काठमाडौं । नेपालमा यस वर्षको हिउँदो दोस्रो वर्षा सोमबार रातिदेखि बुधबार बिहानसम्म हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने देखिएको मौसमविद्को भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको बताएका छन् ।
“अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रबार आउँदै छ, तर त्यो पनि आधा पश्चिम नेपालमा मात्र रहने देखिन्छ,” पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पनि पश्चिमी वायुको प्रभावले देशको पश्चिम भूभागमा सोमबार दिउँसोदेखि बदलीको सम्भावना छ । शनिबार बाह्रखरीसँगको कुराकानीका क्रममा कँडेलले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको बताएकी थिइन् ।
यी चार प्रदेशका पनि सबै ठाउँमा पानी नपर्ने उनले स्पष्ट पारिन् । केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको उनले बताइन् ।
गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यस वर्षको हिउँदको पहिलो वर्षा भएको थियो ।