site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध पाँच विकेटको जितसहित जनकपुर बन्यो एनपीएल च्याम्पियन 

काठमाडौं । ओपनर लहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङप्रेरित जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

Dabur Nepal
NIC Asia

जनकपुरको जितमा ओपनर लहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए । आक्रामक रूपमा ब्याटिङ गरेका उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे ।

योसँगै मिलान्था प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याटर बने । उनले १० इनिङ्समा दुई अर्धशतकसहित २९३ रन बनाए । मिलान्थाले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

फाइनलमा मिलान्थाले ११.१ ओभरमा जीवनदान पाएका थिए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरमा दीपेन्द्रले नै मिलान्थाको क्याच ‘मिस’ गरेका थिए ।

जनकपुरका ओपनरद्वय कप्तान आसिफ शेख र लहिरु मिलान्थाले उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले सात ओभरमा ७३ रन बनाएका थिए । 

सातौँ ओभरको अन्तिम बलमा आउट हुनुअघि आसिफले १९ बलमा चार चौका र दुई छक्कासहित ३३ रन जोडे । आसिफलाई सुदूरपश्चिमका सैब जैबले ब्रान्डन म्याकमुलमबाट क्याच गराए ।

७३–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति मिलान्थाले मोहमद मोहसिनसँग ३२ रनको साझेदारी गरे । मोहसिन भने सस्तैमा आउट भए । १०औँ ओभरको अन्तिम बलमा इशान पाण्डेबाट बोल्ड हुनुअघि उनले आठ बलमा एक छक्कासहित नौ रन बनाए ।

१०५–२ को स्थितिबाट मिलान्थाले तेस्रो विकेटका निम्ति हर्ष थाकेरसँग ६१ रनको साझेदारी गर्दै जनकपुरलाई जितनजिक पुर्‍याएका थिए । अविजित रहेका हर्ष थाकेर र मयन यादवले क्रमशः ३० र दुई रन बनाए ।

दोस्रो क्वालिफायरमा यसअघि कर्णाली याक्सविरुद्ध ४५ रन बनाएका जिम्मी निसम भने सस्तैमा आउट भए । उनले चार रन मात्र बनाए । आकाश त्रिपाठी दुई रनमा रनआउट भए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेन, सैब जैब र इशान पाण्डेले समान एक विकेट लिए ।

पहिलो इनिङ : ओपनरद्वयको शतकीय साझेदारी
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । सुदूरपश्चिमका ओपनिङ जोडी सैब जैब र विनोद भण्डारीले टिमलाई उत्कृष्ट सुरुआत दिलाए । यी दुईले पहिलो विकेटका निम्ति ११७ रनको शतकीय साझेदारी गरे ।

सैब जैबले ४३ बलमा ६९ रन बनाए । किशोर महतोले गरेको १२औँ ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीबाट क्याच हुनुअघि जैबले आठ चौका र दुई छक्का प्रहार गरे ।

पहिलो विकेट गुमाएको दुई बलपछि नै सुदूरपश्चिमले अर्का ओपनर विनोदलाई पनि गुमायो । १३औँ ओभरको दोस्रो बलमा ललितले विनोदलाई बोल्ड गरे । विनोदले ४१ रन बनाए । उनले ३१ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

हर्मित सिंहले आठ बलमा एक छक्कासहित १४ रन बनाए । १५औँ ओभरको अन्तिम बलमा हर्मितलाई मोहमद मोहसिनले हेमन्त धामीबाट क्याच गराए ।

ब्रान्डन म्याकमुलमले पनि १२ बलमा एक छक्कासहित १४ रन नै थपे । १६औँ ओभरको अन्तिम बलमा जिम्मी निसमले म्याकमुलमलाई बोल्ड गरे । 

सुदूरपश्चिमका कप्तान ऐरीले नौ रन बनाए । आसिफ शेखले एक रन मात्र थप्न सके । यी दुवैलाई जनकपुरले १९औँ ओभरमा पभेलियन फर्काएको थियो ।

१९औँ ओभरमा जनकपुरका मोहमद मोहसिनले दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा ऐरीलाई हेमन्त धामीबाट क्याच गराए । पाँचौँ बलमा आसिफलाई ललितनारायण राजवंशीबाट क्याच गराए ।

स्कट कुग्गेलेनले १३ रन बनाए । १० बमा दुई चौका प्रहार गरेका कुग्गेलेनलाई २०औँ ओभरको पहिलो बलमा किशोर महतोले बोल्ड गरे । सोही ओभरको चौथो बलमा किशोरले सुदूरपश्चिमका नरेश बुढाऐरलाई शेर मल्लबाट क्याच गराए । नरेशले तीन बलमा एक छक्कासहित आठ रन बनाए । 

इनिङको अन्तिम बलमा रनआउट भएका इशान पाण्डेले दुई बलमा एक चौकासहित ६ रन बनाए ।

जनकपुरका मोहमद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका मोहसिनले ४० रन खर्चिए । चार ओभर बलिङ गरेका किशोरले २५ रन खर्चिए ।

जनकपुरबाट बलिङमा ललितनारायण राजवंशी सबैभन्दा किफायली बलर बने । एक विकेट लिएका ललितले चार ओभरमा १५ रन मात्र खर्चिए । उनले एक मेडन समेत फ्याँके । जिम्मी निसम एक विकेट हात पारे ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

लिग चरण र प्लेअफमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । सुदूरपश्चिमले जनकपुरविरुद्ध लिग चरणमा ७२ रनको र पहिलो क्वालिफायरमा आठ विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro