site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरका ‘संकटमोचक’ जिम्मी निसम

काठमाडौं । लामो प्रहार गर्न तयार उनी ब्याट जोडले मच्चाउँछन् । तर, आसाअनुसार ब्याट र बलको राम्रो सम्पर्क हुन सक्दैन । ब्याटमा भित्रि ‘एज’ लाग्दै बलले ‘स्टम्प’का दुई ‘बेल’ उडाउँछ । 

आफ्नो विकेट यसरी गएको देख्दा उनी अनुहारमा चरम असन्तुष्टिको भावनासहित घुँडा टेक्दै टाउको निहुराउँछन् । केही सेकेन्ड यसरी नै स्तब्ध रहन्छन् । बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका अलराउन्डर जिम्मी निसम आउट भएपछिको दृष्य हो यो ।

“म जहाँ भए पनि उक्त बलमा छक्का प्रहार गर्न चाहन्थेँ,” आफू बोल्ड भएको उक्त बलबारे खेलपछि निसमले भने । कर्णालीका १६ वर्षे युवा बलर विपीन शर्माले जिम्मीको विकेट लिएका थिए । खेलपछि निसमले आफ्नो विकेट लिने बलरको तारिफमा शब्द खर्चिन आनाकानी गरेनन् ।

Dabur Nepal
NIC Asia

462585872_922275509998871_4828185490556996082_n-1734657648.jpg
“त्यो साँच्चै म कि उ भन्ने पल थियो । उसले राम्रो मानसिकता देखायो । त्यो विकेटबाट उसले केही आत्मबल पक्कै पाउनेछ । यदि, म केही वर्ष अझै खेल्न सकेँ भने हामी एक–अर्काविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्न सक्छौँ,” विपीनबारे निसमले भने ।

न्युजिल्यान्डका अनुभवी अलराउन्डर निसम हाल एनपीएलमा जनकपुरको प्रतिनिधित्व गरिरहेका छन् । प्रतियोगिताको दोस्रो क्वालिफायरमा टिम कठिन स्थितिमा रहँदा निसम जनकपुरको ‘संकटमोचक’ बने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा टस हारेपछि कर्णाली याक्सले जनकपुरबाट पहिले ब्याटिङको निम्तो पाउँछ । पहिलो इनिङमा कर्णालीले निर्धारित २० ओभर ब्याटिङ गर्दै ११८ रनको मध्यम योगफल खडा गरेको थियो । ११९ रनको लक्ष्यसहित मैदान उत्रिएको जनकपुरलाई यो मध्यम लक्ष्य पनि ठूलै पहाड बन्यो । 

पहिलो पावर प्लेमै दुवै ओपनरसहित तीन विकेट गुमाएको जनकपुरबाट १० ओभरसम्म शीर्ष क्रमका चार ब्याटर पभेलियन फर्किसकेका थिए । जतिबेला मधेस प्रदेशको प्रतिनिधित्व गरिरहेको यो टोलीले ४१ रनमात्रै बनाएको थियो ।

निसम ब्याटिङमा आउँदा जनकपुर १० ओभरमा ४१–४ को कठिन स्थितिमा थियो । 

जीवनदानको सदुपयोग गर्दै आक्रामक ब्याटिङ
स्कोरबोर्डमा ४१ रन हुँदा ब्याटिङका निम्ति क्रिज छिरेका निसमले आक्रामक रूपमा ब्याटिङ गर्दै ४५ रन बनाए । जनकपुरबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका निसमले १७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । निसम पभेलियन फर्किदा जनकपुर ९४–६ को स्थितिमा थियो । 

निसम क्रिजमै रहँदा जनकपुरले पाँचौँ ब्याटरको रूपमा हर्ष थाकेरलाई गुमायो । जतिबेला टिमको स्कोर ५८ रनमात्रै थियो । तर, निसमले आफ्नो आक्रामक शैलीमा कुनै परिवर्तन गरेनन् । 

462576282_599725662638065_2613787014384751890_n-1734657677.jpg
कर्णालीबाट विलियम बोसिस्टोले गरेको ११.२ ओभरमा निसमले छक्काका निम्ति पहिलो प्रहार गरे । ब्याटसँग राम्रो ‘कनेक्ट’ हुन नसक्दा उनको उक्त प्रहार ‘लेग साइड’ मा बाउन्ड्री नजिकै पुग्यो । जहाँ कर्णाली याक्सका फिल्डर देव खनाल तैनाथ लिए । बाउन्ड्री रोपमै आएको उक्त बललाई देवले नियन्त्रणमा राख्न सक्दैनन् । देवको दुई हातको बीचबाट बल निस्किन्छ र छक्का हुन्छ । यतिबेलासम्म निसमले रनको खातासमेत खोलेका थिएनन् ।

निसमले यो जीवनदानको भरपुर फाइदा उठाए । आक्रामक शैलीलाई कायम राख्दै उनले करिब २६५ को स्ट्राइक रेटमा ब्याटिङ गरे र जनकपुरलाई जितनजिक डोेर्याए । निसम पभेलियन फर्किएपछि शेर मल्लले १० बलमा एक छक्कासहित १६ रन जोड्दै जनकपुरको फाइनलको ढोका खोलेका थिए । ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

‘संकटमोचक’
जनकपुरले पहिलो तीन खेलमा सहज (पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ र तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको) जित निकालेको थियो । त्यसपछिका ६ खेलमा भने जनकपुरको लय ‘लगामबिनाको घोडा’ जस्तै छ । तर, ६ खेलमै जनकपुरले मध्यक्रममा अलराउन्डर निसमबाट गतिलो साथ पाएको छ । 

कर्णालीविरुद्ध जनकपुरका निसमको यो नै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भने होइन । बोल्ट्सका निम्ति आठ खेल खेलेका निसमले चार खेलमा ४० रनको स्कोर छोएका छन् । प्रतियोगितामा तेस्रो सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बनेका निसमले हालसम्म २४३ रन बनाएका छन् । जसमा उनको औसत ४०.५० को छ । 

उनले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पनि ४५ रन बनाएका थिए । त्यसअघि लिग चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए निसमले । उक्त खेलमा १८ बलमै ५० रन बनाएका निसम प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर हुन् ।

उनले लिग चरणमै काठमाडौं गुर्खाजविरुद्ध २७, सुदूरपश्चिम रोयल्सविरुद्ध चार, लुम्बिनी लायन्सविरुद्ध, एक, पोखरा एभेन्जर्सविरुद्ध अविजित ४० र कर्णाली याक्सविरुद्ध अविजित १६ रन बनाएका थिए ।

आफ्नो ब्याटिङ लय उच्च रहे पनि निसम टिमले उपाधि नजित्दासम्म यसले अर्थ नराख्ने बताउँछन् ।

462564946_839403511571620_1792674611742743912_n-1734657712.jpg
“मैले ५० रन बनाए पनि वा शून्यमा आउट भए पनि उपाधि नजितेसम्म त्यसले अर्थ राख्दैन । त्यसैकारण उपाधि नै मुख्य लक्ष्य हो,” निसमले थपे ।

कर्णालीविरुद्ध जितसँगै फाइनल प्रवेश गरेको जनकपुरले अब उपाधिका निम्ति सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । पहिलोपटक नेपाल आएका उनी नेपाली समर्थकको क्रिकेट प्रेम देखेर दंग छन् । समर्थकको यो माहोलमा निक्कै रमाइरहेका निसमले आगामी वर्ष पनि नेपाल आउने आशा बोकिराखेका छन् ।

“समर्थकलाई मेरो सन्देश मैदानमा आएर खेल हेर्नु भन्ने हुनेछ । तर, मैले त्यसो भनिरहनु पर्छ जस्तो लाग्दैन । मलाई लाग्छ, फाइनलमा रंगशाला भरिभराउ हुनेछ,” निसमले भने, “यहाँ म धेरै रमाइरहेको छुँ । राति केही चिसो हुन्छ । जुन मेरो आशा गरेको थिइनँ । मैदान बाहिरको आतिथ्यता निक्कै राम्रो छ । केही राउन्ड गल्फ पनि खेलेँ । खेलमा धेरै रमाइरहेको छु, त्यसैगरी मैदान बाहिर पनि । आशा छ अर्को वर्ष पनि आउनेछु ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro