
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूमाथि अमानवीय व्यवहार गरिएको बताएका छन् । आइतबार (जेठ १८) काठमाडौंमा प्रदर्शनक्रममा आफूहरूले निषेधित क्षेत्र र कानुन नतोडेको उनले उल्लेख गरेका छन् ।
“धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति,” थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ ।”
उनले कटाक्षपूर्ण रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद भनेका हुन् ।
दमन र निषेधले विचार नमर्ने पनि उनले बताएका छन् । “भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ,” उनले लेखेका छन् ।
आइतबार राजावादीको प्रदर्शनक्रममा काठमाडौंको नक्साल क्षेत्रबाट उनीसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थापालाई आइतबारै बेलुका हिरासतमुक्त गरिएको थियो ।