site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भीम रावल र कर्ण मल्लबीच के संवाद भयो ?

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भीम रावल र नेपाली कांग्रेसबाट तीन वर्षअघि निष्कासित कर्ण मल्लबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा राजनीतिकरूपमा नयाँ समझदारी निर्माण गरेर जाने विषयमा छलफल भएको मल्लले जानकारी दिए ।

“उहाँ सुदूरपश्चिमको मान्छे, राष्ट्रियस्तरको नेता । मलाई तीन वर्षअघि शेरबहादुर देउवाले निकालेको, उहाँलाई केही दिनअघि केपी ओलीले निष्कासित गरेको,” मल्लले बाह्रखरीसँग भने, “न उहाँ बीपी कांग्रेसमा आउने कुरा भएको हो, न मिलेर नयाँ पार्टी खोल्ने सहमति बनेको हो ।” 

उनले आफूले व्यक्तिगत, सामाजिक, भौगोलिक र राजनीतिकरूपमा पनि भेट्न उपयुक्त लागिर भेट्न गएको बताए । अगाडिको राजनीतिबारे नेता रावलले पत्रकार सम्मेलनमा बताउने उनको भनाइ छ ।

“राजनीतिकरूपमा पनि जान सकिन्छ कि भन्ने विषयमा पनि हामी दाजुभाइको भेटमा छलफल भएको हो । त्यो छलफल सकारात्मक ढंगले प्रारम्भ भएको छ,” मल्लले भने, “बाँकी कुरा भोलि पर्सि उहाँले पत्रकार सम्मेलन राख्दै हुनुहुन्छ, बाँकी कुरा तपाईंहरूले थाहा पाइहाल्नुहुनेछ ।”

मल्लले ‘नेपाल र नेपालीको स्वाभिमान, नयाँ ढंगले सुरु गरौँ कि अभियान...?’ भनेर फेसबुक वालमा भेटपछिको फोटो सार्वजनिक गरेका छन् ।

रावल र कर्णसँगै भेटमा सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशी पनि सहभागी थिए ।

तत्कालीन अवस्थामा मल्ल डडेलधुरा जिल्ला सभापति थिए । देउवाले उनलाई जिल्ला अधिवेशनमा सहभागी नगराएर महाधिवेशनबाट वञ्चित गरेका थिए । देउवाले ०७९ वैशाखमा स्थानीय चुनावका लागि अर्को पार्टीका उमेदवार उचालेको आरोप लगाएर पार्टीबाट निष्कासित गरेका थिए । त्यसयता उनी नेपाली कांग्रेस बीपी पार्टीको उपसभापतिका रूपमा सक्रिय छन् ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro