site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आफ्नो चासोलाई हस्तक्षेप नठान्न प्रधानमन्त्रीको चेतावनी– डीनको ‘मेरिटोक्रेसी’ थाहा छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विषयमा आफूले राखेको चासोलाई हस्तक्षेप नठान्न पदाधिकारीलाई चेतावनी दिएका छन् । त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीको अग्रसरतामा त्यहाँका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालय सभाको आइतबार बसेको अनौपचारिक बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।

“कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरू के मान्न सकिन्छ र !,” प्रधानमन्त्री तथा कुलपति ओलीले बैठकमा भने ।

त्रिविका नियुक्तिमा आफ्नो कुनै हस्तक्षेप नहुने उनले बताए । उनले भने, “निर्णय गर्ने पदाधिकारीले हो । त्यसकारण सफलता र असफलताको जस तपाईंहरूले लिनुपर्छ ।”

Dabur Nepal
NIC Asia

गएको मंसिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीका विषयमा पदाधिकारी र सिनेट सदस्यबीच दूरी बढेको महसुसपछि उनले विस्तृत छलफल गर्न अनौपचारिक बैठक बोलाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घण्टा अनौपचारिक सिनेट बैठक बसेको थियो । बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषय प्रस्तावका रूपमा ल्याउन उनले विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।

बैठकको सुरुमा सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए । उनले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे ।

मंसिर २७ गतेको सिनेट बैठकका छलफललाई बंग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएकामा उनले असन्तुष्टि व्यक्त गरे । सिनेटरहरू सार्वजनिक खपतका निम्ति नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा केन्द्रित हुन उनले निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगत रूपमा लिनुदिनु (लाभहानि) केही नभएको स्पष्ट पारेका थिए । उनले त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन सबैलाई आग्रह गरे ।

त्रिविको वेबसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यलाई सार्वजनिक गर्न समेत उनले आग्रह गरे । त्रिविजस्तो पवित्र संस्थाले पारदर्शिता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

“त्रिविको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ,” प्रधानमन्त्री तथा कुलपति ओलीले भने ।

उनले अगाडि भने, “मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । कुन डीनको कति मेरिटोक्रेसी छ, मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन । मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो ।”

उनले त्रिविको चलअचल सम्पति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका निम्ति कार्यदल बनाउनुपर्ने बताए । प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने कार्य नगर्ने भए यसको औचित्यमा पुनर्विचार गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा. डा. केशरजंग बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत अधिकारीको सहभागिता थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro