काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका पाँचजनाको आज कास्की जिल्ला अदालतमा अदालती बयान हुनेछ । पक्राउ परेर हिरासतमा रहेका पाँच जनाको आज अदालती बयान हुन लागेको हो । आज लामिछानेसहित छविलाल जोशी, कृष्णप्रसाद गुरुङ, रामबहादुर खनाल र लिला पछाईंको अदालती बयान हुनेछ ।
बयान र बहस सकिएपछि धरौटीमा रिहा गर्ने कि पुर्पक्षमा पठाउने भन्ने आदेश हुनेछ । लामिछानेसहित ४४ जनाविरुद्ध हिजो कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३१ व्यक्ति, ८ कम्पनी, र जफत प्रयोजनका लागि पाँच जनाविरुद्ध मुद्दा दायर भएको हो ।
गोलाप्रथाबाट उनीहरूको पेसी न्यायाधीश नीतिज राईको इजलासमा तोकिएको छ ।
थुनछेक बहस सकिएपछि मात्र लामिछानेलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने अदालतले आदेश गर्नेछ । लामिछानेमाथि अभियोजन गरिएका तीन मुद्दामा ३० करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।
गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध आइतबार तीन कसुरमा मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही सुरु गर्न समेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद शुक्रबार रातिदेखि सकिएको थियो । त्यसपछि एकैपटक आइतबार लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर गरिएको छ । यसमा लामिछानेसँग मात्र तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो मागदाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनका निम्ति सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।
लामिछानेविरुद्ध अर्को कसुर संगठित अपराधको छ ।