site stats
बाह्रखरी :: Baahrakhari
देश
चौतर्फी आलोचना भएपछि पछि हट्यो पोखरा महानगर

पोखरा । जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई मात्र एमबीबीएसको छात्रवृत्ति दिने गरी निकालिएको सूचना पोखरा महानगरपालिकाले स्थगित गरेको छ । पोखरा महानगरपालिकाले कार्यविधि नै संशोधन गरेर चिकित्साशास्त्र अध्ययनका लागि जनप्रतिनिधि र कर्मचारीका सन्तानले मात्र छात्रवृत्ति पाउने व्यवस्था गरेको थियो ।

संशोधित कार्यविधिअनुसार, छात्रवृत्ति प्रक्रिया अगाडि बढाउन महानगरपालिकाले सूचना निकाल्नासाथ चौतर्फी विरोध र आलोचना भएको थियो । अन्ततः उक्त विवादास्पद निर्णयबाट महानगरपालिका पछाडि हटेको छ । चौतर्फी आलोचना भएपछि सोमबार निर्णय स्थगित गरिएको महानगरले जनाएको छ ।

Argakhachi Cement Island Ad

महानगरको छात्रवृत्ति समितिको पुस २ गते बसेको बैठकले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको थियो । यो सुविधा सुरुमा सहिदका छोराछोरीलाई मात्र उपलब्ध थियो । महानगरले जनआन्दोलनका सहिदका छोराछोरीलाई प्रतिव्यक्ति बर्सेनि १० लाख रुपैयाँ प्रदान गर्दै आएको थियो । सहिद भीमसेन दाहालका छोराले यो सुविधा तीन वर्षसम्म पाउँदै ३० लाख लिइसकेका छन् । यस वर्ष उनलाई अन्तिमपटक १० लाख उपलब्ध गराउने तयारी गरिएको छ ।

आइतबार महानगरपालिकाले अर्को सूचना नभएसम्मका लागि सूचना स्थगित गरिएको जनाएको छ ।

महानगरको शिक्षा महाशाखा प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २८१।०९।०४ को छात्रवृत्तिका लागि निवेदन पेस गर्न आह्वान गरिएको सूचना नगर शिक्षा समितिका अध्यक्ष एवम नगर प्रमुखज्यूको निर्देशन अनुसार अर्को सूचना नभएका सम्मका लागि स्थगित गरिएको...।”

हाल कोरियामा रहेका मेयर धनराज आचार्यले पनि सामाजिक सञ्जालमा छात्रवृत्ति कार्यक्रम स्थगित भएको जनाएका छन् ।

“छात्रवृत्तिको सन्दर्भमा विभिन्न कोणबाट सुझाव, सल्लाह र आलोचना प्राप्त भएका छन् । यस विषयमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । म हाल कोइका र यूएनडीपीको निमन्त्रणमा पोखरामा लागु भएको झ्डै १.४४ अर्बको परियोजना कार्यान्वयनका सन्दर्भमा देश बाहिर रहेकाले फर्किएपछि यस विषयमा समुचित निर्णय लिइनेछ,” उनले भनेका छन, “हाललाई यो सूचनामार्फत छात्रवृत्तिसम्बन्धी कार्यक्रम स्थगित गरिएको छ ।”

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्