काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्पतालबाट सर्वसाधारणलाई पनि सेवा दिन तयारीका लागि कार्यदल गठन गरिएको छ । अतिरिक्त सचिव डा. टंक बराकोटी नेतृत्वको कार्यदललाई सर्वसाधारणलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार पार्न भनिएको छ ।
कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधि, सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरू सदस्य छन् ।
कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।
०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।
आमनागरिकलाई समेत सरकारी स्वामित्वका सुरक्षा निकायबाट सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।