काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो । यद्यपि, काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।
काठमाडौंको जितमा प्रतीक श्रेष्ठले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए । राशिद खानले १५ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । गेरहार्ड इरास्मसले १२ र माइकल लेभिटले १० रन बनाए । ११औँ नम्बरमा ब्याटिङका निम्ति आएका दिपेश कँडेलले पाँच बलमा एक चौका र एक छक्कासहित ११ रन बनाएपछि काठमाडौंले एक विकेटको रोमाञ्चक जित निकालेको हो । शंकर राना १६ रनम अविजित रहे ।
यसबाहेक, काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका कप्तान करण केसी ‘गोल्डेन डक’ भए ।
काठमाडौंविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानले तीन विकेट लिए । अनिल खरेल, बसिर अहमेद र क्रिस सोलले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।
विराटनगरका राजेश पुलामी मगर २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २० रन बनाए । २४ बल खेलेका दीपकले दुई चौका प्रहार गरे । स्कट एड्वार्ड्सले १४ बलमा एक छक्कासहित १५ रन थपे । बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए ।
विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले १७ रनमात्र खर्चिए ।
दिपेश कँडेलले दुई विकेट लिए । दिपेशले चार ओभरमा १६ रन खर्चिए । साहब आलम, करण केसी र डान डथवेटले एक–एक विकेट लिए ।
जितसँगै सात खेलबाट आठ अंक जोड्दै काठमाडौंले प्लेअफ सम्भावना जीवित राखेको हो ।
यता, सात खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।