site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बसिर अहमेदप्रेरित विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं । बसिर अहमेदको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गर्‍यो ।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौँ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।

बसिरले ९८–५ को स्थितिबाट पाँचौँ विकेटका निम्ति राजेश पुलामी मगरसँग ८३ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रन पार गराएका थिए ।

राजेश पुलामी मगरले अविजित ३३ रन थपे । राजेशले २० बलमा एक चौका र तीन छक्का प्रहार गरे । 

विराटनगरका ओपनर लोकेश बम र स्कट एड्वार्ड्स ‘डक’ भए । दीपक बोहराले पनि चार रनमात्र थप्न सके । निकोलस किर्टोनले आठ रन जोडे ।

चितवनका रिजन ढकालले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रिजनले ४० रन खर्चिए ।

सोहेल तान्विर, बसिर अमिद र कुशल मल्लले समान एक विकेट हात पारे । 

प्लेअफ सम्भावना कायम राख्न आज दुवै टिम जितको दबाबमा छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंकमात्र छ ।

आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । यसअघि प्रतियोगिताको प्लेअफ समीकरणबाट लुम्बिनी लायन्स बाहिरिसकेको छ ।

विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

चौथो खेलमा पुनः पराजय भोगेको विराटनगरलाई कर्णाली याक्सले सात रनले निराश बनाएको थियो । पाँचौँ खेलमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा १३ रनको हार बेहोरेको थियो ।

यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

तालिकाको तेस्रो स्थानमा आसिन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।

चितवनले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवनले तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको चितवनले पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध ३३ रनका पराजय बेहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro