site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको 'कसुर प्रमाणित गर्ने आधार'

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । आइतबार दायर गरिएको अभियोगपत्रमा लामिछानेविरुद्ध सहकारी ठगीको आरोप प्रमाणित गर्न केही आधार र कारण उल्लेख छन् । 

“गितेन्द्र बाबु राई (जीबी राई) समेतले संगठितरूपमा योजनाबद्ध तवरबाट सहकारीको निक्षेप रकम अपचलन गर्ने समूहमा आबद्ध भई यी प्रतिवादी रवि लामिछानेले व्यक्तिगत खाता तथा निज आबद्ध गोर्खा मिडिया नेटवर्क प्रालि समेतमा रकमान्तर भई आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा उपयोग, धारण र प्रयोग गर्ने कार्यमा संलग्न रहेको देखिन्छ,” अभियोगपत्रमा उल्लेख छ । 

लामिछानेले अनुसन्धानका क्रममा दिएको बयानमा आफू प्रबन्धक तथा सेयरधनी रहेको कम्पनीमा आएको रकमबारे अनभिज्ञता प्रकट गरेको अभियोगमा जनाइएको छ । तर, गोर्खा मिडिया नेटवर्क प्रालिको लिडिङ कम्पनीको रूपमा रहेको जीबी ग्रुप अफ कम्पनीबाट बरामद दस्तावेजमा गोर्खा मिडिया नेटवर्कको ‘इन्भेस्टमेन्टओभरभ्यू’मा स्पष्टरूपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारीबाट लगानी गर्ने योजना रहेको देखिएको अभियोगमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

“निज प्रतिवादी (रवि लामिछाने) सेयरधनी रहेको संस्थामा भएको लगानीको स्रोतबारे अनभिज्ञता प्रकट गर्नु भनेको अपराध लुकाउने मनशायमात्र रहेको बुझिन्छ,” अभियोगपत्रमा भनिएको छ ।  

अभियोगपत्रमा थप भनिएको छ, “सहकारीबाट आएको रकम व्यक्तिगत तथा संस्थागतरूपमा धारण गर्ने, रूपान्तरण गर्ने, हस्तान्तरण तथा प्रयोगसमेतका कार्य गरेको देखिँदा यी प्रतिवादीले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै उल्लिखित गतिविधि गरेबाट निजले सम्पत्ति शुद्धीकरण गरेको स्पष्टरूपमा देखिन आयो ।”

अभियोगपत्र अनुसार लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध भएछि सन् २०२१ जनवरी १८ मा सूर्यदर्शन बचत तथा ऋण सहकारीको नाममा सञ्चालनमा रहेको साविक मेगा बैंकको खाता नम्बर ०१२०००१००१५१३२ को चेक नम्बर २०२४८९५३१७ बाट जीबी राईको स्ट्यान्डर्ड चार्टड बैंकको खाता नम्बर १८२९०३१७२०१ मा दुई करोड रुपैयाँ जम्मा भएको थियो ।

सोही रकममध्ये सन् २०२१ जनवरी २१ मा चेक नम्बर ००११९२८१६८ बाट रवि लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खाता नम्बर ३०–७०१०००५९–१३ मा ७५ लाख रुपैयाँको चेकमार्फत जम्मा भएको देखिएको अभियोगमा उल्लेख छ ।

लामिछानेले ७५ लाख रुपैयाँ नै गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ००४०१०१००००५७७ मा सन् २०२१ जनवरी २२ मा जम्मा गरेको दाबी अभियोगमा गरिएको छ । 

“यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको सो रकम मध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारणसमेत गरी पुनः ट्रान्स्फर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,” अभियोगपत्रमा भनिएको छ ।

लामिछानेले बयानको क्रममा गोर्खा मिडियामा आफूले गरेको लगानी स्वेट सेयरबापत प्राप्त गरेको बताए पनि उनले सहकारीबाट अपचलन भई आएको रकम नै गोर्खा मिडियामा लगानी गरेर सेयरधनी भएको तथ्य प्रमाणित भएको दाबी अभियोगपत्रमा गरिएको छ । 

अभियोगपत्र अनुसार, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट एक करोड रुपैयाँ कर्जा रकम १४.७५ प्रतिशत ब्याजदर हुने गरी रजिस्ट्ररको माध्यम भन्ने महलमा अफिस उल्लेख गरी लामिछानेको नाममा कर्जा प्रवाह भएको उल्लेख छ । 

“सोही रजिस्ट्ररमा गितेन्द्र बाबु राई तथा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट निजको नाममा पेस्की जनाई गोर्खा मिडिया नेटवर्क प्रालि अपचलन गरेको बचत रकमसमेत रहेको तथा सो रजिस्ट्ररमा रहेका अन्य ऋणीहरूलाई बुझ्ने क्रममा निजहरूले रजिस्ट्ररमा उल्लिखित ऋण रकम सही सत्य भएको र केही चुक्ता गरिसकेको र बाँकी रकम चुक्ता गर्न तयार रहेको भनी स्वीकार गरेको अवस्थाबाट निजको नाममा जनाइएको ऋण रकम निजले लिएका हुन् भन्ने तथ्य स्थापित भएको छ,” अभियोगपत्रमा भनिएको छ ।  

लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक खाताको चेकबाट मासिकरूपमा दुईवटा एक लाख १२ हजार रुपैयाँ वा एकैपटक दुई लाख २४ हजार रुपैयाँको चेकमार्फत नियमितरूपमा आफैँले दस्तखत गरी आफू नै सेयरधनी तथा प्रबन्धकसमेत भएको कम्पनीबाट आफू नै ऋणी भएको सूर्यदर्शनलगायत सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्यांकले उनले लिएको ऋण गोर्खा मिडियामा प्रयोग भएको पुष्टि हुने अभियोगमा जनाइएको छ ।

अभियोगपत्रका अनुसार, गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल एक हजार २३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रुपैयाँ भुक्तानी भएको देखिन्छ । 

सोमध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रुपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र गितेन्द्र बाबु राईले संयुक्तरूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ ।

यसरी भुक्तानी भएका चेकहरू नेचर हर्ब्स इन्टरनेसनल प्रालि, नेचर नेस्ट प्रालिजस्ता मिडिया क्षेत्रसँग कारोबार नै नहुने प्रतिवादी कम्पनीहरूसमेतलाई भुक्तानी दिएको देखिँदा सहकारी संस्थाहरूबाट अपचलन भई गोर्खा मिडियामा प्लेसमेन्ट भई आएको रकम जानीबुझी नै पुनः स्थानान्तरण गर्ने कार्यमा उनी संलग्न भएको देखिने अभियोग उल्लेख छ ।

“लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसमेतबाट गैरकानूनी तवरले सहकारीको भावना तथा मर्मविपरीत कर्जाबापत तथा सहकारीको खाताबाट विभिन्न व्यक्तिका खातामा रकमान्तर गरिएको रकम विभिन्न व्यक्तिहरू तथा कम्पनीबाट नगद तथा चेकमार्फत प्रयोग तथा धारण गरी प्रतिवादीले सम्पत्तिको सही प्रकृति बदल्ने सो उपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोग समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि हुन आयो,” अभियोगपत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro