काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनेको बताए ।
उनले भ्रष्टाचार गर्नेको मुख हेरेर नभई अपराध हेरेर कारबाही गर्ने पनि बताए । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको दाबी गरे । नसक्ने र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको उनको भनाइ छ ।
ओलीले 'व्यवस्था बदलिए पनि अवस्था बदलिएन' भन्ने भ्रम फैलाइएकोप्रति सचेत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धिका साथै थुप्रै ठुला उद्योग सञ्चालनमा आएका बताए ।
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र ०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए ।