जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय मधेस प्रदेशको राजधानीमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।
आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए ।
“जनकपुरधाममा गुठीको जग्गा छ र गुठीको जग्गा प्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपाङ्गता भएकाका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ,” उनले भने ।
उनले दृष्टिविहीनको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जानकारी गराए ।
मुख्यमन्त्री सिंहसँगको भेटमा दृष्टिविहीन समूहले आफूहरूको बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो गरेको हो । रासस