काठमाडौं । प्रसारणलाइन निर्माणमा पहिलोपटक निजी क्षेत्रको प्रवेश भएको छ । तमोर–ढुंगेसाँघु २२० केभी प्रसारणलाइनमार्फत निजी क्षेत्रको प्रवेश भएको हो । ३२ किलोमिटर लामो प्रसारणलाइनमा सार्वजनिक निजी साझेदारीमार्फत निजी क्षेत्रको प्रवेश भएको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरेर तयारीमा रहेका आयोजना बुट मोडलमा निर्माण गर्न लागेको हो । उक्त प्रसारणलाइनमा निर्माणमा निश्चित उद्देश्यका लागि तयार कम्पनी ‘स्पेसल प्रपोजभेहिकल’ कम्पनी तयारी गरी ग्रिड कम्पनी, हाइड्रो इले क्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) तथा पाँच ऊर्जा उत्पादक कम्पनीहरूले साझेदारी गरेका छन् ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरू रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड,त्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालि प्रसारणलाइन निर्माण साझेदारी गरेको हुन् ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सो सम्बन्धी समझदारी (एमओयू) पत्रमा एचआईडीसीएल, ग्रिड कम्पनी तथा निजी क्षेत्रबीच हस्ताक्षर भएको छ ।