
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । यो जानकारी अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीले दिएको हो । एम्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९२ वर्षीय मनमोहन सिंह बिहीबार साँझ घरमै अचानक बेहोस भएका थिए ।
त्यसपछि उनलाई गम्भीर अवस्थामा एम्सको आपतकालीन विभागमा पुर्याइएको थियो । मनमोहन सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । उनको व्यक्तिगत छवि एकदम सफा थियो ।
भारतमा आर्थिक सुधारको श्रेय उनलाई जान्छ । सन् २००४ देखि २०१४ सम्म उनी भारतको प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी भारतको अर्थमन्त्री भइसकेका थिए । अर्थमन्त्री हुँदा होस् या प्रधानमन्त्री उनले आर्थिक सुधारका धेरै कार्यहरु गरेका थिए ।
मनमोहन सिंहको नाममा अर्को उपलब्धि पनि दर्ता छ, त्यो हो– उनी जवाहरलाल नेहरूपछि पहिलो भारतीय थिए, जो लगातार दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । मनमोहन सिंहले सन् १९८४ मा भएको सिख दंगाका लागि संसदमा माफी मागेका थिए । सन् १९८४ को सिख दंगामा करिब ३ हजार सिख मारिएका थिए ।
प्रधानमन्त्रीको रुपमा मनमोहन सिंहको दोस्रो कार्यकाल बढी नै चर्चित रह्यो । यो अवधिमा धेरै भ्रष्टाचारका घटना बाहिर आए । यी घोटालाका कारण २०१४ को आमचुनावमा कांग्रेसले पराजय भोग्नुपरेको धेरैको विश्वास छ ।
पञ्जाबमा जन्म, क्याम्ब्रिजबाट मास्टर्स
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तमा भएको थियो । यो भाग अहिले पाकिस्तानमा छ । पञ्जाब विश्वविद्यालयबाट पढेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र अक्सफोर्डबाट पीएचडी गरेका थिए ।
मनमोहन सिंहकी छोरी दमन सिंहले आफ्नो पुस्तकमा क्याम्ब्रिजमा पढ्दा आर्थिक संकटबाट गुज्रिएको उल्लेख गरेकी छन् । दमन सिंहले लेखेकी छन्, “उनको ट्युसन र बस्ने खर्च वार्षिक ६०० पाउण्ड थियो । पञ्जाब युनिभर्सिटीको छात्रवृत्तिबाट उनले करिब १६० पाउण्ड प्राप्त गर्थिन् । बाँकी रकमको लागि उनी आफ्नो बुबामा निर्भर थिइन् । मनमोहनले आफ्नो जीवन अत्यन्त सादगी र मितव्ययीताका साथ बिताउँथे । डाइनिङ हलमा अनुदानको खाना निकै सस्तो थियो ।”
दमन सिंहले आफ्नो बुबालाई ‘घरको काममा पूर्णतया असहाय’ भनेर वर्णन गरेकी छन् । दमनका अनुसार उनी ‘न अण्डा उसिन्न सक्थे न टीभी खोल्न नै सक्थे’ ।
सहमति बनाउने नेता
मनमोहन सिंह सन् १९९१ मा भारतको अर्थमन्त्री भएका थिए । उनी जतिबेला भारतको अर्थमन्त्री भए त्यो समयमा भारतको आर्थिक अवस्था निकै नाजुक थियो ।
अर्थमन्त्रीमा अप्रत्याशित नियुक्तिले उनको जीवनमा नयाँ उचाइ दियो । उनले शिक्षाविद् र कर्मचारीको रूपमा मात्र काम गरेनन्, सरकारको आर्थिक सल्लाहकारको रूपमा पनि योगदान गरे र भारतीय रिजर्भ बैंकको गभर्नर पनि भएका थिए ।
अर्थमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा उनले भिक्टर ह्युगोलाई उद्धृत गर्दै भने, “यो संसारको कुनै पनि शक्तिले त्यो विचारलाई रोक्न सक्दैन जसको समय आएको छ ।”
यो भाषण नै उनको महत्वाकांक्षी र अभूतपूर्व आर्थिक सुधार कार्यक्रमको सुरुवात थियो । उनले कर कटौती गरे, रुपैयाँको अवमूल्यन गरे, सरकारी कम्पनीहरूलाई निजीकरण गरे र विदेशी लगानीलाई बढावा दिए ।
यसका कारण अर्थतन्त्रमा सुधार आयो, उद्योगहरूको तीव्र वृद्धि भयो, बढ्दो मुद्रास्फीति नियन्त्रण भयो र सन् १९९० को दशकमा विकासको वृद्धिदर निरन्तर उच्च रह्यो ।
‘एक्सिडेन्टल पीएम’
मनमोहन सिंहलाई आफूसँग राजनीतिक जनाधार नभएको राम्रैसँग थाहा थियो । यसैकारण उनले भनेका थिए, ‘राजनीतिज्ञ बन्नु राम्रो कुरा हो । तर लोकतन्त्रमा राजनीतिज्ञ बन्नका लागि पहिला चुनाव जित्नुपर्छ ।’
तर सन् १९९९ मा लोकसभा चुनाव जित्ने प्रयास गर्दा उनी निराश भए । तर कांग्रेसले उनलाई लामो समय निराश हुन दिएन । कांग्रेसले उनलाई राज्यसभामा पठायो । २००४ मा पनि त्यस्तै भयो । तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बने ।
त्यतिबेला सोनिया गान्धीमाथि उनको विदेशी मूल भएको भन्दै प्रश्न उठाइएको थियो । आलोचकहरूले सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री भए पनि वास्तविक शक्ति सोनिया गान्धीको हातमा रहेको बताएका थिए । मनमोहन सिंहको प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता गरेर हात पारेका थिए ।
उनको पालामा यो ऐतिहासिक सम्झौता भएको थियो र त्यसैको कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पायो । तर यो सम्झौताको मूल्य भने चुकाउनु पर्यो । मनमोहन सिंह सरकारलाई समर्थन गर्ने वाम दलहरूले आफ्नो समर्थन फिर्ता लिए ।
त्यतिबेला कांग्रेसले बहुमत जुटाउन संघर्ष गर्नुपरेको थियो । अन्य दलको समर्थन लिनुपर्यो । यसै क्रममा कांग्रेसमाथि सांसद किन्न पैसा खर्च गरेको आरोप समेत लागेको थियो । मनमोहन सिंह आम सहमतिको पक्षमा थिए । उनले जतिबेला गठबन्धन सरकारको जिम्मेवारी सम्हालेका थिए त्यतिबेला गठबन्धनमा रहेका दललाई मनाउन निकै गाह्रो थियो ।
उनी ‘स्ट्रेट फरवार्ड’ थिए । मनमोहन सरकारलाई समर्थन गर्ने क्षेत्रीय दलहरूले पनि आफ्ना मागहरू बढाइरहेका थिए । अन्य समर्थक दलहरु पनि यही सिको गर्दै थिए । र अन्तत सरकार जोगाउन सफल भएका थिए ।
मनमोहन सिंहले आफ्नो विश्वसनीयता र बुद्धिका कारण धेरै सम्मान पाएका थिए ।
उनी नरम व्यक्ति मानिन्थे । यसैकारण धेरैले उनलाई निर्णय लिन असक्षम छन् भन्थे । केही आलोचकहरूले त उनको कार्यकालमा आर्थिक सुधारको गति सुस्त भयो समेत भनेका थिए । त्यतिमात्र होइन उनले अर्थमन्त्री हुँदा सुरु गरेका आर्थिक सुधारका कार्यक्रम प्रधानमन्त्री हुँदा अगाडि बढाउन नसकेको समेत आरोप लगाएका थिए ।
मनमोहन सिंहको नेतृत्वमा कांग्रेसले सन् २००९ मा दोस्रो पटक निर्णायक चुनाव जित्यो । तर विजयको चमक छिटै नै फिका बन्यो । उनको दोस्रो कार्यकाल गलत कारणले समाचारमा रह्यो । उनको मन्त्रिपरिषद्का धेरै मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो ।
देशलाई अरबौं डलर नोक्सान भयो । विपक्षीहरूले संसद अवरुद्ध गर्ने क्रम जारी राखे र नीतिगत गतिरोधका कारण देशले गम्भीर आर्थिक मन्दीको सामना गर्नुपर्यो । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणीले सिंहलाई भारतको ‘कमजोर प्रधानमन्त्री’ भनेका थिए ।
यसमा मनमोहन सिंहले आफ्नो कार्यकालको बचाउ गर्दै भनेका थिए, “आफ्नो सरकारले देश र जनताको हितको लागि पूर्ण प्रतिबद्ध र समर्पण भएर काम गरेको छ ।”
यथार्थपरक विदेश नीति
मनमोहन सिंहले आफ्नो विदेश नीतिमा आफ्ना दुई पूर्ववर्तीहरूको व्यवहारवादी राजनीतिलाई अगाडि बढाए । उनले पाकिस्तानसँग शान्ति प्रक्रिया जारी राखेका थिए । तर पाकिस्तानी चरमपन्थिहरुले गरेका आक्रमणका कारण शान्ति प्रक्रियामा अवरोध आयो ।
यसको चरम रुप नोभेम्बर २००८ को मुम्बई हमला र बम विस्फोटलाई लिइन्छ । उनले चीनसँगको सीमा विवाद अन्त्य गर्ने प्रयास गरे र ४० वर्षभन्दा लामो समयदेखि बन्द रहेको नाथुला पासलाई पुनः खोल्ने सम्झौता गरेका थिए ।
मनमोहन सिंहले अफगानिस्तानलाई आर्थिक सहायता बढाए र लगभग ३० वर्षमा त्यहाँ भ्रमण गर्ने पहिलो भारतीय नेता बनेका थिए । साथै, उनले भारतको पुरानो सहयोगी इरानसँगको सम्बन्ध तोड्ने संकेत दिएर धेरै विपक्षी नेताहरूलाई आक्रोशित बनाएका थिए ।
सादा जीवन जिउने नेता
राजनीतिमा प्रवेश गर्नुअघि उनी एक मेहनती पूर्व शिक्षक र कर्मचारीको छवि बनाएका थिए । उनी विनम्र र शान्त स्वभावका कारण पनि परिचित थिए । उनको ट्विटर एकाउन्ट (एक्स) साधारण र नीरस पोस्टहरूको लागि परिचित थियो ।
यसैकारण ट्विटरमा उनलाई फलो गर्नेको संख्या पनि निकै कम थियो । मनमोहन सिंह संयमित थिए । उनी सधैं शान्त देखिन्थे । उनको यिनै व्यक्तित्वको प्रशंसा गर्नेहरु पनि धेरै थिए । कोइला खानी प्रकरणमा अर्बौं डलर भ्रष्टाचार भएको सम्बन्धमा प्रश्न गर्दा उनी मौन रहने गरेका थिए ।
यस विषयमा आफ्नो मौनताको बचाउ गर्दै उनले भनेका थिए, “यो मौनता हजारौं शब्दको जवाफ भन्दा राम्रो छ ।”
२०१५ मा उनलाई आपराधिक षड्यन्त्र, आपराधिक विश्वासघात र भ्रष्टाचार सम्बन्धी अपराधको आरोपमा जवाफका लागि अदालतमा बोलाइएको थियो । यस सम्बन्धमा मनमोहन सिंहले पत्रकारहरुसँग भनेका थिए, “म अनुसन्धानको लागि पूर्ण रूपमा तयार छु । सत्यको जित हुनेछ ।”
प्रधानमन्त्रीको रूपमा आफ्नो दोस्रो कार्यकाल पूरा गरेपछि पनि उनी कांग्रेसको वरिष्ठ नेताका रूपमा विपक्षी राजनीतिमा सक्रिय रहेका थिए ।
अगस्ट २०२० मा उनले बीबीसीसँगको अन्तर्वार्तामा कोभिड महामारीले अर्थतन्त्रमा पारेको असरबाट भारत माथि उठ्न तुरुन्तै तीनवटा कदम चाल्नुपर्ने बताएका थिए । यो महामारीले भारतको अर्थतन्त्रलाई निकै कमजोर बनाएको थियो ।
सरकारले जनतालाई नगद दिनुपर्ने उनको भनाइ थियो । साथै व्यवसायीलाई पुँजी उपलब्ध गराउनु पर्ने र वित्तीय क्षेत्रमा रहेका समस्या समाधान गर्नुपर्ने धारणा उनको थियो ।
र अन्तमा, मनमोहन सिंह भारतलाई आर्थिक र आणविक ‘आइसोलेसन’बाट बाहिर ल्याउने व्यक्तिको रूपमा इतिहासमा सम्झिनेछन् ।
सन् २०१४ मा एक अन्तर्वार्तामा मनमोहन सिंहले भनेका थिए, “वर्तमान मिडिया र संसदमा रहेका विपक्षी दलहरूको तुलनामा इतिहास मप्रति धेरै दयालु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।”
मनमोहन सिंहका श्रीमती र तीन छोरी छन् ।
(बीबीसी हिन्दीबाट भावानुवाद)