site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीलाई राणाकालीन शैलीमा राख्ने कि सुधार्ने ?

काठमाडौं । पूर्वमुख्यसचिव विमल कोइरालाले कर्मचारीहरूलाई राणाकालीन शैलीमा नै राख्न खोजेको आरोप लगाएका छन् । संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबार सिंहदरबारमा भएको विज्ञसँगको छलफलमा उनले नयाँ ढंगबाट विधेयक आउन नसकेको टिप्पणी गरे ।  

“पुरानै ऐन कपिपेस्ट आयो । नयाँ ढंगले जानुपर्छ भन्ने आँट किन नगर्ने ? ऐन कानुन बनाउँदा पनि हिजोका शब्द के थियो, त्यसैका शब्द खेलाएर कहिले नयाँ कुरा गर्न सक्छौँ ? सम्पूर्ण कुरा डिजिटल भइसकेको छ । सरकार पेपरलेस हुँदै आएको छ,” कोइरालाले भने, “यस्तो अवस्थामा निजामती कर्मचारीको स्वरूप राणाकालीन लिगेसीबाट आएको चलाउने कि नयाँ ढंगले जाने ?” 

उनले कहिले स्वार्थ समूहको, दबाब समूहको र शक्ति समूहको चपेटामा परेर विधेयक अघि बढ्न नसकेको टिप्पणी समेत गरे । संघीयताको मर्मअनुरूप विधेयक आउन नसकेको भनाइ उनको छ । पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले संघीय प्रणालीअनुसार विधेयक ल्याउन नसकेको टिप्पणी गरे ।  

Dabur Nepal
NIC Asia

“संघीयता ल्यायौँ, प्रशासनिक संघीयतामा ध्यान दिएनौँ । राजनीतिक परिवर्तन ल्यायौँ । नेताहरूप्रति आभार प्रकट गर्नुपर्छ, तर प्रशासन चलाउन जान्नुभएन,” उनले भने । उनले अहिलेको चुनौतीसँग जुध्न सक्ने कर्मचारी प्रशासन बनाउनुपर्ने बताए ।  

पूर्वसचिव तथा संविधानसभा सदस्य जनकराज जोशीले मैनाली र कोइरालाका अभिव्यक्तिप्रति असहमति जनाए । उनले साह्रै नयाँ ढंगले जाँदा उँटजस्तो हुने टिप्पणी गरे । 

'प्रदेशको प्रमुख सचिव केन्द्रले खटाउने किन भनियो ?' 

मैनालीले प्रदेशको प्रमुख सचिव केन्द्रले खटाउन संविधानले नदिने बताए । अहिलेको विधेयकमा प्रदेशको सचिव केन्द्रले खटाउन सक्ने भन्ने विषय किन राखियो भनी प्रश्न सोधे । 

“प्रदेशको प्रमुख सचिव केन्द्रले खटाउने भनेर कसरी लेखियो ? कुन संविधानको धाराले दिन्छ यो अनुमति ? संविधानको धारा २८५ मा आ–आफ्नो सेवा हुन्छ भनिएको छ । केन्द्रले खटाउने विषय संविधानको बर्खिलाप हुन्छ,” मैनालीले भने । केन्द्रलाई अनुरोध गरेपछि मात्रै कामकाज गर्न खटाउन भने सकिने उनको भनाइ छ । 
 
'दुई वर्षअघि सरुवा गरे कारबाहीको व्यवस्था गरौँ'

विज्ञहरूले कर्मचारीको सरुवा भइरहने विषयको अन्त्य हुनुपर्नेमा जोड दिए । दुई वर्ष सरुवा गर्न नपाउने व्यवस्था कानुनमा नै गर्नुपर्ने उनीहरूको धारणा छ । पूर्वमुख्यसचिव कोइरालाले सरकार फेरिनासाथ कर्मचारी सरुवाको खेती हुने टिप्पणी गरे । 

“सरकार फेरिनासाथ सरुवा गर्ने खेती चलाइएको छ । हामी आँट गर्न सक्छौँ ? दुई वर्ष सरुवा गर्न पाइँदैन, गरे कारबाही हुन्छ भनेर लेखौँ,” कोइरालाको प्रस्ताव छ । तीन महिनामा (सरकार) परिवर्तन हुने भएपछि कार्यसम्पादन सम्झौताको औचित्य नरहने धारणा उनले राखे । “मन्त्री, सचिव तीन महिनामा परिवर्तन हुन्छ । कार्यसम्पादन गर्नुपर्दैन । कार्यसम्पादन गरेको कसलाई समात्ने ?,” कोइराला भन्छन् । 

पूर्वसचिव तथा संविधानसभा सदस्य जोशीले निजामतीको परिभाषा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले कर्मचारीलाई स्थायी सरकार भनिने गरेको भन्दै अब लेख्न नै सुझाव दिए । “निजामती सेवाको परिभाषा गर्दिनुस् । स्थायी सरकार भनेर कहीँ लेखेको छैन । यसको वैधता दिनुहोस्,” उनको आग्रह छ ।
 
मैनालीले सरुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए ।  कर्मचारीलाई हल्लाएको हल्लाइ गरे काम नहुने उनले टिप्पणी गरे । 

'‘सिनियर’ मात्रै भनेर हुँदैन'

विज्ञहरूले कर्मचारीको बढुवामा सिनियारिटी (वरिष्ठता)का आधारमा मात्रै गर्न नहुने धारणा राखेका छन् । पूर्वमुख्यसचिव कोइरालाले सिनियारिटी र मेरिटो (योग्यता)को बीचबाट अघि बढ्नुपर्ने बताए । 

“वृत्तिविकासमा सिनियारिटी र मेरिटोक्रेसी दुई कुरा छ । सिनारिटीमा मात्रै गयो भने सिर्जना नै हुँदैन । मेरो जागिर छँदै छ, बढुवा भइहाल्छ भन्ने मानसिकता हुन्छ । मेरिटोमा मात्रै जाँदा पनि हुँदैन । दुवैको मिश्रण खोज्नुपर्छ,” कोइरालाले भने । मैनालीले भोटो फटाएकै आधारमा मात्रै बढुवा गर्ने कुरा राम्रो नहुने बताए । पूर्वसचिव तथा संविधानसभा सदस्य जोशीले चार वर्ष पुगेकामध्ये सरकारले चाहेको व्यक्ति नै मुख्यसचिव हुने व्यवस्था राख्दा हुने बताए । 

'कर्मचारीको पनि सम्पत्ति विवरण सार्वजनिक गरौँ '

जोशीले निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न सुझाए । प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने व्यवस्था छ । कर्मचारीले प्रत्येक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भने छ । तर, सो विवरण सार्वजनिक गरिँदैन । 

“निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राखिदिनुस् । मन्त्री-प्रधानमन्त्रीले गर्ने, कर्मचारीले किन नगर्ने ?” जोशी भन्छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro