काठमाडौं । गोल्छा ग्रुपले इन्स्योर परियोजना (इनह्यान्स स्किल्स फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट) सँग उद्योगकेन्द्रित अप्रेन्टिससिप कार्यक्रम लागु गर्न सहकार्य गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजना टोलीका प्रमुख रवीन्द्रबहादुर सिंहबीच सोमबार सम्झौता हस्ताक्षर भएको हो ।
यस कार्यक्रमले शिक्षामा हासिल भएको ज्ञानलाई रोजगारीसँग जोड्ने र युवाहरूलाई बजारमा आवश्यक प्राविधिक सिप प्रदान गर्न लक्ष्य लिएको छ ।
सम्झौतामा अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधिजस्ता क्षेत्रमा अप्रेन्टिसलाई तालिम दिने, कर्मचारीहरूको सिप स्तरोन्नतिका लागि सिप स्तरोन्नति तालिम कार्यक्रम सञ्चालन गर्ने, तालिम पाठ्यक्रममा हरित सिप समावेश गर्ने, र गोल्छा ग्रुपका उद्योगमा कार्यस्थल सुरक्षा तथा व्यावसायिक स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।
इन्स्योर परियोजनाअन्तर्गत यो साझेदारी नेपाल र स्विजरल्यान्ड सरकारहरूको द्विपक्षीय पहल हो । यसले 'डुअल भिइटी-अप्रेन्टिसशिप' मोडेललाई कार्यान्वयनमा ल्याउँछ । यो मोडेलले प्राविधिक विद्यालयमा प्राप्त सैद्धान्तिक ज्ञान र उद्योगमा प्रशिक्षकहरूको निगरानीमा प्रदान गरिने व्यावहारिक तालिमलाई समावेश गर्ने जनाइएको छ । तालिम पूरा गरेपछि प्रशिक्षार्थीले सीटीईभीटीद्वारा मान्यता प्राप्त प्रिडिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
डुअल भीईटी अप्रेन्टिससिप मोडेल रोजगारी विकासका लागि त्रिपक्षीय लाभको स्रोत हो । यसले युवालाई उद्योगसँगको सम्बन्ध सुदृढ बनाउने, सिक्दै गर्दा आय आर्जन गर्ने र मान्यता प्राप्त प्रमाणपत्र पाउने अवसर प्रदान गर्छ ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले यस सहकार्यले प्रतिस्पर्धात्मक रोजगार बजारमा नेपाली युवालाई सशक्त बनाउन गोल्छा ग्रुप प्रतिबद्ध रेहको बताए ।
इन्स्योरका टोली नेता रवीन्द्रबहादुर सिंहले गोल्छा ग्रुपसँगको सहकार्य नेपाललाई दक्ष जनशक्तिको यात्रामा नयाँ उचाइमा पुर्याउने कोसेढुंगा भएको बताए ।