site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । महोत्सव यही पुस ९ (२४ डिसेम्बर) देखि सुरु हुँदै छ । नेपालको साहसिक पर्यटनको कोसेढुंगाको रूपमा स्थापित गर्न पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।

पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने विश्वास गरिएको छ ।

Argakhachi Cement Island Ad

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृंखलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ । यसका साथै, सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकहरूको लागि प्रमुख आकर्षण हुनेछ । यसलाई भव्य बनाउँदै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुने जनाइएको छ ।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगीतिक ब्याण्डका साथै दिपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपःब्यान्ड जस्ता शीर्ष नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति पनि दैनिक रूपमा हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्