस्पद मुद्दा सुल्झाउन प्रमुख दलका शीर्ष नेताहरु सक्रिय नभएकोप्रति कार्टर सेन्टरले असन्तुष्टि जनाएको थियो । 

सन् २०१४ जुलाई १ मा विज्ञप्ति जारी गर्दै सेन्टरले नेताहरू सक्रिय नहुँदा जनता चिन्तित बनेको बताएको थियो । 

शान्ति प्रक्रिया र संविधान लेखनप्रति मात्र होइन अमेरिकी पूर्वराष्ट्रपति कार्टरले २५ अप्रिल २०१५ मा विनाशकारी भूकम्प जाँदा पनि नेपालप्रति चासो बढाएका थिए । 

उनले त्यतिबेला नेपालका भूकम्प पीडितलाई सहयोग दोब्बर पार्न अन्तर्राष्ट्रिय समुुदायलाई आह्वान गरेका थिए । उनले नेपालको पुनःनिर्माणका लागि स्पष्ट दीर्घकालीन योजना बनाएर सहयोगी हात अघि बढाउन आग्रह गरेका थिए । 

यो संकटबाट देशलाई मुक्ति दिलाउन आपसी असमझदारी हटाई सहकार्य गर्न नेपालका राजनीतिक दलहरुलाई उनले आग्रह गरेका थिए ।

भूकम्प पीडितको लागि आवश्यक घर निर्माण गर्ने उदेश्यले अमेरिकी पूर्वराष्ट्रपति कार्टर सन् २०१५ नोभेम्बर १ देखि ६ सम्म नेपाल आउने कार्यक्रम तय गरिएको थियो । 

तर संविधानसभाबाट जारी भएको संविधानलाई लिएर नेपालको तराई–मधेश क्षेत्रमा आन्दोलन चर्किएपछि उनको उक्त नेपाल भ्रमण कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि उनी अस्वस्थ रहे । उनको सातौं पटक नेपाल आउने चाहना अधुरै रह्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro