
काठमाडौं । नेकपा (एमाले)का सांसद तथा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले राजस्व २० खर्ब रुपैयाँ उठाउन सक्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले राजस्व चुहावट रोक्न सके २० खर्ब राजस्व संकलन गर्न सकिने बताएका हुन् ।
“सम्पूर्ण चुहावट नियन्त्रण गर्न सकियो भने हामीले २० खर्ब राजस्व उठाउन सक्छौँ,” उनले भने, “तर, लगभग ५० प्रतिशतभन्दा बढी चुहावट छ । राजस्व चुहावटकै कारण हामीले राखेको राजस्व लक्ष्य उठाउन चुनौती छ ।”
हाल उठाइएको राजस्वले चालु खर्च नै धान्न नसकिएको अवस्था रहेको उनले बताए । “राजस्वले सामान्य खर्च धानेको अवस्था छैन । हामीले कसरी ऋणको साँवा र ब्याज तिर्छाैँ ? राजस्वका नयाँ क्षेत्र खोज्नुपर्छ ।”
भू–राजनीतिकका कारण पनि समस्या बढ्दै गएको उनले बताए । दाताहरूका लागि नयाँ क्षेत्र खोज्न सक्दा पनि फाइदा लिन नसकिएको उनको भनाइ छ । नयाँ क्षेत्र खोज्न नसक्दा ऋण तथा सहयता कटौती हुँदै गएको आचार्यले बताए ।
अनुत्पादक क्षेत्रमा ऋण लिन नहुनेमा सबै सहमत हुन सकिने उनको भनाइ छ ।