site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विक्रम लामामाथि आक्रमणको मुख्य योजनाकार लक्ष्मी ! मनाङेका सहयोगीको भूमिका के थियो ?

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण घटनामा गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का सहयोगी नै पक्राउ परेपछि अनुसन्धानले अर्को मोड लिएको छ । विक्रममाथिको घटना ज्यान मार्ने उद्देश्य र आपराधिक समूहले सुपारी दिएर गराएको निष्कर्ष निकालेको प्रहरीले शनिबार मनाङेका सहयोगी टीका भण्डारीलाई पक्राउ गरेको हो ।

यसअघि, प्रहरीले विक्रममाथि आक्रमण गर्ने नुवाकोटका मार्सस भनिने शैलेन्द्र तामाङ र गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पक्राउ गरेको थियो । विक्रममाथि आक्रमण घटनालाई प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धान थालेको छ । घटना घटेको करिब दुई महिनापछि भण्डारी पक्राउ परेका हुन् ।

नुवाकोटका विक्रममाथि कात्तिक ११ गते उनको अफिस नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । घटनामा प्रत्यक्ष संलग्न शैलेन्द्र र निश्चलबाहेक अझै दुईजना फरार छन् ।

Dabur Nepal
NIC Asia

पक्राउ परेकाहरूको बयानका अधारमा विक्रममाथि ज्यान मार्ने उद्देश्यले नै आक्रमण भएको खुलेको हो । प्रहरीको अनुसन्धानका क्रममा अजय तामाङको योजनाअनुसार पक्राउ परेका निश्चल र शैलेन्द्र तामाङसहित अर्का फरार आरोपित दीपक बरामुले आक्रमण गरेको खुलेको हो ।

लामो सयमदेखि घरजग्गा व्यवसाय गर्दै आएका विक्रममाथि गाडी पार्किङ गरेर झरेलगत्तै अजय लामासहित चार जनाको समूहले आक्रमण गरेका थिए । आक्रमण गर्ने समूह र विक्रमबीच कुनै दुस्मनी नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले समेत सुपारी लिएर विक्रममाथि आक्रमण गरेको निष्कर्ष प्रहरीले निकालेको छ । अजय लामा समूहको आक्रमणमा परेको विक्रमको टाउकोमा गम्भीर चोट लागेको थियो । करिब एक महिना चक्रपथस्थित ग्रिन सिटी अस्पतालमा भर्ना भएका विक्रम हाल डिस्चार्ज भएका छन् ।

प्रहरीले फरार अजय र दीपकको खोजी तीव्र पारिएको जनाएको छ । उनीहरू भारत भागेको आशंका प्रहरीले गरेको छ । अजयले तीन साथीलाई प्रलोभनमा पारेर विक्रममाथि आक्रमण गर्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

लक्ष्मी राईको योजनामा आक्रमण !

प्रहरीको अनुसन्धानका क्रममा विक्रम लामाकै दाइ दीपेश लामासँग सम्बन्धविच्छेद भएकी लक्ष्मी राईको योजनामा विक्रममाथि आक्रमण भएको खुलेको छ । हाल लक्ष्मी लन्डन गइसकेकी छन् ।

प्रारम्भिक अनुसन्धानमा नेपाल र लन्डनको समेत पासपोर्ट प्रयोग गर्ने लक्ष्मीकै योजनामा विक्रममाथि आक्रमण भएको देखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका टीका भण्डारी र लक्ष्मीको पटक–पटक सम्पर्क देखिएपछि उनी पक्राउ परेका हुन् । प्रहरीको प्रारम्भिक बयानमा टीका भण्डारीले आक्रमणमा आफू संलग्न नरहेको बताएका छन् ।  

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसँग टीकाले भनेका छन्, ‘‘लक्ष्मी राईलाई मैले दिदी बनाएको छु । त्यसैको आधारमा सम्पर्क भएको हो । विक्रममाथि भएको घटनामा मेरो संलग्नता छैन् ।’’

विक्रममाथि आक्रमण भएको दोस्रो दिनमा लक्ष्मी लन्डन उडेका थिइन् । उनलाई समेत पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, लन्डन भएका कारण उनी जोगिएका छन् ।

विक्रम घाइते भएर अस्पताल भर्ना भएका बेला समेत टीका आफैँ विक्रमलाई भेट्न अस्पताल पुगेका थिए । उनले त्यहीबेला घटनामा लक्ष्मीको योजना अनुसार नै भएको र आफूविरुद्ध उजुरी नदिन अनुरोध गरेका थिए । टीकाबाहेक दीपक मनाङेसमेत विक्रमलाई भेट्न पुगेका थिए ।

मनाङेले भने घटनामा आफ्ना सहयोगीको भूमिकासमेत शंकास्पद देखिए कानुनी दायरामा ल्याउन सुझाएका थिए । प्रहरीको अनुसन्धानका क्रममा कुटपिट गर्ने चार युवासँग विक्रमको कुनै रिसइबी नदेखिएपछि सुपारी दिएर आक्रमण भएको खुलेको थियो ।

हाल प्रहरीको थुनामा रहेका निश्चल र शैलेन्द्र दुवैले आफूहरूलाई घटनाबारे धेरै जानकारी नरहेको र सुपारीको विषयमा अजयलाई मात्रै थाहा भएको बयान दिएका छन् । प्रहरीको अनुसन्धानका क्रममा अजय र लक्ष्मीको समेत कनेक्सन देखिएको छ ।

लक्ष्मीले अजयलाई विक्रममाथि आक्रमण गर्न सुपारी दिएको आंशका गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा लक्ष्मीले दीपेशसँग सम्बन्धविच्छेद हुनुको कारण विक्रम रहेको भन्दै अजयसहितका आपराधिक समूहलाई प्रयोग गरेको खुलेको छ । विक्रमका दाइ दीपेशसँग लन्डनमै विवाह गरेकी लक्ष्मी सुन व्यवसायी हुन् ।

प्रहरीका अनुसार, उनी नेपाल र लन्डन आवतजावत गर्ने गर्थिन् । तर, नेपाल आएका बेला लक्ष्मीको अन्य पुरुषसँगसमेत सम्बन्ध रहेको विक्रमले थाहा पाएपछि दाइ दीपेशलाई लक्ष्मीबारे जानकारी गराएका थिए ।

सोही कारण दीपेशले आफूलाई सम्बन्धविच्छेद गरेको प्रतिशोध लिन लक्ष्मीले आपराधिक समूहलाई सुपारी दिएका हुन् । लक्ष्मी राईले दीपेशसँग विवाह गर्नुअघि समेत सम्बन्धविच्छेद गरेको खुलेको छ ।

विक्रममाथि आक्रमण गर्नुअघि समेत फरार अजयसहितको समूहले लागुऔषध मुद्दामा फसाउने प्रयास गरेका थिए । त्यसका लागि उनीहरूले विक्रम लामाले पार्किङ गरेर राखेको गाडीभित्र लागुऔषध राख्ने र आफैँले प्रहरीलाई सूचना दिने योजना बनाएका थिए ।

पक्राउ परेका आरोपितले उक्त योजनाबारे प्रहरीलाई बयान दिएका छन् । त्योबाहेक विक्रम सुन तस्करीमा संलग्न रहेको गलत सूचना प्रहरीलाई दिएका थिए । प्रहरीले समेत गलत सूचनाकै आधारमा आफूलाई दु:ख दिएको विक्रमको गुनासो छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro